ग्याम्बियाका राष्ट्रपतिलाई सत्ता छोड्न दिइएको समय समाप्त
द ग्याम्बियाका राष्ट्रपति याया जाम्मेलाई सत्ता छोड्न दिइएको समायावधि सकिएपनि उनले आफ्नो अडानमा केही परिवर्तन नगरेको बताइएको छ।
ग्याम्बियाको सीमा क्षेत्रमा रहेको सेनेगलको सेनाले पश्चिम अफ्रिकी सैन्य फौज चुनावका विजेता याड्मा ब्यारोलाई सत्ता हस्तान्तरण गराउनका लागि अग्रसर भएको बताएको छ।
ब्यारोलाई सत्ता हस्तान्तरण गर्नका लागि पश्चिम अफ्रिकी नेताहरुले जाम्मेलाई मध्यरातसम्मको समय दिएका थिए, जुन नेपालीसमय अनुसार बिहीबार बिहान सकिएको छ।
अहिले सेनेगलमा रहेका ब्यारोले बिहीबार शपथ लिने तयारी गरेको बताइएको छ तर दुई दशकदेखि सत्ता चलाइरहेका जाम्मेले चुनावी परिणाम अस्वीकार गर्दै सत्ता हस्तान्तरण गर्न मानिरहेका छैनन्।
अवस्था
राष्ट्रपति जाम्मेलाई चुनावी हार स्वीकार गर्न र सत्ता छोड्न दबाब दिने प्रयासस्वरुप सेनेगलले आफ्ना सैन्य फौजलाई ग्याम्बियाको सीमा क्षेत्रमा पठाएको हो।
ग्याम्बियामा सत्ता हस्तान्तरण गराउनका लागि सेनेगलले कारबाहीको नेतृत्व गरेको छ भने उसलाई नाइजेरिया र पश्चिम अफ्रिकी अन्य मुलुकले सघाइरहेका छन्।
मानिसहरु चिन्तित छन् र अब के होला भन्ने अन्योलका कारण उनीहरु घरभित्रै बसिरहेका छन्।
उमारु फोफाना, बीबीसी संवाददाता
सन् १९९४ मा 'कू' गरेर सत्ता हातमा लिएयता जाम्मेले ग्याम्बियामा शासन गर्दै आएका छन्।
राजधानी बान्जुलमा रहेका बीबीसी संवाददाता उमारु फोफानाले भने, "मानिसहरु चिन्तित छन् र अब के होला भन्ने अन्योलका कारण उनीहरु घरभित्रै बसिरहेका छन्। साँझ आइपुगेका मरिससका राष्ट्रपतिले मैले देख्दासम्म बन्द कोठाभित्र राष्ट्रपति याया जाम्मेलाई सत्ता छोड्न मनाउने अन्तिम प्रयास गरिरहेका थिए।"
शपथ
गत महिना द ग्याम्बियामा भएको राष्ट्रपतीय चुनावमा जाम्मेलाई विपक्षी नेता ब्यारोले पराजित गरेका थिए।
नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीका प्रवक्ताले ब्यारोले बिहीबार ग्याम्बियामै राष्ट्रपतिका रुपमा शपथ लिने तयारी गरेको बताएका छन्।
देशमा हिंसा भड्किन सकने खतराका कारण ग्याम्बियाका कम्तीमा २६ हजार जनताले यो साता सेनेगलमा शरण लिएका छन्।
यसैबीच न्यूयोर्कमा सेनेगलले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्सँग पश्चिम अफ्रिकी क्षेत्रीय समूह इकोवासलाई ग्याम्बियामा सत्ता हस्तान्तरणका लागि आवश्यक पर्ने सबै उपायहरु अपनाउन दिन भनेको छ।



0 comments
प्रतिकृया दिनुहोस