'नेपालमा आतंकवादीले सेल्टर लिने खतरा'
माघ ८, २०७३- नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका एआईजी विज्ञानराज शर्माले नेपालमा आतंकवादीहरूले सेल्टर बनाएर बस्ने खतरा रहेको बताएका छन् ।
राजधानीमा तीन दिन चलेको अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को २३ औं एसिया क्षेत्रीय सम्मेलनको समापनमा शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले पछिल्लो अनुभवलाई हेर्दा यस्तो सम्भावना देखिएको बताएका हुन् । नेपालमा आतंकवाद नियन्त्रणसम्बन्धी कानुन नै नभएको सुनाउँदा अन्य देशका प्रहरी अधिकारीले अचम्म मानेको बताउँदै शर्माले भने, ‘अलकायदा, आईएसआईएस र मुजाहिद्दिनजस्ता आतंकवादी संगठनको गतिविधि छैन भनेर ढुक्क भएर बस्न सकिँदैन ।’ शर्माले सुपुर्दगी सन्धिको अभावमा अन्तरदेशीय अपराध नियन्त्रणमा कठिनाइ भइरहेको बताए ।
विभिन्न ३३ देशका १ सय ३२ कानुन कार्यान्वयन इकाईका उच्च अधिकारी सहभागी सम्मेलन सन् २०१७ देखि २०२० सम्मका निम्ति पाँच रणनीति पारित गर्दै समापन भएको हो । एसियाका संवेदनशील समुदायको सहयोगमा एकीकृत कार्य सञ्चालन गर्ने, आतंककारी तथा तिनका संगठनविरुद्ध प्रहरीको समन्वय बलियो बनाउने, इन्टरपोलको एसियाली क्षेत्रमा विश्व साइबर अपराधविरुद्धको रणनीतिक कार्ययोजनाको प्राथमिकता तथा योजना र अन्तरमहादेशीय वातावरणीय अपराधको विश्लेषण तथा कारबाही गर्ने योजना रणनीतिमा उल्लेख छन् । त्यस्तै जैविक र रासायनिक हतियारको जोखिम र आतंकवादीसँग सम्बन्धित आर्थिक स्रोत कसरी रोक्ने भन्ने विषयमा पनि सम्मेलनमा छलफल भएको थियो ।
सम्मेलनलगत्तै पत्रकारहरूसँग बोल्दै एआईजी शर्माले मानव तस्करीका विषयमा नेपालले सम्मेलनमा साइडलाइन वार्ता गरेको समेत बताए । शर्माका अनुसार सम्मेलनमा सहभागी गल्फ कोअपरेसन काउन्सिलका निर्देशक मुबारक अली खायली र साउदी अरबका इन्टरपोल प्रतिनिधिसँग मानव तस्करीको विषयमा छलफल भएको थियो । शर्माले साउदी अरबमा जाने नेपाली कामदारहरू आतंकवादी संगठनको सम्पर्कमा पुग्ने र बदलिएर आउने खतरा रहेको समेत बताए । इस्लामिक राज्यको द्वन्द्व भइरहेको क्षेत्रमा संलग्न अनुमानित १५ हजार विदेशी लडाकुहरू एसियाका विभिन्न क्षेत्रमा भएका द्वन्द्वग्रस्त वा त्यसको सम्भावना भएको क्षेत्रमा कुनै पनि बेला घुसपैठ गर्न सक्ने र विखण्डन बढाउन सक्ने आशंका इन्टरपोलको छ । शर्माले भने, ‘आतंकवादी संगठनमा आबद्ध विदेशी लडाकुहरूको बारेमा सम्मेलनमा गम्भीर छलफल भयो ।’
सम्मेलनको समापन सत्रमा बोल्दै उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले अपराधको प्रवृत्ति बदलिएको र प्रविधिमा आधारित अपराध बढदै गएको बताए । उनले भने, ‘इन्टरपोलका सदस्य राष्ट्रहरूले मिलेर यसको सामना गर्नुपर्छ ।’ इन्टरपोलका महासचिव जर्जेन स्टोकले सम्मेलनमा सहभागी देशका प्रतिनिधिले सुरक्षा चुनौती र प्राथमिकताहरू साटासाट गरेको बताए । सुरक्षा चुनौतीविरुद्ध लड्न कस्तो रणनीति तयार गर्ने भन्नेबारे छलफल भएको बताउँदै उनले भने, ‘आतंकवादीहरूको चहलपहल र वन्यजन्तु तस्करी रोक्न सामूहिक सहकार्यको खाँचो छ ।’
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आतंकवादको कुनै देश र भूगोल नहुने उल्लेख गर्दै त्यसविरुद्ध लड्न प्रविधिको उन्नत विस्तार र बलियो सहकार्य आवश्यक रहेको बताए । उनले सम्मेलनले इन्टरपोल सदस्य राष्ट्रबीच थप सहकार्यको बाटो खोलेको बताउँदै भने, ‘नेपालमा अपराध गरेर विदेशमा लुक्नेहरू सुरक्षा खतरा हुन् र तिनलाई पक्रिन इन्टरपोलले सहयोग गर्नेछ ।’


0 comments
प्रतिकृया दिनुहोस