दुर्घटनामा परेपछि कम्पनीले फोकटमा कसले राख्छ भन्दै नेपाल पठाइदियो

दुर्गाप्रसाद भट्टराई/सर्लाही
सलार्ही, माघ ७ – कम्मरदेखि माथि जीउमा लुगा छैन । काँधबाट पाखुरा हुँदै दुवै हातसम्म दुवैतिर पट्टीले बाँधिएको छ । हिँडडुल गर्न सजिलो छैन । त्यसैले बसिरहनु बाहेक अरु कुनै काम गर्न सक्नुहुन्न सर्लाहीको श्रीपुर–४ नयाँ टोलका हृदयनारायण राय ।
उमेरले भर्खरको देखिए पनि उहाँको यो अवस्था वैदेशिक रोजगारीका कारण भएको हो । ४ महिनाअघि मलेसिया गएका उहाँ दुर्घटनामा पर्नुभएको हो । तर कम्पनीले उपचार नगरेपछि उहाँ घरबाटै पैसा मगाएर नेपाल फर्किनुभएको हो । पढाइ राम्रो भएन

त्यसैले ६ कक्षा पढ्दा पढ्दै छोड्नुभयो । विद्यालयको पढाइ पनि पूरा नगरेको मान्छेले देशमै बसेर के काम पाइएला र भन्ने लागेपछि घरमा विदेश पठाउने कुरा चल्न थाल्यो । ‘त्यति बेला मलाई पनि विदेश जान पाए पैसा कमाएर घर परिवारको खर्चमा सघाउँथें भन्ने लाग्यो’ हृदयनारायण भन्नुहुन्छ ।
विदेश जाने थाहा पाएपछि मोतिपुरका रगुनाथ महतो उहाँको घरमै पुगे । रगुनाथले विदेश जाने हो भने मलेसियाको रेष्टुरेन्ट काम गर्नेको माग आफूसँग भएको बताए । सानै देखेपछि रघुनाथले उहाँलाई त्यसरी नै फकाए । ‘उनले तिमी हेर्दा सानै छौं त्यसैले यो काम तिमीलाई सजिलो हुन्छ भने’ हृदयनारायणले भन्नुभयो । रघुनाथले त्यसो भन्दा हृदयनारायणका बुवा पनि छेवैमा हुनुहुन्थ्यो । बुवाले छोरालाई विदेश पठाउन लाग्ने पैसा सोध्नुभयो । रगुनाथले बुवालाई उत्तर दिए ‘८० हजार रुपैयाँ ।’
हृदयनारायणलाई सरकारले फ्रि भिसा फ्रि टिकट कार्यान्वयन गरेको थाहा थियो । त्यसैले उहाँले सोध्नुभयो ‘अहिले पनि त्यत्रो पैसा लाग्छ र ? फ्रि भिषा फ्रि टिकटमा जान पाइन्छ होइन र ?’
रघुनाथको उत्तर विदेश पाउने अरु दलालको भन्दा फरक आएन । रघुनाथले त्यो सबै कुरा मात्रै हो काम र व्यवहारमा छैन भनेर टारिदिए । उल्टै त्यही काममा पठाउन आफूले अरुसँग १ लाख २० हजार रुपैयाँ लिइरहेको सुनाए ।
एउटा मात्रै कोटा बाँकी रहेको भन्दै जाने भए तयार हुन भनेपछि हृदय नारायणका बुवाले ऋण गरेर पैसा ठिक पारिदिनुभयो । हृदयनारायण २०७३ भाद्र २२ गते ८० हजार रुपैयाँ तिरेर मलेसिया जानुभयो ।
पहिलो पटक विदेश पुगेका हृदयनारायणले रघुनाथले भने अनुसार रेष्टुरेण्टमै काम पाउनुभयो । तलब चाहिँ महिनाको १२ सय ३७ रिंगिट अर्थात ३७ हजार रुपैयाँ थियो । लेबी कम्पनीले नै तिरेको छ भनेको थियो । अनि खान र बस्ने सुविधा पनि थियो ।
सोचे जस्तै भएपछि हृदयनारायण मात्रै होइन उहाँको परिवार पनि खुसी थियो । ‘८० हजार रुपैयाँ लिए पनि काम र तलब राम्रै हुने ठाउमा पठायो भनेर म ढुक्क थिएँ’ हृदयनारायण भन्नुहुन्छ । तर त्यो अवस्था तीन महिना पनि रहन पाएन ।
काम सकेर साइकलमा घुम्न निस्किएका हृदयनारायण दुर्घटनामा पर्नुभयो । उहाँलाई दुर्घटना बारे केहि थाहा छैन । उहाँको कुम भन्दा मुनि र घाँटीको तलतिर भाँचिएको छ । दुर्घटनामा परेका उहाँलाई एकहप्ता उपचार गरेर कोठामा लगियो । तर त्यसपछि भने कम्पनीले उपचार गर्न नसक्ने अनि उपचारमा लागेको खर्च तिरे नेपाल फर्किन भन्यो । ‘तिमी काम गर्न सक्दैनौ नेपाल जाउ । यहाँ तिमीलाई फोकटमा कसले खान र बस्न दिन्छ भन्यो साहुले’ हृदयनारायण सुनाउनुहुन्छ । कम्पनीले औषधि गर्दा लागेको १५ सय रिगिंट र नेपाल जान १३ सय रिगिंट लाग्ने भन्दै त्यो सबै रकम घरबाट मगाउन लगायो । त्यो खबर उहाँले घरमा सुनाउनुभयो । हृदयनारायणका बुवाले म्यानपावरमा कुरा पनि गर्नुभयो तर म्यानपावरले छोराले जे भनेको छ त्यी गर्नु पछि केहि भयो भने हामी जिम्मेवार हुँदैनौ भन्न जवाफ दियो । केहि नलागेपछि बुवाले ८५ हजार रुपैयाँ हृदयनारायणले काम गर्ने कम्पनीमा पठाई दिनुभयो ।
पैसा बुझाएर उहाँ गएको पुस ८ गते नेपाल फर्किनुभएको छ । घर त फर्किनुभयो तर उपचार गर्दा लागेको खर्चको कागजपत्र चाहिँ उहाँले ल्याउनुभएन । घर फर्किन हतार भएकाले ल्याउन विर्सिएछु भन्नुहुन्छ उहाँ ।
काठमाडौं आएर उहाँले ट्रमा सेन्टरमा गएर उपचार गराउनुभयो । अहिले उहाँ भारतमा उपचार गराई रहनुभएको छ । मलेसिया जाँदा आउँदा र उपचारमा उहाँको २ लाख ५० हजार रुपैयाँ सकियो । तर उपचारका लागि कम्पनीबाट एक पैसा पनि पाउनुभएन । त्यसैले उपचार खर्च पाइन्छ कि भन्ने आशमा हुनुहुन्छ उहाँ ।

0 comments

प्रतिकृया दिनुहोस