सिद्धबाबा पहिरो रोक्न रकनेट र रकसेट

वर्षेनी आठ दश जनको ज्यान लिई मृत्युमार्गको रूपमा चिनिएको सिद्धबाबाको पहिरो नियन्त्रणको लागि अहिले नियमित काम भईरहेको छ । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्डको सिद्धबाबादेखि दोभानसम्मको करिब ३ किलोमिटर सडक चट्टाने पहिरोको कारण जोखिमपूर्ण बन्दै गएपछि नियन्त्रणको प्रयास थालिएको हो। सिद्धबाबा दोभान खण्डमा सबैभन्दा जोखिम मानिएको कुहिरेभीरको चट्टानलाई रोक्ने फलामे जाली लगाउने काम अहिले तिव्र पारिएको छ। सिद्धार्थ राजमार्गको सिद्धवावा कुहिरेभीरस्थित छरछरेको पहिरो नियन्त्रण गर्न युरोपियन चट्टान रोक्ने जाली रकफल रकनेट प्रविधिको परीक्षण निर्माण शुरु गरिएको हो । परीक्षणको लागि अष्ट्रियन कम्पनी त्रुमर सुचवाउतेनको सहयोगमा जियोटेक सोलुसन ईन्टरनेशनलले १ सय २० वर्ग मिटर क्षेत्रमा रकसेट र २७ मिटर लम्बाईको रकनेट निःशुल्क हाल्ने छ। झण्डै ६० लाख खर्च लाग्ने यो कामको लागि आवश्यक सामानहरु ट्रुमर स्यूटबुसनले उपलब्ध गराएको छ भने आवश्यक प्राविधिक र जनशक्ति जियोटेक आफैंको रहेको छ।
केही वर्षयता यही सडकको विषयमा अध्ययन तथा अनुसन्धान गर्दै आएका जियोटेक सोलुसन ईन्टरनेशनलका वरिष्ठ सल्लाहकार भुगर्भविद् डा. रञ्जन दाहाल नेतृत्वको टोलीले विगत २ महिनादेखि पहिरोको सबैभन्दा जोखिम मानिएको कुहिरेभीरस्थित छरछरेको पहाडमा पहाड खोल्ने काम गर्दै आएको छ। दाहाल सँगै भुगर्भको क्षेत्रमा काम गर्दै आएका ईञ्जिनियरहरु सुनिल पौडेल र नितिन गौतमसहित ११ जनाको टोलीले अहिले रकनेट अड्याउने किला ठोक्नको लागि पहाडमा ड्रिल गर्ने काम पुरा गरिसकेको छ । “अहिले फलामे जाली अड्याउने किला ठोक्न चट्टानभित्र ६० स्थानमा ड्रिल गर्ने काम पुरा भएको छ । आवश्यकता अनुसार ४ देखि ८ मिटर भित्रसम्म ड्रिल गरिएको र अब किला ठोकेपछि जाली लगाउने काम शुरु गरिने छ,” डा. दाहालले सेतोपाटीसँग भने। रकनेट प्रविधि अन्तर्गत सडकको कुनामा ठूला ठूला स्टिलका पोल राखेर त्यसमा जाली फिट गरिन्छ। पहिरो आउदा झर्ने ढुंगाहरु त्यही जालीमा अड्किन्छ । अर्का रकसेट प्रविधिमा चट्टानलाई नै जालीले कसिन्छ। ढुंगाभित्र फलामका किला गाड्ने र जालीले ढुंगालाई च्याप्छ। यसरी पहिरो र भेल नियन्त्रण गर्ने योजना रहेको छ। अत्यन्त अप्ठ्यारो स्थानमा रहेको पहिरो ग्रस्त क्षेत्रमा प्राविधिकहरूले जोखिम मोलेर काम गरिरहेका छन्। हालसम्म ६५ प्रतिशत बढी काम पुरा भईसकेको र फागुन महिनाभित्रमा परीक्षणको काम पुरा हुने दाहालले जानकारी दिए।
रकसेट प्रविधिमा भीरलाई नै फलामे जालीले ढाकेर झर्न थालेको पहिरोलाई नियन्त्रण गरिन्छ । रकनेट प्रविधिमा माथीबाट झरेको पहिरो जालीले छेक्छ र सडकमा झर्न पाउंदैन । जालीमा अड्किएको पहिरोलाई समयसमयमा जाली काटेर हटाउन सकिन्छ र पुनः जाली बन्द गर्न सकिन्छ,’ डा. दाहालले भने । चट्टाने पहिरोको जोखिम रहेको सिद्धबाबा दोभान क्षेत्रमा एकदर्जन स्थानमा फलामे जाली लगाएर पहिरोलाई झर्न नदिने र झरेको पहिरोलाई पनि जालीले रोक्न सकिने विकल्प अनुरुप सरकारले जियोटेक सुलोसनलाई परिक्षणको लागि काम गर्ने अनुमती प्रदान गरेको हो । रकसेट र रकनेट दुवै प्रविधी प्रयोग गरिएको र प्रभावकारिता अध्ययनपछि अन्य स्थानमा पनि यहि प्रविधी प्रयोग गर्न सकिने डा. दाहालले बताए । जियोटेकले सिद्धबाबा दोभान खण्डको आधादर्जन स्थानमा रकनेट र रकसेट प्रविधि प्रयोग गरी पहिरो नियन्त्रण गर्न सकिने अध्ययन सहितको प्रतिवेदन सरकारलाई पेश गरी परिक्षणको रूपमा अहिले काम शुरू गरेको हो। यो प्रविधि नेपालमा पहिलो भए पनि विभिन्न देशहरुमा सफल भएकोले यहाँ पनि सफल हुने डा. दाहालको विश्वास छ। यो प्रविधि प्रयोग गरिएको क्षेत्रमा ५० मिटरको उचाईबाट झरेको २ टनको चट्टान पनि रोक्न सक्ने क्षमता रहेको उनको दाबी छ । अत्यन्त जोखिमपूर्ण मानिएको सिद्धार्थ राजमार्गको बुटवल दोभान सडकखण्डलाई सुरक्षीत बनाउने छिटो र सस्तो विकल्पको रूपमा रकनेट प्रविधि रहेको उनको तर्क छ। वर्षा होस् या हिउँद चट्टान सहितको पहिरो झरी हरेक वर्ष कैयौं व्यक्तिहरुको ज्यान जाने गरेपछि सरकारले बुटवल दोभान सडकखण्डलाई सुरक्षित बनाउने सुरूङमार्गको विकल्पसँगै रकनेट प्रविधिको बारेमा गत वर्षदेखि अध्ययन सुरू गरेको थियो। यो प्रविधिको प्रभावकारिता सफल मानिए २० करोडको लागतमा अत्यन्त जोखिम रहेका सिद्धबाबा दोभान सडकखण्डका १०/१२ स्थानमा जाली हालेर सुरक्षित बनाउन सकिने प्राविधिकहरू बताउँछन्। यस्तै प्रकृतिका सडक भएका अरु देशहरुमा यो प्रविधि सफल मानिएको र यहाँ पनि सफल हुने उनीहरूको विश्वास छ। रकनेट जडानमा खटिईरहेका जियोटेकका ईञ्जिनियर सुनिल पौडेलले हङकङ, सिङगापुर, न्युजिल्याण्डमा सफल मानिएको युरोपियन चट्टान रोक्ने जाली प्रविधि यहाँ पहिलो पटक प्रयोग गर्न थालिएको र सफल हुने दावी गरे।
हिउँद होस् वा वर्षा दैनिक जसो हिले र सुख्खा पहिरो झरेर मानवीय सँगै आर्थिक क्षति भईरहने यो सडकको विकल्प खोज्न माग भएपछि सरकारले चालु आर्थिक वर्षको बजेटमा सुरूङ मार्ग निर्माण गर्ने सर्भे गर्ने जनाएको थियो । सरकारी योजना कागजमै सीमित भइरहेका बेला अष्ट्रियाको कम्पनीले पहिरो नियन्त्रणको लागि नमुना परीक्षणको काम शुरू गरेको हो। सरकारले यसै वर्षको नीति तथा कार्यक्रममा सुरुङमार्गको लागि अध्ययन गर्ने भन्दै रातो किताबको अनुसूचीमा उल्लेख गरेको छ । यद्यपी तीन किलोमिटर सुरुङमार्ग बनाउन झण्डै १५ अर्ब लाग्ने यस क्षेत्रका विज्ञहरु बताउँछन्। पहिरोले बस पुरिएर २०५५ सालमा २६ जना र ०६२ सालमा ११ जनाको मृत्यु भएको सिद्धवावाको छहरा नजिकै यो प्रबिधिको परीक्षण प्रयोग शुरु गरिएको छ । गत वर्ष पनि यही स्थानमा पहिरोसँगै तिनाउ नदिमा बस खस्दा ५ जनाको ज्यान गएको थियो। यीनै दुर्घटनालाई आधार बनाएर बढी जोखिम रहेको स्थानमा परीक्षणको काम गरिएको हो।

0 comments

प्रतिकृया दिनुहोस