प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

सरकार स्थानीय निर्वाचनको मिति घोषणा गरेपछि मिश्रित प्रतिक्रिया आइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएका छन्। संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई प्रधानमन्त्रीले बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

सरकारले सोमबार आगामी बैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेपछि सरकारको निर्णयको स्वागत र विरोधमा आवाज उठेका छन्। प्रमुख प्रतिपक्ष एमालेले सरकारको निर्णयको स्वागत गरेको छ भने सरकारलाई बाहिरै बसेर समर्थन गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निर्वाचन घोषणाको विरोधमा आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरेको छ।

सरकारको निर्णय विरोध र समर्थनमा दलहरु प्रस्तुत भएपछि प्रधानमन्त्रीले सो विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन्। बैठक मंगलबार दिउँसो तीन बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ। बैठकमा सरकारले घोषणा गरेको निर्वाचनको मिति र संविधान संशोधन लगायतका विषयमा छलफल हुने बताइएको छ।

0 comments

प्रतिकृया दिनुहोस