संशोधन विधेयकलाई छलफलको प्रक्रियामा लैजान सहमति, अाजबाट संसद खुल्ने

फाल्गुन १२, २०७३- व्यवस्थापिका संसद बिहीबारदेखि सञ्चालन हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली र सभामुख ओनसरी घर्तीबीच संशोधन विधेयक अगाडि बढाउने सहमतिपछि संसद खुल्ने भएको हो । बिहान सिंहदरबारमा भएको तीन पक्षीय छलफलमा सहमतिमै संशोधन प्रक्रिया अगाडि बढाउने निष्कर्षण पुगेको सभामुख घर्तीले जानकारी दिइन् ।

आजैबाट संसद्को बैठक सञ्चालन हुने र संविधान संशोधन लगायत कार्यसूचीमा रहेका विषय प्रक्रियागत रुपमा अघि बढाउन प्रतिपक्षले सहयोग गर्ने सहमति भएको सभामुख घर्तीले बताइन् ।

'सहमतिभन्दा अर्को विकल्प छैन । आगामी दिनमा पनि सहमतिबाटै अघि बढ्नुपर्ने आवश्यकता छ । आज भएको सहमतिप्रति म खुसी व्यक्त गर्दछु', सभामुख घर्तीले भनिन् ।

संसद बैठक आज बिहीबार ३ बजेका लागि बोलाइएको छ । बुधबार संशोधन विधेयक प्रक्रियामा लैजाने विषयमा सत्तारुढ र विपक्षी गठबन्धनबीच सहमति हुन नसकेपछि सूचना टाँसेर संसद बैठक बिहीबार ३ बजेसम्मका लागि सारिएको थियो ।

सरकारले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन विधेयक पारित गराउने प्रयास गर्दै आएको छ भने विपक्षी दलहरुले प्रक्रियामा लैजान सहमति दिएका थिएनन् । बुधबार बसेको विपक्षी गठबन्धन बैठकले पनि संशोधन विधेयक प्रक्रियामा लैजान नदिने निर्णय गरेको थियो ।



0 comments

प्रतिकृया दिनुहोस