‘महिलाको हकमा नेपालले निकै फड्को मारेको छ’

काठमाडौँ, १२ माघ । सभामुख ओनसरी घर्तीसँग मोरिससका पूर्वराष्ट्रपति एवम् वल्र्ड लिडरसिप एलायन्स क्लब दि म्याड्रिडका उपाध्यक्ष कासाम उत्तिमको नेतृत्वमा नेपाल भ्रमणमा रहेका टोलीले शिष्टाचार भेट गरेको छ ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा आज बिहान भएको भेटमा उनीहरुबीच द्वन्द्व समाप्तिपछि समाजका सबैपक्षलाई कसरी समान अवसर दिएर अघि बढ्न सकिन्छ भन्नेबारेमा अनुभव आदानप्रदान भएको थियो ।

भेटका अवसरमा सभामुख घर्तीले नेपालको संविधानका प्रमुख विशेषताकाबारेमा जानकारी गराउँदै कठिन अवस्थालाई पार लगाएर नेपालले अब विकास र समृद्धिको बाटो तय गरिसकेको बताए ।

सो अवसरमा पूर्व राष्ट्रपति कासामले महिलाको हक अधिकार स्थापित गर्ने कार्यमा नेपालले निकै फड्को मारेकोमा त्यसको प्रशंसा गरेको सभामुख घर्तीले जानकारी दिए ।

कासामले भने, ‘संसारका विकसित भनेका देशमा पनि तपाईंहरुको जस्तो महिलाको हक स्थापित हुन सकेको छैन, महिलाका कतिपय हकलाई अझै पनि उनीहरुले स्वीकारेको कुरा पनि परिणामले देखाउँदैन ।’

उक्त क्लबले विश्वभरका अल्पसङ्ख्यक समुदाय जो पछि परेका छन् उनीहरुलाई विकासको प्रवाहमा ल्याउन कसरी अघि बढाएर अवसर दिलाउने भन्ने सन्दर्भमा राज्य र अरु निकायसँग मिलेर काम गर्दै आएका छन् ।

दश वर्षको सशस्त्र द्वन्द्वबाट नेपाल पनि भर्खरै शान्ति प्रक्रियामा अघि बढिरहेको अवस्थामा पछि परेका तथा विगतको द्वन्द्वबाट प्रभावित समुदायलाई के कसरी सम्बोधन गर्न सकिन्छ भन्ने आफ्नो अनुभव बाँड्न तथा त्यसका लागि मिलेर कार्यक्रम बनाएर काम गर्न चाहेको कुरा पनि टोलीले सभामुखसमक्ष जानकारी गराएको छ ।

शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने सिलसिलामा थुप्रै मेहनत गरेको, सबैखाले कठिनाइलाई पार गरेर एउटा प्रक्रियामा अघि बढ्दै नेपालको शान्ति प्रक्रिया यहाँ आइपुगेको हुँदा अब सरासर हिँड्ने बाटो तय गरिसकेको सो अवसरमा सभामुखले टोलीलाई जानकारी गराए । रासस

0 comments

प्रतिकृया दिनुहोस