विदेशमा रहेका नेपालीलाई मतदानको सुविधा 'तत्काल असम्भव

परराष्ट्रमन्त्री प्रकाशशरण महतले माघ पहिलो साता अमेरिका भ्रमण क्रममा 'प्रवासी नेपालीलाई त्यही देशबाट मतदानको अधिकार दिने' बताए। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन) अमेरिकाको पाँचौ वार्षिक साधारणसभा उद्घाटन क्रममा उनले उक्त घोषणा गरेका हुन्। विदेशका कार्यक्रममा भाषण गर्दा धेरै नेताले यस्तै दाबी गर्ने गरेका छन्। यसपालि त परराष्ट्रमन्त्रीकै तहबाट जोडदार रूपमा व्यक्त भएको मतदानको यस्तो व्यवस्था कार्यान्वयन गर्न के सरकारले तयारी थालेकै हो त? निर्वाचन आयोग र परराष्ट्र मन्त्रालयकै अधिकारीहरु यस सम्बन्धमा प्राविधिक तयारी त टाढाको कुरो, नीतिगत तयारीसमेत नभएको बताउँछन्। पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती त यसलाई 'सार्वजनिक खपतका लागि दिइएको अभिव्यक्ति' भन्छन्। 'यो गर्नुपर्ने व्यवस्था हो,' उप्रेतीले सेतोपाटीसँग भने, 'तर अहिलेसम्म कुनै तयारी भएको छैन र तत्काल यो प्रावधान लागू गर्न सम्भव पनि छैन।' निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले पनि प्रवासमा रहेका नेपालीलाई उतै मतदान गराउनेबारे कुनै तयारी नभएको बताए। 'सैद्धान्तिक रूपमा प्रवासमा रहेका नेपाली मतदाताले मतदान गर्न पाउनुपर्छ भन्ने हो,' उनले भने, 'अहिलेसम्म कुनै ठोस तयारी भने अघि बढेको छैन।' शर्माका अनुसार कुन देशको कुन ठाउँमा कति नेपाली छन् भन्ने व्यवस्थित तथ्यांकबिना यस्तो तयारी थाल्न गाह्रो हुन्छ। उनले भनेजस्तो तथ्यांक नै अहिलेसम्म कसैसँग छैन। 'यो समय लाग्ने र एकदमै खर्चिलो प्रकृया हो, तत्कालै सम्भव छैन,' प्रवक्ता शर्माले भने। परराष्ट्र मन्त्रालयले पनि अहिलेसम्म कुनै गृहकार्य नगरेको प्रवक्ता भरत पौड्यालले बताए।

0 comments

प्रतिकृया दिनुहोस