श्रम स्वीकृतिमा कर्मचारीको लापरबाही पुष्टी, सात कर्मचारीलाई कारबाही हुने

उज्यालो ।
काठमाडौं, माघ ५– वैदेशिक रोजगार विभागका सात जना कर्मचारीले श्रम स्वीकृति दिँदा लापरबाही गरेको पुष्टि भएको छ । श्रम स्वीकृति बारे छानविन गर्न बनेको समितिले विभागको ताहचल कार्यालयका कर्मचारीले गल्ती गरेको पुष्टि गर्दै सोमबार प्रतिवेदन बुझाएको हो । छानविन समितिले लापरबाही गर्ने सात जना कर्मचारीलाई कारबाही गर्न समेत सुझाव दिएको छ ।
समितिले ताहचल कार्यालयका शाखा अधिकृत हरिप्रसाद देवकोटा, डिकप्रसाद दाहाल, निर्वाणकुमार भट्टराई, मोहन कुमार थापा र इन्द्रबहादुर शाखकर्र्मीले लापरबाही गरेको ठहर गरेको हो । यस्तै कम्पयुटर अपरेटर वेदनाथ खतिवडा र केशवराज ढुंगानाको समेत संलग्नता देखिएको छ ।
उनीहरुलाई यसअघि नै मन्त्रालय झिकाएर छानविन थालेको थियो । उनीहरुलाई विभागीय कारबाही गरिने मन्त्रालय श्रोतले जनाएको छ ।
अध्यागमन विभागले रोकेका महिला पहिलो पटक विदेश जान लागेको पुष्टि भएपनि विभागले पुनः श्रमस्वीकृतिको स्टीकर लगाइदिएको समितिले जनाएको छ ।
कुनै पनि कागजातमा उनीहरु यस अघि विदेश गएको नपाइएपनि कर्मचारीले लापरबाही गर्नु ठुलो गल्ती भएकाले कारबाही गर्नै पर्ने छानविन समितिको प्रतिवेदनमा उल्लेख छ ।
सरकारले महिलालाई घरेलुकामदारका रुपमा पठाउन रोक लगाएका देशमा पनि विभागकै कर्मचारीको मिलेमतोमा गएको पुष्टि भएको हो । लापरबाही गर्ने सात कर्मचारीले भने सेवा ग्राहीको चापका कारण त्रृटी भएको छानविन समितिलाई स्पष्टिकरण दिएको समितिका संयोजक तथा श्रम तथा रोजगार मन्त्रालयका सुचना अधिकारी श्यामराज अधिकारीले जानकारी दिनुभयो ।
दुई हप्ताअघि पहिलो पटक वैदेशिक रोजगारीमा जान लागेका महिलालाई पुनः श्रमस्वीकृति दिएको भन्दै अध्यागमन विभागले छानविन गर्न श्रम तथा रोजगार मन्त्रालयलाई पत्रचार गरेको थियो ।
श्रम तथा रोजगार मन्त्रालयले सुचना अधिकारी श्यामराज अधिकारीको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको थियो ।

0 comments

प्रतिकृया दिनुहोस