पाइरेसी भएपछि युटुबबाट रिलिज भयो ‘छक्का पन्जा’, अष्ट्रेलियाको कपि कसरि पुग्यो मलेसिया ?
यो बर्षको सर्वाधिक सफल चलचित्र ‘छक्का पन्जा’ पनि पाइरेसीको मारमा परेको छ । चलचित्रको विभिन्न शो अझै ओभरसिजमा भैरहेको थियो । चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला चलचित्र प्रदर्शनका लागि भन्दै यतिबेला यूरोपमा छन् । उनीहरु, यूरोपमा चलचित्रको प्रदर्शनमा व्यस्त भएको समयमा चलचित्र पाइरेसी भएको हो । विशेषगरि, बिहिबार बिहानैबाट चलचित्र मानिसका मोबाइल-मोबाइलमा छ्याप्तछ्याप्ती भएको थियो । चलचित्र पाइरेसी भएपछि अन्ततः यसलाई युटुबबाट रिलिज गरिएको छ । हाइलाइट्स नेपालले शुक्रबार बिहानै चलचित्र आधाकारिक रिलिज युटुबबाट गरेको हो । कलाकार तथा निर्माता दीपकराज गिरीले पाइरेसीको विरुद्धमा आफूहरु लड्ने बताएका छन् । साथै, माघ २२ गते नेपाल फर्किने दीपक र दीपाको कार्यक्रम पनि प्रिपोन्ड भएको छ । भदौ २४ गतेबाट रिलिज भएको यो चलचित्र ४ महिनामै युटुबमा रिलिज गर्नुपर्ने अवस्था आएको छ । यो चलचित्रले प्रदर्शनको सय दिन मात्र मनाएको थिएन, चलचित्रकै इतिहासमा नयाँ व्यापारिक रेकर्ड पनि कायम गरेको थियो । तर, चलचित्रको प्रदर्शन बाँकी नै रहेको अवस्थामा चलचित्र पाइरेसी हुँदा निर्माता त मर्कामा परेका छन् नै, यसले चलचित्र क्षेत्रलाई अझ पछाडि धकेल्ने देखिएको छ । अष्ट्रेलियाको कपि पाइरेसी भयो, क्षतीपूर्ती दिन्छुः ओम गुरुङ पाइरेसीको बिषयमा हाइलाइट्स नेपालका प्रमुख ओम गुरुङसँग अनलाइनखबरले सोध्यो, कहाँबाट भयो यस्तो काम ? उनले भने-‘हामीले अष्ट्रेलियाका लागि पठाएको कपि मलेसियामा बस्ने एक जना व्यक्तिले फेसबुकमा राखिदिएका थिए । अब, पाइरेसी कताबाट भयो भन्ने अनुसन्धान भैरहेको छ ।’ कतै, यो पाइरेसीमा तपाहरुको नै संलग्नता त छैन भन्ने प्रश्नमा उनले भने-‘यो अनुसन्धान नभई थाहा हुँदैन । हाम्रै हाउस भित्रबाट भयो कि, अष्ट्रेलिया पठाइसकेपछि भयो भन्ने अनुसन्धानबाट मात्र थाहा हुन्छ । कसैले मलाई सिध्याउनका लागि पनि यस्तो खेल खेलेको हुनसक्छ ।’ यसअगाडि हाइलाइट्स नेपालबाटै चलचित्र ‘ड्रिम्स’को पाइरेसी भएको थियो । उनका अनुसार, विदेशका विभिन्न २० स्थानमा चलचित्र देखाउन बाँकी छ । उनले भने-‘हामीले चलचित्र वेचेर पैसा लिइसकेका विदेशका विभिन्न साथीहरुलाई अर्को चलचित्रमा मिलाउँछौ भनेका छौ । उहाँहरुको क्षतीपूर्ती हाइलाइट्स नेपालले नै तिर्छ । मलाई नै फेरि ठूलो नोक्सान भयो ।’ उनले जसरि भएपनि पाइरेसी गर्ने व्यक्ति समातेर वास्तविकता पत्ता लगाउने बताए । हाइलाइट्स नेपालले चलचित्रको युटुब र ओभरसिज राइट्स किनेको थियो । -source


0 comments
प्रतिकृया दिनुहोस