चीन र भारतसँग बराबरी सम्बन्ध जरुरीः ओली
झापाको दमकमा बोल्दै एमाले अध्यक्ष ओली ।
दमकः पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीन र भारतसँग बराबरको सम्बन्ध जरुरी रहेको बताएका छन् । झापाको दमकमा हिमशिखर रेडियोको उद्घाटन गर्दै उनले उत्तरतीर चीन र दक्षिणमा भारतसंगको बराबर सम्बन्ध कायम गर्न नसके नेपालमा आर्थिक विकास संभव नभएको बताए ।
आफ्नो सरकारका पालामा भारतसंग गरेको सम्झौताको स्मरण गर्दै पूर्व प्रधानमन्त्री ओलीले अब बंगलादेशसँगको व्यापार पनि सहज हुने विश्वास व्यक्त गरे । नेपालले कोलकाता बन्दरगाह मात्र प्रयोग गरिरहेको सन्दर्भमा विशाखापटनम बन्दरगाह पनि प्रयोग गर्न पाउने सम्झौताले नेपालको आर्थिक विकासले निकै ठूलो फड्को मार्ने उनले बताए । ओलीले भने, 'त्यो सम्झौता चानचुने सम्झौता होइन । त्यसले हाम्रो आर्थिक विकासमा निकै ठूलो सहयोगी साबित हुनेछ ।'
पूर्वी नेपालको संखुवासभाको किमाथाङ्काबाट चीन जोड्नका लागि चीनसंग पनि सम्झौता भएकैले अहिले बाटो निर्माण भइरहेको उनले बताए । पूर्व प्रधानमन्त्री ओलीले भने, 'उत्तरतिर चीन र दक्षिणमा भारतसंग बाटोले जोडिएको खण्डमा नेपाल व्यापारको ट्रान्जिट पोइन्ट बन्छ । त्यो हाम्रो फाइदाको कुरा हो । नेपालको आर्थिक विकासका लागि त्यो कोसेढुंगा सावित हुनेछ ।' उनले नेपालका आर्थिक विकासका लागि उत्तर दक्षिण दुईतिरै समदुरीको सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिए ।
तर नेपालका केही राजनीतिक दलले जातीय अराजकता फैलाउन खोजेर नेपालको आर्थिक विकासमा भाँजो हाल्न खोजिएको ओलीको आरोप थियो । उनले केही तराई केन्द्रित दलहरुले 'पहाडि नस्लबाद' संज्ञा दिएर पहाड र तराईका जनतामाझ फाटो ल्याउन खोजिएको बताए । उनले भने, 'पहाडि नस्लबाद भनेको के हो? मैले अहिलेसम्म नसुनेको शब्द सुन्दैछु अचेल । त्यसैलाई पछ्याउँदै पढेलेखेका मानिसहरु दगुरेको देख्दा मलाई अचम्म लागेको छ ।'
नेपालमा राजनीतिक मात्र नभइ सामाजिक तथा आर्थिक संक्रमण काल चलिरहेको उनले बताए । ओलीले राजनीतिक परिवर्तनका साथै सामाजिक तथा आर्थिक परिवर्तनको खाँचो रहेको बताए । उनले मुलुकका हरेक परिवर्तनमा आमसञ्चार जगतको अतुलनीय योगदान रहेको समेत बताए । उनले समाजमा रहेका बिकृति तथा भ्रष्टाचार बिरुद्धको खबरदारीमा पत्रकारहरुको निरन्तर कलम चल्नुपर्नेमा जोड दिए ।


0 comments
प्रतिकृया दिनुहोस