पाँचथर–आफ्नै प्रयासयमा बिजुली बाल्न सफल भएपछि सधैंका लागि अन्धकारबाट मुक्ती पाएको भन्दै पाँचथरको फाक्तेप गाँउ विकास समितिका वासिन्दाले सामुहिक भोज खाएका छन् ।
गाविसको वडानम्वर ८ मा विद्युतीकरण गर्न माग गर्दै पटक पटक गाविस र जिविससँगै राजनैतिक दलका नेता अनि सांसदहरुको ढोका चहार्दा लखतरान भएका उनीहरुले अन्ततः आफ्नै प्रयासमा बिजुली बाल्न सफल भएपछि सामुहिक भोजसँगै नाँचगान गरेर खुसियाली मनाएका हुन ।
स्थानीय केबि चेम्जोङका अनुसार वडामा विद्युतीकरण गर्नका लागि तीनवर्ष अघिदेखि स्रोत जुटाउन थालिएको थियो । आफुले देश विदेशमा रहेका स्थानीयसँग समन्वय गर्दै विजुली वाल्न भूमिका खेलेको उनको भनाई छ ।
बिजुली बलेसँगै गाँउमा उद्योग र कल कारखाना स्थापना गरी रोजगारीको वातावरण वनाउदै युवाहरु बिदेश पलायन हुनवाट रोक्ने योजना उनी सुनाँउछन ।
बिद्युत नहुँदा अन्धकारमा वस्नु परेपछि गाँउमा रहेका स्थानीयसँगै गाँउ छोडेर बैदेशिक रोजगारीमा गएका युवाहरुको सामुहिक प्रयासमा तीनवर्ष अघि बिद्युत उपभोक्ता समिति गठन गरी काम थालिएको समितिका अध्यक्ष गणेशबहादुर चेम्जोङ बताँउछन् ।
विजुलीले गाउँघर उज्यालिदा यहाँकाले नेता र सरकारको आस्वासन पर्खेर बर्षौदेखि अध्यारोमा बस्नु परेको पीडा भूलेको प्रतिकृया दिएका छन् । अब इमेल इन्टरनेट सञ्चालनका लागि कम्प्युटर प्रशिक्षणसँगै बिद्युतजन्य घरेलु तथा साना उद्योग स्थापना गरेर स्वरोजगार सृजना गरी आर्थिक सुधारमा लाग्ने उनीहरुको भनाई छ ।
इलाम–पाँचथर ३३ केभिए बिद्युत प्रसारण लाइनको राँके–रवी खण्डबाट फाक्तेपका नागरीकले बत्ती जडान गरेका हुन् । गाँउमा बिजुली बाल्न बैदेशिक रोजगारीमा रहेका युवावाट संकलित १५ लाख ५० हजार, स्थानीयले संकलन गरेको १५ लाख ५० हजार गरी कुल ३० लाख सँगै स्थानीय जनश्रमदान वापत १२ लाख गरी कुल ४२ लाख रुपैंया लागतमा विजुली वलेको उपभोक्ता समितिले जनाएको छ ।
बिजुली माघ १ गते उद्घाटन गरिएको हो । उद्घाटन समारोहका अवसरमा स्थानीयले सामुहिक भोज खानका साथै च्याबुङ र धान नाँचेर खुशीयाली मनाएका थिए ।
पाँचथर सदरमुकाम फिदिममा २०३२ सालबाट जलविद्युत सञ्चालनमा आएपनि दुर्गम गाउँहरुमा अझै पनि विद्युत् सेवा विस्तार हुन सकेको छैन ।
२०६४ सालदेखि जिल्लाको केहि गाउँमा लद्यु जलबिद्युत आयोजना निर्माण भई सञ्चालनमा आइरहेका छन् । विद्युत प्राधिकरणले एक दशक अघिदेखि सदरमुकाम फिदिममा ३३ केभि केन्द्रीय विद्युत प्रशारण लाइन विस्तार गरेपनि पाँचथरमा करिब १३ हजार घरपरिवार विद्युत सेवाबाट अझैपनि बञ्चित छन् ।
स्थानीयको यो प्रयासले अव बिकास निर्माणका लागि सरकारको बाटो नहेरे हुन्छ भन्ने दर्बिलो प्रमाण पेश गरेको छ ।


0 comments
प्रतिकृया दिनुहोस