काठमाडौं – लण्डनस्थित यमबुद्धको ससुराली घरमा सँगै बस्ने उनका साथी रोशन भट्टराइसँग कुनै बेला ‘यो माया भन्ने चीज यस्तै हो कि प्रस्तोता’ सबिना कार्कीले टेलिफोन सम्बाद गरेकी छिन् । भट्टराइको मर्मस्पर्शी बयान उनकै शब्दमा यहाँ प्रस्तुत गरिएको छ ।
मेरो निकै नजिकको मानिसले छोडेर जानुभयो । मलगायत घरमा मेरो परिवार पनि स्तब्ध छौं । शनिबार बिहान मैले नै उहाँलाई त्यस्तो अवस्थामा फेला पारेको हुँ । पोष्टमार्टमको काम छिट्टै भएकाले रिपोर्ट पनि एक दिन अघि नै आयो । रिपोर्टमा सबै ‘नर्मल’ छ । त्यस्तो केही पनि नदेखिएको भनिएको छ । अलिकती वाइन खानुभएको थियो उहाँहरु बसेर । अल्कोहलको मात्रा शरिरमा फेला पारेछ । त्यस्तो कुनै कुराहरु फेला परेको छैन । सायद उनलाई लैजाने काम अगाडि बढ्छ होला । उहाँको परिवारले उहाँको दाहसंस्कार नेपालमा नै गर्ने कुरा गर्नुभएको छ । उहाँको शवलाई नेपाल लाने काम अघि बढ्दैछ । प्रहरीले पनि बिहान वाइनको बोतल फेला पारेको हो । उहाँले वाइन लिएर आएको कुरा घरमा सबैलाई थाहा छ । राती उहाँले आफ्नै बुढीलाई फोन गरेर ‘म वाइन लिएर आउँदैछु’ भन्नुभएको थियो र त्यो एकदम साधारण हो । वाइन, बियर यहाँ निकै साधारण हुन् । एक्चुअल्ली भन्नुपर्दा हामी राती १०/११ बजेतिर सुत्छौं । मेरा दुई छोराहरु छन् । बच्चाहरुलाई खुवाई पियाई गरेर सुत्दा ११ त सधैंजसो बज्छ । त्यो रात भने हामी छिट्टै नै सुत्यौं । बाहिर खाना खाएर आएका थियौं, आफन्तकोमा । घर आएर छिट्टै सुत्यौं । बिहान मेरो ७ बजे काम थियो । ६ बजेको अलार्म राखेको थिएँ । म उठेर ट्वाइलेट जान खोजें। ट्वाइलेट र बाथरुम माथिल्लो फ्लोरमा छ जुन उहाँहरु सुतेको रुमको ठ्याक्कै अगाडि छ । माथिल्लो फ्लोर उहाँ र उहाँको वाइफ बस्ने रुम । त्यसपछि उहाँको सासू, ससूराको रुम, त्यसपछि उहाँको सालोको रुम छ । भर्याङबाट माथि गएँ, ट्वाइलेट र बाथरुम छुट्टा छुट्टै छ । बाथरुम जाने क्रममा बाथरुमको ढोका लक भएको अवस्थामा पाएँ । यदि कोही भित्र भएको भए पानी चलाएको आवाज सुनिन्थ्यो । विकेन्ड पर्यो शनिबार, फेरी कोही पनि छैन जस्तो मलाई भान भयो । नर्मल्ली विकेन्डमा मानिसहरु ९–१० बजेतिर उठ्छन् । एकछिन कुरें । भित्रबाट केही खबर नआएपछि म चाबी लिन भनेर तल झरें । बाथरुमको ‘स्पेयर कि’ हुन्छ, किचनमा राखिएको हुन्छ । चाबी लिएर म माथि गएँ । चाबी खोलेर ढोको खोल्ने बित्तिकै मैले उहाँलाई त्यस्तो अवस्थामा देखें । र मैले उहाँ नै हो भनेर यकिन गर्न सकिनँ । अध्याँरो थियो, बत्ती बलेको थिएनँ । मैले उहाँको ज्याकेट लगाएको देख्ने बित्तिकै मैले अनुमान गरेर ओहो ब्रदर के भयो भनेर सोधें । मैले उहाँलाई ब्रदर भनेर बोलाउँथे । मेरो प्रश्नको जवाफ नआएपछि मेरो हातमा मोबाइल थियो र त्यसको लाइट बालें । किनभने बाथरुमको स्विच भित्र पसेर बाल्नुपर्ने थियो । भित्र म पसिनँ । मोबाइलको टर्चको लाइट उहाँको मुखमा नै पर्न गयो । बेल्ट घाँटिमा थियो र टाउको निहुरिरहेको अवस्था, जिब्रो निस्किएको अवस्था । यस्तो देख्नेबित्तिकै सुरुमा मेरो आवाज नै आएन । १५–२० सेकेन्ड म कराउनै सकिनँ । त्यसपछि म निकै आत्तिएर उहाँको सासू, ससूरा सुतिरहेको कोठामा गएँ । उहाँहरुलाई कराउँदै उठाएँ । घरमा एक किसिमको कोलाहोल माहौल भयो । कराउँदै गएपछि मुवाहरु उठ्नुभयो र के भयो के भयो भनेर सोध्न थाल्नुभयो । उहाँहरुले बाथरुममा गएर हेरिस्यो र लौन मैले मे देख्न पर्यो भन्दै आत्तिन थाल्नुभयो । के भयो भाइलाई भनेर सोध्न थाल्नुभयो, उहाँले मलाई दाइ भन्नुहुन्थ्यो र मैले भाइ, ब्रदर भन्ने गर्दथें । जिब्रो बाहिर निकाल्नुभएको छ, एम्बुलेन्स बोलाऔं, पुलिस बोलाऔं भन्ने कुरा हुन थाल्यो । बिचरा उहाँहरु पनि शक हुनुहुन्थ्यो । उहाँहरु जानुभयो । घरमा सबैजना दौडा दौड भागाभाग, लौन नि के भयो भन्ने माहौल भयो । त्यसपछि म कुद्दै तल आएर पुलिसलाई फोन गरें तुरुन्तै र एम्बुलेन्सलाई पनि फोन गरेर मैले बोलाएँ ।
उहाँहरु घरमै हुनुहुन्छ । मान्छेहरु, साथीभाइ आफन्त आउने जाने क्रम भइरहेको छ । हुन त विदेश हो, यहाँ नेपाल जस्तो त हुँदैन । मान्छेहरु पनि लिमिटेड हुन्छन् । कतिको काम हुन्छ, कसको के हुन्छ । तर पछि साथी भाइ आफन्तले आफ्नो दिनचर्यालाई छोडेर यहाँ आएर घरमा बस्दिनुभएको छ । कुराकानी गरिरहनुभएको छ ।
यमलाई रोशनले नै लण्डनमा काम लगाइदिएका थिएः
गत दशैंमा उहाँ नेपालबाट यहाँ आउनुभएको हो । उहाँकी श्रीमती अलि अगाडि आउनुभएको थियो । हामी उहाँहरुकै सासू ससूराको घरमा बस्दै आएका थियौं । उहाँहरु यता आएपछि हाम्रो एक अर्कासँग चिनजान भएको हो । उहाँले काम खोजिरहनुभएको कुरा मलाई उहाँको श्रीमतीमार्फत थाहा भएको थियो । उहाँ यहाँ आउनुभन्दा पहिले नै उहाँलाई काम खोजिदिने आग्रह गर्नुभएको थियो उहाँकी श्रीमतीले । त्यही हिसाबले मैले मेरो कम्पनीमा रिक्रुटमेन्ट गरिरहेको हुन्छु, हायरिङ गर्छु, अन्तर्वार्ता लिन्छु । मैले धेरै नेपालीलाई सहयोग गरेको छु, काम दिलाएको छु । त्यही हिसाबले मैले उहाँलाई पनि काम खोजिदिएको थिएँ । उहाँले कामको लागि अन्तर्वार्ता पनि दिनुभयो, यसमा सफल भएपछि काम पनि पाउनुभयो । बिचमा डिसेम्बरतिर उहाँले पार्टटाइम काम पनि गर्नुभयो । यहाँ एउटा रोयल मेलभन्ने कम्पनी छ जसले पोष्ट भएको लेटरहरु घर घरमा गएर पार्सल गर्छ । त्यो कम्पनीमा उहाँ २–३ हप्ता काम गर्नुभएको हो । तर उहाँले फूल टाइम काम म काम गर्ने कम्पनीमै गर्नुभएको हो ।
उहाँ खुसी हुनुहुन्थ्यो । उहाँको प्रोमोसन भएको थियो । तलब पनि बढेको थियो । ओभरटाइम पनि गर्नुहुन्थ्यो । हँसिलो अनुहारको मान्छे । सबैसँग मिलनसार । काममा फिडब्याक सोध्दा पनि एकदमै मिलससार मान्छे भन्ने गर्दथे । उहाँले काम पनि अरुले भन्दा निकै छिटो सिक्नुभएको थियो ।
यस्तो मान्छेले किन आत्महत्या त ?
उहाँ यहाँ आएपछि हामीले दुईचार पटक सँगै बसेर ड्रिङ्क्सहरु गर्यौं । एउटा भिडियो पनि सार्वजनिक भएको छ, त्यतिबेलाको गीत सायद उहाँको अन्तिम गीत होला । हामी लिभिङ रुममा बसेर उहाँले गितार बजाउनुभएको थियो, मैले गीत गाइहरको थिएँ । हामी कहिलेकाँही गीत गाउने, बस्ने गर्दथ्यौं । उहाँको लण्डनमा घर बनाएर बस्ने सपना थियो । यस्तो गाडी किन्छु भन्ने गर्नुहुन्थ्यो । अमेरिकामा प्रोजेक्ट छ, अमेरिकी आर्टिस्टसँग कामहरु गर्छु, भिडियो निकाल्छु भन्ने गर्नुहुन्थ्यो । उहाँले भविष्यका लागि थुप्रै योजना बनाउनु भएको थियो । हामी दुईजना मिलेर पनि एउटा गीत निकाल्ने कुरा चलिरहेको थियो । यी सबै कुराकानीको क्रममा, प्रत्येक भेटधाटको क्रममा मैले कहिले पनि उहाँ मानसिक रुपमा पिडित हुनुहुन्छ भन्ने छनक नै पाइनँ । उहाँको मुखबाट कहिले पनि दुःखका कुराहरु निस्किएनन् । कहिले काँही गरे तर ती आत्महत्या गर्ने किसिमका थिएनन् ।
हाम्रो कम्पनीको क्रिसमस पार्टी पनि भएको थियो । क्रिसमस पार्टीमा हामी सेन्ट्रल लण्डन गएका थियौं । त्यहाँ हामीले रमाइलो गर्यौं । आरामले घर फर्कियौं । उहाँको मृत्युमा ड्रग्स खाएको होला, ड्रिङ्क्स गरेको होला भन्ने अनुमान नेपालीहरुले गरिरहेका छन् र उहाँको त्यस्तो नराम्रो बानी मैले कहिले पनि देखिनँ । त्यसरी हावा कुरा फैलाउनु हुँदैन । उहाँ निकै सरल मान्छे हो । एक, दुईवटा ड्रिङ्क्सले धेरैजसो नेपालीले खाइहाल्छन्– पार्टी हुँदा रमाइलो गर्न । ड्रिङ्क गर्दा पनि उहाँले कहिले पनि दुखको कुराहरु गर्नुभएन । राम्रै, पोजिटिभ कुराहरु गर्नुहुन्थ्यो ।
अस्मिता निकै स्तब्धः
अस्मिता बहिनी निकै मर्माहित अवस्थामा छिन् । उनलाई यो दुःखको घडीमा सम्हाल्न सक्ने हौसला दिनुपर्छ । राती उहाँ घरबाट बाहिर निस्किएको हो होइन भन्ने बारे पनि कसैलाई थाहा भएन । सँगै बसियो, सँगै सुतियो तरपनि राती उहाँ निस्किएको भन्ने कुरा थाहा भएन । उहाँले ज्याकेट लगाएकाले घरबाहिर निस्किएका हुन् कि भन्ने शंकासम्म गर्न सकिन्छ ।
उहाँका गीतहरु सबै ल्यापटप र कम्प्युटरको हार्डडिस्कमा सुरक्षितः
नेपालबाट आएपछि उहाँले आफ्ना सबै गीतहरु आफ्नो ल्यापटप र कम्प्युटरमा सुरक्षित राख्ने गर्नुहुन्थ्यो । उहाँको नयाँ आउने लागेको एल्बमका गीतहरु पनि कम्प्युटरको हार्ड डिस्कमा सुरक्षित छन् । उहाँका परिवारले उहाँको ल्यापटप र कम्प्युटरलाई निकै सुरक्षित रुपमा राख्नुभएको छ ।


0 comments
प्रतिकृया दिनुहोस