दीपेन्द्र अरूको पीडामा रमाउँथे
काठमाडौँ । राजा वीरेन्द्र पनि सिकारका सौखिन थिए । समय मिलाएर देशका विभिन्न स्थानमा मुकाम खडा गरेर सिकार खेल्ने आफनो सोख उनी पूरा गर्ने गर्दथे । तर, सिकारमा क्रममा पनि वीरेन्द्र विवेक प्रयोग गर्न चाहन्थे । सकेसम्म वृद्ध र अशक्त जनावरहरूको सिकार हुनुपर्छ भन्ने उनको धारणा थियो ।
एकपटक सिकारका क्रममा अधिराजकुमार धीरेन्द्रले एउटा जवान चित्तललाई गोली हानेर ढालेपछि वीरेन्द्रले भनेका थिए, ‘भाइ यो जनावर धेरै स्वस्थ देखिन्छ, तिमीले यसलाई मार्नुहुँदैनथ्यो, यसले कति ठूलो संख्यामा स्वस्थ बच्चा पैदा गराउन सक्थ्यो । सिकार गर्दा बूढा, अशक्त र एक्लिएका जनावरहरूको मात्र गर्नुपर्छ ।’यस्ता पिताका सन्तान दीपेन्द्रमा भने बाल्यकालदेखि नै कठोर गुणझल्कने गर्दथ्यो ।
बर्दियामा मुकाम खडा गरेर राजा वीरेन्द्र विक्रम संवत् २०३८ (सन् १९८१) मा सिकार खेल्न गएका थिए । उनीस“गै युवराज दीपेन्द्र, अंगरक्षक र डा. सच्चेकुमार पहाडी पनि बर्दिया मुकाममा थिए । राजा वीरेन्द्र सिकारका लागि जंगलभित्र यताउता जाँदा डा. पहाडी र शाही अंगरक्षक टीका धमला युवराज दीपेन्द्रसँगै रहने गर्दथे । त्यसरी बस्नुपर्दा दीपेन्द्र जंगलभित्र पनि ‘यताउता’ गरिरहन रुचाउँथे ।
खासगरी खोलाको किनारतिर घुम्न खुब मन पथ्र्यो उनलाई । एकपटक खोलाको वरिपरि डुल्ने क्रममा बालक दीपेन्द्रको आँखा पानीमा खेलिरहेका माछाका भुरामाथि प¥यो । त्यसपछि टीका धमला र डा. पहाडीलाई उनले माछा समातेर ल्याइदिन आग्रह गरे ।
‘पक्रनुहुन्न सरकार, माछा पानीबाहिर बाँच्न सक्दैनन् । प्रकृतिका सुन्दर उपहार हुन् यी माछा, हेरि बक्स्योस् त, कति रमाइलोसँग खेलिरहेका छन्,’ धमलाले भने ।डा. पहाडीले थपे, ‘हो सरकार, यिनलाई पानीमै रहन दिनुपर्छ ।’पहाडी र धमलाले आनो इच्छा पूरा नगर्ने संकेत दिएपछि दीपेन्द्र निकै क्रूद्ध बने र भने, ‘म बुबालाई भनिदिन्छु, तिमीहरूले मलाई वास्ता गरेनौ भनेर ।’
दीपेन्द्रको निरन्तर जिद्दीका अगाडि उनीहरूको केही चलेन । अन्ततः कपडाले छेकबार लगाउँदै धमला र पहाडीले साना माछाहरू पक्रिएर जिउँदै दीपेन्द्रसमक्ष पेस गरिदिए ।
तर, त्यतिले मात्रै दीपेन्द्रको इच्छा पूरा भएन । बडो जिज्ञासु भावमा दीपेन्द्रतर्फ हेरेर उभिइरहेका डा. सच्चेकुमार पहाडीलाई दीपेन्द्रले ‘माछालाई इन्जेक्सन लगाइदिनू’ भन्न थाले ।
राजाका सन्तान भए पनि बालसुलभ व्यवहार दीपेन्द्रमा रहनु स्वाभाविक थियो । उनको हठका सामु डा. पहाडी टिक्न सकेनन् र युवराजको खुसीका लागि एउटा जिउँदो माछालाई हातमा लिएर उनले इन्जेक्सन लगाइदिए । पानीबाट बाहिर निकालिएको माछामा त्यसै पनि जीवन–मरणको तड्पन छँदै थियो । मानिसलाई लगाइने इन्जेक्सन दि“दा माछामा अन्तिम छटपटाहट पैदा हुन्थ्यो र प्राण त्याग पनि गरिहाल्थ्यो ।माछाले त्यसरी बीभत्स किसिमबाट मृत्युवरण गर्दा दीपेन्द्र निकै खुसी भएर अट्टाहास गर्ने गर्दथे ।
दीपेन्द्रका लागि जिउँदो माछा समात्ने र इन्जेक्सन दिने क्रम बर्दिया सिकार मुकाम कायम रहँदासम्म चलिरह्यो । माछाले निर्मम मृत्युवरण गर्दा सधैं दीपेन्द्रले खुसियाली र प्रसन्नता मात्र प्रकट गरिरहे । त्यति सानो उमेरका व्यक्ति (बालक) त्यसरी बीभत्स दृश्यमा रमाउँदा त्यहाँ उपस्थित सबैजसोले उनी परपीडक भएको महसुस गरेका थिए ।
हस्तरेखा विशेषज्ञहरूको विश्लेषणअनुसार दीपेन्द्रमा परपीडक स्वाभाव रहनु स्वाभाविक थियो । दीपेन्द्रको दुवै हातका बूढीऔंलामा नङहरू सामान्य थिएनन् । उनका बूढीऔंलाहरू पछिल्तिर नझुकी सीधा थिए र माथिल्लो (टुप्पो) भाग गोलाकार नभई राम्रैसँग थेप्चिएका थिए । दुवै औंलाका नङहरू दायाँबायाँ फैलिएका (इँटा आकारमा) र गोलाकार शून्य थिए ।
दायाँबायाँ लम्बाई धेरै र गोलाइविहीन चौडाइ कम भएको नङ शुभ मानिँदैन । यस विषयका विज्ञहरू थेप्चिएको बूढीऔ“ला र दायाँबायाँ फैलिएका इँटा आकारको नङ भएका व्यक्तिलाई कहिल्यै विश्वास गर्न नसकिने ठान्दछन् । त्यस्ता मानिस परपीडक हुन्छन् भन्ने शास्त्रको भनाइ छ । युवराज दीपेन्द्रमा शास्त्रले परपीडक जनाउने नङ मात्र थिएन, त्यसलाई पुष्टि गर्ने स्वभावसमेत रहेको महसुस उनीस“गै रहनेहरू गर्दथे ।
(त्रिपाठीद्वारा लिखित उपन्यास ‘महानिशा’को अंश)


0 comments
प्रतिकृया दिनुहोस