सरकारको लक्ष्यमा सहयोग गर्न आग्रह

काठमाडौँ, ७ माघ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउने सरकारको लक्ष्यलाई सहयोग गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन् ।

कृषि विकास बैंकको स्वर्णजयन्ती समारोहलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै उनले ‘एक व्यक्ति एक बैंक खाता’ कार्यक्रममार्फत सबै नेपालीमा बैँकिङ पहुँच पुपुर्‍याउनुपर्ने बताए ।

मुलुक आर्थिक सङ्क्रमणमा रहेकाले सबै निकायको समन्वयमार्फत मात्र मुलुकको अर्थतन्त्र सही बाटोमा आउने बताउँदै अर्थमन्त्री महराले त्यसका लागि सरकारी एवम् निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्ने सबैभन्दा ठूलो सञ्जाल भएको कृषि विकास बैंकलाई आधुनिकतातर्फ अगाडि बढाउनका लागि व्यवस्थापनले ध्यान दिन निर्देशन दिँदै उनले अगामी दिनमा आर्थिक विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले वित्तीय एवम् गैरवित्तीय परिसूचकलाई थप सवल बनाउँदै व्यावसायिकीकरणको माध्यमबाट आर्थिक एवम् गरिबी घटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बैंकले गत आव २०७२/७३ मा रु दुई अर्ब ५७ करोड नाफा गर्न सफल भएको थियो भने रु एक खर्ब १६ अर्ब ३० करोड कुल दायित्व निर्वाह गरेको थियो । सोही अवधिसम्म आइपुग्दा बैंकले रु १० अर्ब निक्षेप सङ्कलन गरी रु ११ अर्ब ११ करोड कर्जा प्रवाह गर्न सफल भएको छ भने खराब कर्जालाई ३.८५ प्रतिशतमा कायम गर्न सफल भएको छ ।

सो समारोहमा बैंकको स्वर्ण स्मारकको अनावरण गरिएको थियो भने बैंकिङ क्षेत्रका विज्ञका लेखको सङ्गालो स्वर्णजयन्त्री विशेषाङ्क लोकार्पण गरिएको थियो । त्यसैगरी २० तथा २५ वर्ष सेवा गरेका बैंकका कर्मचारी एवम् राष्ट्रियस्तरमा योगदान पु¥याउने पूर्व कर्मचारीलाई सम्मान गरिएको थियो । रासस

0 comments

प्रतिकृया दिनुहोस