पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल राजतन्त्रकालमा आफूमाथि पूर्वाग्रही ढंगबाट भ्रष्टाचारको मुद्दा लगाइएको दाबी गर्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दा उनले सर्वोच्च अदालतबाट जितिसकेका छन् । तत्कालीन अवस्थामा दरबार र गृहमन्त्री वामदेव गौतमका कटु आलोचक थिए खरेल । उनीसँग नेपालका लागि नेपालले गरेको कुराकानीको सम्पादित अंश :
शक्तिमा रहेको मान्छेलाई अवकाशपछि दिन बिताउन कत्तिको गाह्रो हुने रहेछ ?
नेतृत्व दुई किसिमले प्राप्त भएको हुन्छ, एउटा लादेर र अर्काे आफ्नै बुतामा । म लादेर प्रहरीको महानिरीक्षक (आईजीपी) भएको मान्छे होइन । आफ्नै बुतामा भएको हुँ । अवकाश पाएपछि जीवन जिउने एउटा कला आफू पदमा रहँदा गरेका कामप्रतिको सन्तुष्टि पनि हो । मैले आफ्नो जीवनमा जे जे देखेँ, त्यो लेखिसकेको छु– इन्सपेक्टरका रूपमा चितवनमा लेखेँ । डीएसपी हुँदा भैरहवामा लेखेँ र डीआईजी हुँदा पोखरामा लेखेँ । आफ्नो जीवनमा लेखिएका तिनै कामले मलाई सन्तुष्टि दिन्छ । र, त्यसैले मलाई दिन बिताउन गाह्रो छैन ।
यो त अलिक मपाईंत्व भएन र ?
मपाईंत्व नै भन्नूस्, केही छैन । पद मात्र पाउँदैमा ठूलो हुने भए जनताले प्रचण्डलाई ठूलो भन्थे होलान् । केपी ओली र शेरबहादुर देउवालाई भयंकर मान्थे होलान् । बाबुराम भट्टराईलाई वाहवाह गर्दा हुन् । यिनलाई गरेका छन् त जनताले यस्तो ? छैनन् । बरू, म आत्मसम्मानका साथ बसेको छु । कसैले प्रश्न उठाउन त सकेको छैन नि !
अख्तियारले तपाईंविरुद्ध पनि मुद्दा दायर गरेको होइन र ?
हो, गर्यो । तर, किन गर्यो भन्ने कुरा बुझ्ने प्रयास तपाईं मिडियाहरूले कहिल्यै गर्नुभयो ? सायद राजतन्त्र रहिरहेको भए अहिले पनि ममाथि मुद्दा लाग्दो हो ।
आज भन्नूस् न त !
मैले किन भन्नुपर्यो ! ममाथि लगाएको आरोप सत्य थियो कि असत्य भन्ने कुरा अदालतले भनिसक्यो नि ! अदालतले मलाई जिताइसक्यो । त्यसैले मैले बोल्नुपर्ने नै छैन । सबै कुरा अदालतले बोलिसकेको छ । यो देशका कतिपय राजनीतिक मानिसविरुद्ध मुद्दा नै चलेको छैन । तिनलाई तपाईं इमानदार मान्नुहुन्छ ? किंवदन्ती नै छ नेपालीमा– नचिनेको चोर बाबुबराबर ।
तपाईंको अनुभवमा को नेता कस्तो लागे ?
यो कुरा व्यक्तिगत अनुभवका आधारमा भन्नुपर्ने हुन्छ । प्रहरी महानिरीक्षकका रूपमा मैले प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसँग पनि काम गरेँ । उहाँ अत्यन्त नैतिकवान् र आदर्शमा अड्ने मान्छे । मनमोहन अधिकारीसँग एकाधपटक भेटेँ । उहाँ पनि अत्यन्त सम्मानित व्यक्तित्व । गिरिजाप्रसाद कोइरालालाई पनि हेरेँ । उहाँले कहिल्यै पनि प्रहरी संगठनमा हस्तक्षेप गर्नुभएन । बरू, स्वतन्त्रता दिनुभयो ।
जे चाहेको हो त्यही गरिदिएपछि किन हस्तक्षेप गर्नुपर्यो त ?
त्यो हुँदै होइन । सुरक्षासम्बन्धी विशेषज्ञ राजनीति गरेर प्रधानमन्त्री वा गृहमन्त्री हुन सक्छ कि लामो समय सुरक्षा निकायमा नै काम गरेको मान्छे हुन सक्छ ? प्रहरी संगठन चलाउने दायित्व महानिरीक्षकको हो भन्ने कुरा गिरिजाबाबुले राम्रोसँग बुझ्नुभएको थियो ।
गैरकांग्रेसी प्रधानमन्त्री/गृहमन्त्रीसँग तपाईंको झगडा पर्नुको कारणचाहिँ के थियो ?
तपार्इंलाई थाहा छैन– खुमबहादुर खड्का गृहमन्त्री हुँदा कैयौँ दिनसम्म हाम्रो बोलचाल नै थिएन भन्ने कुरा ?
राजनीतिक नेतृत्वसँग सम्बन्ध राम्रो बनाउनु प्रहरी महानिरीक्षकको दायित्व हो कि होइन ?
प्रहरी महानिरीक्षकका रूपमा जे दायित्व निर्वाह गर्नुपर्ने हो, त्यो मैले निर्वाह गरेँ । पदमा छँदा सधैँ लक्ष्मण–रेखाभित्रै रहेँ । तर, म मात्र लक्ष्मण–रेखाभित्र बसेर नहुने । गृहमन्त्रीहरू पनि लक्ष्मण–रेखाभित्र नबस्दा त्यस्तो परिस्थिति सिर्जना हुने रहेछ । खुमबहादुरजी, वामदेवजी गृहमन्त्री हुँदा त्यस्तै भएको हो ।
कस्तो ?
वामदेवजी गृहमन्त्री छँदा मलाई प्रहरी महानिरीक्षकबाट गुप्तचर विभागमा सरुवा गर्नुभयो । त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा के के घटना भए ? सुन तस्करी कसरी मौलायो ? त्यो थाहा पाउनूस् । अनि, कमजोरी कसको रहेछ, तपाईं आफैँले थाहा पाइहाल्नु हुन्छ ।
सुन तस्करीकै लागि प्रहरी महानिरीक्षकबाट हटाउनुभएको हो त वामदेवले ?
बिलकुल हो । नत्र नेपालको इतिहासमा कहिल्यै नभएको निर्णय किन लिनु पर्या’थ्यो त ? कि कारण देखाउनु पर्यो । म त ‘करिअर’बाट आएको मान्छे थिएँ, रोलक्रम र वरिष्ठताका आधारमा महानिरीक्षक भएको थिएँ । यसरी आएको मान्छेको कि परीक्षण गरेको भए हुन्थ्यो, त्यसमा असफल भएपछि चाहिँ हटाएको भए हुन्थ्यो ।
०५६ मा वामदेवलाई हराएर बदला त लिनुभयो नि, होइन ?
एकातिर वामदेवले पार्टी फुटाउनुभएको थियो । अर्काेतिर, उहाँका त्यतिबेलाका अभिव्यक्ति हेर्नूस्, माओवादीको पक्षमा बोल्नुहुन्थ्यो । तर, उहाँविरुद्ध कांग्रेसले त्यस्ती महिलालाई उम्मेदरवार बनायो, जसको पतिलाई माओवादीले हत्या गरेका थिए ।
कांग्रेसले माओवादीबाट मारिएका कार्यकर्ताकी श्रीमतीलाई उम्मेदवार बनाउने अनि वामदेवचाहिँ माओवादीको पक्षमा बोल्दै हिँड्ने । त्यो परिस्थितिमा ती विधवा महिलाले भावनात्मक भोट पाइन्, वादेवलाई जितिन् । भएको यत्ति हो ।
दरबारसँगको सम्बन्धका दुई भाग छन् । पहिलो भाग, मप्रति राजा वीरेन्द्रको एकदम सद्भाव थियो । मलाई प्रहरी महानिरीक्षकबाट हटाउने कुरा आइरहेको थियो । मैले राजाको दर्शनभेट मागेँ । दर्शनभेटमा राजा आफैँले कुरा उप्काउनु भयो, ‘वामदेव (गृहमन्त्री)ले तिमीलाई हटाउने भन्छ । त्यो लोकेन्द्रबहादुर चन्द (प्रधानमन्त्री) पनि कस्तो मान्छे ? उसलाई रोक्ने काम चन्दको होइन ? मैले त त्यस (वामदेव)लाई प्रहरी महानिरीक्षकलाई हटाउनु हुन्न भनेर पठाएको छु । प्रहरी भनेको त संस्था हो नि ! यस्ता संस्थाका प्रमुखलाई चलाउनु हुन्न । चलायो भने संस्था कमजोर हुन्छ ।’
तर, सेना र दरबारकै कारण प्रहरीले आधुनिक हतियार पाएन भनेर किन आरोप लगाउने गर्नुभएको त ?
यो विषयचाहिँ दरबारसँगको सम्बन्धको दोस्रो भागमा पर्छ । प्रहरीले आधुनिक हतियार नपाउनुमा नेपाली सेना र प्रहरीबीचको सम्बन्धको ऐतिहासिक पक्षले काम गरेको छ । यसमा तत्कालीन राजनीतिले पनि काम गरेको छ । यति छोटो कुराकानीमा प्रस्ट हुन्न यो कुरा ।
यहाँ के मात्र भन्छु भने नेपाल प्रहरीप्रति पनि र मप्रति पनि राजा वीरेन्द्रको उत्तिकै सद्भाव थियो । नत्र म एउटा नाथे आईजीपी । राजाले गृहमन्त्रीलाई गाली गरेर पठाएको कुरा किन भन्नुपथ्र्याे मलाई ? राजाको मप्रति विश्वास र सद्भाव नरहेको भए त्यस्तो कुरा मसँग गर्नुहुन्थ्यो ?
सेनामा कम राजनीतिक हस्तक्षेप, प्रहरीमा चाहिँ धेरै । किन यस्तो भयो ?
यसमा फेरि दरबार नै जोडिएर आउँछ । राजतन्त्र छँदासम्म सेनाको कमान्डर को ? राजा । त्यसैले पार्टीहरूले सेनामा चलखेल गर्न पाएनन् । र, सेना राजनीतीकरणबाट बच्यो । तर, प्रहरीको राजनीतिक नेतृत्वचाहिँ गृह मन्त्रालयले लियो ।
०४७ पछि कस्ता कस्ता पात्र गृहमन्त्रीका रूपमा आए, आएका छन्– त्यो हेर्नुभयो भने यो प्रश्नको उत्तर आफैँ पाइहाल्नु हुन्छ । नेतृत्वको स्रोत नै फोहोर भएपछि धारामा कसरी सङ्लो पानी आउँछ ? प्रहरीको राजनीतिक नेतृत्वको स्रोत पनि त्यस्तै फोहोर भयो, त्यसैले प्रहरीमा अति राजनीतीकरण भयो ।
त्यो फोहर सफा गर्न राजनीतिमा जाने योजना छैन ?
कहिल्यै छैन । वामदेवले महानिरीक्षकबाट निकाल्दा कतिपय मान्छे मलाई ‘नेपाली कांग्रेसमा जान्छ’ भन्थे । तर, म व्यावसायिकता भन्दा कहिल्यै बाहिर नगएको मान्छे । पञ्चायतका बेला पनि मैले सिस्टमभित्र रहेर काम गरेँ । बहुदल आएपछि पनि मैले प्रजातान्त्रिक व्यवस्थाले अंगीकार गरेको सिस्टम अन्तर्गतै काम गरेँ । मैले कांग्रेसका लागि काम गरेको थिएँ भने त्यही कांग्रेसले मेरो पदावधि सकिनुभन्दा दुई महिनाअघि नै किन राजीनामा लेख्ने परिस्थिति बनायो त ?
किन त ?
किनभने, कांग्रेसले राजासँग ‘कम्प्रोमाइज’ गर्यो, सेनाको ‘प्रेसर’मा । गिरिजाबाबुले नै त्यो परिस्थिति सिर्जना गर्नुभयो । अनि, म कसरी गिरिजाबाबुको मान्छे भएँ ?
उहाँले भन्दैमा राजीनामा किन दिनुभएको त ?
दुनै काण्डमा तत्कालीन गृहमन्त्री गोविन्दराज जोशीले सेनालाई नराम्रोसँग ‘एक्सपोज’ गरिदिनु भयो । मैले प्रधानमन्त्री गिरिजाबाबुलाई सोधेँ, ‘तपाईं प्रहरीलाई कात्तिक १२ (०५७) भित्र हतियार दिन सक्नुहुन्छ कि सक्नुहुन्न ?’ किनभने, प्रहरीका लागि हतियार ल्याउने कुरा ‘ प्रोसेस’मा थियो । त्यो मितिभित्र हतियार दिन्छु भनेर मैले प्रहरी संगठनभित्र भनेको थिएँ ।
तर, सेनाले चिट्ठी पठाएको रहेछ, प्रहरीलाई आधुनिक हतियार दिनुहुन्न भनेर । गिरिजाबाबुले भन्नुभयो, ‘सक्दिनँ, सेनाबाट यस्तो चिट्ठी आएको छ ।’ अनि, मैले भनेँ, ‘हतियार नदिने भए अर्काे आईजीपी खोज्नूस्, म राजीनामा दिन्छु ।’ त्यसपछि मैले राजीनामा दिएँ ।


0 comments
प्रतिकृया दिनुहोस