बैशाखदेखि सवारीमा अत्याधुनिक इम्बोस्ड प्लेट

२९ पुस, काठमाडौं । सरकारले सरकारले आगामी २०७४ को बैशाखदेखि सवारीसाधनका लागि ‘इम्बोस्ड नम्बर प्लेट’ वितरण सुरू गर्ने भएको छ । इम्बोस्ड नम्बर प्लेट लागू गर्ने जिम्मा पाएको बंगलादेशी र अमेरिकी संयूक्त कम्पनी डेकाटुर टाइगर आइटीले इम्बोस्ड नम्बर प्लेट छाप्नका लागि मेसिन र उपकरण ल्याउने काम अन्तिम चरण्मा पुर्‍याएको छ । नेपालमै प्लेट छाप्नका लागि कम्पनीले यातायात व्यवस्था विभागको काठमाडौं मिनभवनस्थित भवन प्रयोग गरेको । कम्पनीले अब केही समयभित्रै इम्बोस्ड प्लेट छपाइको काम मिनभवनमा नै थाल्नेछ । यसअघि गत असोजबाटै इम्बोस्ड लागू गर्ने भनिएको थियो । तर, प्राविधिक कारण देखाउँदै विभागले इम्बोस्ड प्लेट बैशाखदेखि वितरण गर्ने जनाएको छ । इम्बोस्ड प्लेटका छपाइका लागि ठेकेदार कम्लापनीले द्रुत गितमा काम गरिरहेको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले अनलाइनखबरलाई जानकारी दिए । यो प्लेट लागू गर्न कम्पनीले भ्याट बाहेक ३८.७५० मिलियन अमेरिकन डलर अर्थात ४ अर्ब ५ करोड रूपैयाँमा ठेक्का पाएको हो । सवारी धनिलाई थप भार पर्ने इम्बोस्ड नम्बर प्लेट राख्न भने सवारी धनीले निश्चित रकम तिर्नुपर्ने छ । एउटा सवारीमा इमबोस्ड नम्बर प्लेट परिवर्तन गर्न २ हजार देखि ३ हजार रुपैयाँ राजश्व लिने तयारी गरिएको छ । कति लिने भनेर औपचारिक निर्णय भने गरिएको छैन । विभागको सिफारिसमा अर्थ मन्त्रालयले इम्बोस्ड प्लेटको राजश्व तोक्ने विभागले जनाएको छ । इम्बोस्ड नम्बरको आयु १० वर्षको हुनेछ । अनिवार्यरुपमा सबै सवारीमा राखिने भएकाले यो प्लेट लागू गरेपछि करको दायरामा नआएका सवारीलाई विभागमा पुगेर राजश्व बुझाउन बाध्यता पर्नेछ । यसबाट वाषिर्क रुपमा सरकारी कर नतिर्ने समस्या हटेर जानेछ । ६ किसिमका मात्रै प्लेट वितरण सुरू भएको ५ वर्षभित्र नेपालमा सबै सवारीमा इम्बोस्ड प्लेट जोडिसक्ने लक्ष्य लिइएको छ । प्लेट परिवर्तन गर्न बाध्यात्मक व्यवसथा गरिनेछ । प्लेट छाप्ने यन्त्र, उपकरण, प्रविधि र सामाग्री सबै नेपालमै ल्याएर काम गरिने हुनाले आपूर्तिमा समस्या नहुने विश्वास गरिएको छ । चरणवद्ध रुपमा २० लाख सवारीमा डिजिटल तथा अत्याधुनिक नम्बर प्लेटको जडान गरिने छ । अहिले नेपालका सवारीमा १४ किसिमका नम्बर प्लेट छन् । अब ६ किसिमका मात्र नम्बर प्लेट रहने गरी यो प्रणाली लागू गर्न तयारी गरेको छ । कमर्सियल, कमर्सियल, डिप्लोमेटिक, भीआइपी, सरकारी र सार्वजनिक गरी ६ किसिमका प्लेट मात्रै अब प्रयोगमा आउनेछन् । सूचनामूलक र उच्च सुरक्षायुक्त हुने इम्बोस्ड नम्बर प्लेट सवारीको अगाडि र पछाडि राखिने छ । प्लेटभित्र सवारी र सवारीधनिका सबै विवरणहरु राखिनेछ । जसलाई प्रहरीसँग हुने हाते मेसिन र विभिन्न ठाउँमा राखिने ठूला मेसिनहरुले रिड गर्न सक्छन् । यो लागू भएपछि देशभर भएका सबै सवारीको विद्युतीय रेकर्ड सरकारसँग हुने प्रवक्ता अधिकारीले बताए । सवारी चोरीको समस्या हट्ला ? यो नम्बर प्लेटको बाहिरी भागमा सवारीको नम्बर उल्लेख गरिन्छ । जसलाई सबैले सहजै देख्न सक्छन् । प्लेटमा लेखिएका अक्षरहरु बाहिर देखिने गरी उठेका हुन्छन् । यो बलियो र किफायती हुनेछ । यो नम्बर प्लेट एकपटक जडान गरेपछि निकाल्न मिल्दैन । निकालेमा त्यसलाई काट्नैपर्छ । त्यसैकारण कसैले पनि सवारी चोरी गरेर चलाउन सक्दैन । किनभने यो प्रविधिको नम्बर प्लेट जडान गर्न यातायात कार्यालय पुग्नैपर्छ । साथै भन्सार छलेर ल्याइएका सवारीहरु पनि यो प्रणाली लागू भएपछि फन्दामा पर्नेछन् । अपराध नियन्त्रक प्रविधि इम्बोस्ड नम्बर प्लेट जडान भएका सवारीमा विभागले एउटा चीप्ससहितको स्टकर टाँस्नेछ । त्यो स्टीकरमा सवारीका विस्तृत विवरणहरु राखिन्छन् । संघीयतामा गएपछि पनि सवारी दर्ता प्रणालीलाई यसै स्टीकरमार्फत व्यवस्थित गर्न सकिने विभागले जनाएको छ । यो नम्बर प्लेटमा राखिने प्रविधियुक्त चीप्स भित्र पनि सवारी धनी र सवारीका विभिन्न विवरणहरु हुन्छन् । जसका आधारमा प्रहरीले सवारीको डिटेल तुरुन्त लिन सक्छ । प्रहरीले हातैमा बोक्ने रिडर मेसिनले इम्बोस्ड नम्बर प्लेटलाई सहजै चेकजाँच गर्न सक्छ । स्मार्ट ब्लु-बूक र इम्बोस्ड नम्बर प्रणालीले प्रहरीलाई सवारी चेकजाँचमा सहज हुनेछ । यस्तै शहरका विभिन्न भाग र राजमार्गहरुमा इम्बोस्ड नम्बर प्लेटलाई रिड गर्ने मेसिनसहितको गेट राखिने छ । जसलाई पार गर्ने जुनसुकै सवारीका सबै विवरणलाई मेसिनले रिड गरेर कम्प्युटरमा ‘अटो इन्ट्री’ गर्नेछ । यसबाट कुन सवारी कुन क्षेमा छन् भन्ने थाहा पाउन समय लाग्दैन । काठमाडौंमा मात्रै ५ वटा स्थानमा नम्बर प्लेट रिड गर्ने मेसिनसहितको गेट राख्ने विभागको योजना छ । विशेषगरी शहरी क्षेत्रका नाका तथा राजमार्गका विभिन्न ठाउँमा यस्ता मेसीनसहितका गेटहरु जडान हुनेछन् । यसैका माध्यमबाट कुन नम्बरको गाडी, कुन समयमा, कुन ठाउँका पुग्यो भन्ने सुचना नम्बर प्लेटकै सहयोगमा प्रहरी र विभागले प्राप्त गर्न सक्छ । यो सुविधाले प्रहरीलाई अपराध नियन्त्रणमा सहयोग गर्ने विभागको विश्वास छ । -source

0 comments

प्रतिकृया दिनुहोस