‘झलक दिखला जा’ जितिन् तेरियाले
माघ ७, २०७३- नेपाली किशोरी तेरिया फौजामगरले भारतीय सिनियर डान्स स्टारबीचको ठूलो प्रतिस्पर्धामा उपाधि कब्जा गर्न सफल भएकी छन् । रुपन्देही रुद्रपुरकी १४ वर्षीया तेरियाले भारतीय टेलिभिजन कलर्सको ‘झलक दिखला जा’ को रियालिटी सोको उपाधि जितेकी छन् । फाइनलमा नृत्यसँगै एसएमएस भोटिङद्वारा विजेता छानिएको थियो । एसएमएसमा सबै प्रतिस्पर्धीलाई पछि पार्दै उनी ट्रफीको हकदार बनेकी हुन् ।
तेरियाको औपचारिक जितको घोषणा भने शनिबार राति १० बजेपछि कलर्स च्यानलमार्फत हुनेछ । यद्यपि शुक्रबार अपराह्न नै एसएमएस भोटिङको नतिजा निस्केको र आयोजकले उपाधि जितेको औपचारिक जानकारी गराएको मुम्बईमा रहेकी तेरियाले हजुरबुबा कृष्ण फौजामगरलाई फोनमार्फत जानाकारी दिएकी छन् । जितको खुसीसँगै समर्थक सबै नेपालीप्रति कृतज्ञता जनाएको पनि हजुरबुबाले बताए ।
हजुरबुबा कृष्ण तेरिया मगर फाउन्डेसनका अध्यक्ष हुन् । उनले नै ‘तेरिया जिताऔं अभियान’ चलाएका थिए । तेरियालाई उनले ३ वर्ष अघिसम्म रुद्रपुरबाट ४५ किलोमिटर टाढा बुटवलमा दिनहँु नृत्य सिकाउन ल्याउँथे । पछि यही यही क्षेत्रमा लगाए । नातिनीको जितको खबरसँगै उनी र तेरियाका समर्थकले खुसी साटासाट गर्न थालेका छन् । फाउन्डेसनका उपाध्यक्ष तथा बागेश्वरी संगीतालयका निर्देशक सुरेश सेन्चुरीले बुटवलबाट डान्स करिअर सुरु गरेकी तेरियाको जितले नेपाली प्रतिभालाई पुन: विश्वमाझ चिनाएको बताए ।
डान्स प्रतियोगिता विजेताबीच प्रतिस्पर्धा गराउने ‘झलक दिखला जा’ भारतीय टीभी सोमा सर्वाधिक पुरस्कार राशिको हो । जितसँगै तेरियाले ३० लाख भारतीय रुपैयाँ र रेनाल्ड डस्टर ब्रान्डको कार उपहार पाउनेछिन् । सन् २०१४ को जी टीभीको ‘डीआईडीमा’ ४० हजार प्रतिस्पर्धीलाई पछाडि पारेकी तेरिया डीआईडी विजेताका तर्फबाट यसमा प्रवेश पाएकी हुन् । गत जुलाईमा प्रतियोगिता सुरु भएको थियो । त्यसमा १२ जोडी सिनियर महिला पुरुष डान्स सेलिब्रिटी छनोट भएका थिए । तेरियासहित ५ जना जुनियरलाई भने अक्टोबर ८ मा च्यालेन्जरका रूपमा प्रवेश गराइएको थियो । च्यालेन्जरका रूपमा प्रवेश पाएकामध्ये तेरिया मात्रै फाइनलमा पुगेकी थिइन् ।
फाइनलमा उनले ‘डीआईडी’ सिजन १ का विजेता तथा ‘झलक दिखला जा’ का पूर्वविजेता सलमान युसुफ खान र वल्ड हिपहपका च्याम्पियनसिपका विजेता सानतनु महेश्वरीसँग प्रतिस्पर्धा गरेकी थिइन् । फाइनलमा रहेका तीन जनामध्ये नृत्यमा तेरिया अगाडि थिइन् । गत शनिबारको एपिसोडमा पनि उनले निर्णायकका तर्फबाट ४० अंकमा ४० पाएकी थिइन् । ‘भोटमा समेत सबैलाई जितिन्,’ हजुरबुवा कृष्णले भने, ‘नेपाली चेलीले यति ठूलो ट्रफी उचाल्ने भइन् ।’ डीआईडी लिटिल मास्टर विजेता भएपछि तेरियाले नेपाली झन्डासहित देशविदेशमा आफ्नो नृत्य देखाएर देशको नाम राखेकी थिइन् । यसबाट प्रभावित स्वदेश तथा विदेशमा रहेका नेपालीले ‘तेरिया जिताऔं अभियान’ सहित एसएमएस तथा इमेल भोटिङ अभियान थालेका थिए ।


0 comments
प्रतिकृया दिनुहोस