राप्रपा केन्द्रीय सदस्यका लागि मतदान सुरु
काठमाडौँ, १० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको अधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि आज बिहान ८ बजेदेखि निर्वाचन सुरु भएको छ।
पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार राष्ट्रिय सभागृहमा साँझ ५ बजेसम्म मतदानको समय राखिएको छ । मतदानको प्रक्रिया सकिएलगत्तै गणना गरी परिणाम सार्वजनिक गरिनेछ । विद्युतीय मतदान यन्त्रको प्रयोग गरिएकाले आज साँझसम्म नतिजा प्राप्त हुने छ ।
पार्टीका नवनिर्वाचित अध्यक्ष कमल थापाले पहिलोपटक मतदान गरी सो प्रक्रियाको शुभारम्भ गरेका थिए। पार्टीको विधान अनुसार १६३ सदस्यीय केन्द्रीय समितिको ६० प्रतिशत ९९८ पदका० लागि हुन लागेको निर्वाचनमा ३६३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। बाँकी ४० प्रतिशत सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ ।
महिलातर्फ ३३ सिट रहेका छन् जसमा खुल्ला १६ तथा आरक्षणमा १७ सिट छन् । आरक्षणतर्फ मधेसी समुदायबाट पाँच, आदिवासी जनजाति छ, उत्पीडित दुई, मुस्लिम एक, कर्णाली र पिछडिएको क्षेत्रबाट दुई, थारु समुदायबाट एकजना निर्वाचित हुने छन् ।
पुरुषतर्फ ६५ सिट कायम गरिएको छ, खुल्ला ४० तथा आरक्षणमा २५ सिट छन् । आरक्षणतर्फ मधेसी समुदायबाट सात, आदिवासी जनजाति नौ, उत्पीडित दुई, मुश्लिम दुई, कर्णाली र पिछडिएको क्षेत्रबाट दुई, थारु समुदायबाट एक, प्रवासबाट दुईजना निर्वाचित हुनेछन् ।
महाधिवेशन सम्पन्न भएपछि ४० प्रतिशत मनोनीत गरिने र २७ सदस्यीय पदाधिकारी चयन गरिनेछ । आसन्न महाधिवेशनमा करिब रु एक करोड ५० लाख खर्च गर्ने भनिएको भए पनि महाधिवेशनको समय अवधि लम्बिएकाले खर्च बढ्न सक्ने बताइएको छ ।
पार्टीको महाधिवेशनमा देश तथा विदेशबाट सहभागी हुन आउने प्रतिनिधि, प्रर्यवेक्षकलाई खान, बस्न तथा महाधिवेशनका लागि मञ्च व्यवस्थापन, प्रचारप्रसारका लागि सो रकम खर्चका लागि छुट्याइएको थियो ।
पार्टीका नेता किरण गिरीका अनुसार सो रकम पार्टीका नेता तथा कार्यकर्ताबाट सङ्कलन गरिने जनाइएको छ । महाधिवेशनमा महिला, दलित र सीमान्तकृतलगायतको समावेशी प्रतिनिधित्व गराइने छ । महाधिवेशनमा हुने चुनावका लागि ६० वटा विद्युतीय मतदान यन्त्र प्रयोग गरिएको छ ।
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नका लागि संवैधानिक राजसंस्थाको पक्षमा महाधिवेशन केन्द्रित गरिएको छ । आजको परिणाम सार्वजनिक भएसँगै महाधिवेशनको समापन समेत गरिने युवा नेत्री वीना थापाले जानकारी दिइन्। रासस


0 comments
प्रतिकृया दिनुहोस