भूकम्पपीडितको गुनासो, खातामा पैसा आएन
भक्तपुर, ६ माघ । अनन्तलिङ्गेश्वर नगरपालिका–६ सिरुटारका विक्रम श्रेष्ठले थिमिस्थित वाणिज्य बैंकमा खाता खोलेको दुई महिना बित्यो ।
विगत २१ महिनादेखि जस्ताको टहरामा बस्दै आएका श्रेष्ठ परिवार अनुदान आउने टुंङ्गो नलागेपछि जग्गा बिक्री गर्ने निर्णयमा पुगेका छन् ।
सरकारले अनुदान दिएपछि घर बनाउन सुरु गरौँला भनेर बसेका भक्तपुरका आधाभन्दा बढी भूकम्पपीडित पहिलो किस्ताको रकम कहिले वितरण गर्ने भन्ने टुङ्गो नलागेपछि निराश भएका हुन् ।
नगरकोट नगरपालिका ताथलीका रोशन गिरीको परिवार अनुदानको आशामै रहेर घर बनाउन सुरु नगरेको बताउँछन् । उनी भन्छन्, “अनुदान वितरण सुरु गरेपछि घर बनाउन सुरु गरौंला भनेर बसेका छौँ, तर खै कहिले आउँछ पत्तो छैन, घर नबनाई यसवर्षको जाडो पनि बित्ने भो ।”
सरकारले दिने अनुदानले मात्रै घर बनाउन नपुग्ने भएपछि धेरै भूकम्पपीडितले जग्गा बिक्री गर्न थालेका छन् । सरकारले दिएको अनुदान रकममा थप गरेर घर बनाउने योजनामा पुगेका कतिपय भूकम्पपीडितले अनुदान आउनुअघि नै घर बनाए अनुदान रकम नै नपाइएला भन्ने डरले घर नबनाइ बसेका छन् ।
सिपाडोलका भूकम्पपीडित रामशङ्कर श्रेष्ठले सरकारले दिने अनुदान रकम लिन बैंकमा खाता खोलेको दुई महिना बिते पनि रकम नआएपछि घर बनाउन जग्गा बिक्री गरेको बताए ।
भक्तपुरमा सुरुमा ३३ हजार ६९६ परिवार भूकम्पपीडित रहेको तथ्यांक रहे पनि पुनः सर्वेक्षणमा पुनःनिर्माण प्राधिकरणले लाभग्राहीको सूचीमा रहेका २६ हजार १६ परिवारको विवरण जिल्लामा पठाएको छ ।
संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना एकाइ कार्यालयले स्थानीय निकायमार्फत भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम वितरण गर्न अख्तियारी पाए पनि वैदेशिक सहायताको रकम फुकुवाको निकासा आउन ढिला हुँदा पहिलो किस्ताको अनुदान पनि वितरण गर्न नपाएको स्थानीय विकास अधिकारी ध्रवप्रसाद कोइरालाले बताए ।
जतिसक्दो छिटो रकम निकासा गर्न ताकेता गरेको बताउँदै उनले अब केही दिनभित्रै निकास आउने र रकम वितरण गर्ने बताए । रासस


0 comments
प्रतिकृया दिनुहोस