चिनियाँ कम्पनीलाई न्यादीको ठेक्का

माघ ६, २०७३- न्यादी नदीमा ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ ।

‘झेज्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन’ कम्पनीले आयोजना निर्माणको जिम्मा पाएको प्रवद्र्धक न्यादी हाइड्रोपावर लिमिटेडले जनाएको हो । प्रवद्र्धक र ठेकेदार कम्पनीबीच भएको सम्झौताअनुसार आयोजनाको निर्माण कार्य २०२० अप्रिल ५ (२०७६ चैत २३) सम्म सक्नेछ ।
ठेकेदारले सिभिल वर्क, हाइड्रो मेकानिकल र इलेक्ट्रोमेकानिकलको तीनवटै कार्य गर्ने सम्झौतामा उल्लेख छ । आयोजना प्रवन्धक उत्तम अमात्यका अनुसार फेब्रअरी १० (माघ २८) बाट ठेकेदार कम्पनीले काम सुरु गर्नेछ । ‘आयोजना निर्माणका लागि अन्तिममा ४ वटा विदेशी कम्पनी छनोटमा परेको थियो ।

तीनवटा चाइनिज कम्पनी र एउटा इटालियन कम्पनीमध्ये झेज्याङले ठेक्का पायो,’ उनले भने । सम्झौता पत्रमा जलविद्युत् आयोजनाका तर्फबाट प्रवद्र्धक कम्पनीका अध्यक्ष राजीव राजभण्डारी र ठेकेदार कम्पनीका तर्फबाट अध्यक्ष लिउ कोछिङले सोमबार हस्ताक्षर गरेको अमात्यले बताए । उनका अनुसार करिब ४ अर्ब ३० करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

आयोजनाका अनुसार लागि जग्गा खरिदको कार्य, पहुँचमार्ग निर्माण, विद्युत् खरिद बिक्री सम्झौता (पीपीए), सुपरीवेक्षण परामर्शदाताको नियुक्ति साथै वित्तीय व्यवस्थापनको कार्य भइसकेको छ । प्राधिकरणसँग ०७२ जेठ १२ गते हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसाको दरले पीपीए भएको छ । आयोजना निर्माणका लागि करिब ६ अर्ब रुपैयाँ लाग्ने भएको छ ।

यसमा बुटवल पावर कम्पनी (बीपीसी) को ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत् विकास कम्पनी (लेडो) को २ दशमलव ७८ प्रतिशत सेयर रहनेछ । आयोजनामा २५ प्रतिशत प्रवद्र्धक आफैंले र ७५ प्रतिशत बैंकले लगानी गर्नेछ । आयोजनाका प्रशासन अधिकृत वासुदेव गड्तौलाका अनुसार एभरेस्ट बैंकको ‘लिडिङ’ मा नबिल बैंक, ग्लोबल आईएमएई, सनराइज, हिमालयन बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीले ऋण लगानी गर्नेछन् ।

आयोजनाले पूर्वाधारमा मात्रै करिब ३७ करोड रुपैयाँ खर्च गरिसकेको जनाएको छ । आयोजना निर्माण हुने विभिन्न ठाउँमा जान ११ किलोमिटर कच्ची सडक, एउटा बेलिब्रिज बनाउनुका साथै आवश्यक जग्गा खरिद गरिसकेको जनाइएको छ । रन अफ रिभर (पानीको बहावमा आधारित) उक्त आयोजनामा २ वटा टर्बाइन रहेछन् । आयोजनाबाट १ सय ६८ दशलमव ६ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुनेछ । बाहुनडाँडा २ नाइँचे माथि ङादी नदीमा बाँध बाँधेर ४ किलोमिटर सुरुङबाट पानी ल्याई बाहुनडाँडा ७ ङादी नदी तीर (ताराचोक जाने बाटो) मा निर्माण गरिने विद्युत् गृहमा पानी खसालेर विद्युत् उत्पादन गरिनेछ । आयोजनाको ग्रसहेड ३ सय ३६ दशमलव ५ मिटर उचाइ छ । भीरपुस्तुन मुनिको नानासम्म भूमिगत सुरुङबाट ल्याइएको पानीलाई करिब ८ सय मिटरको पेनस्टक पाइपबाट सीधै विद्युत् गृहमा खसालिने भएको छ । आयोजनाबाट उत्पादिन विद्युत् केन्द्रीय प्रसारण लाइनमा जडानका लागि प्रक्रिया अघि बढाइएको आयोजनाले जनाएको छ । उत्पादित विद्युत्, विद्युत् गृह रहेको स्थानबाट ६ किलोमिटर प्रसारण लाइन निर्माण गरी नेपाल विद्युत् प्राधिकरणको प्रस्तावित खुदीस्थित १३२ केभीको ‘हब’ मा जोड्ने आयोजनाले जनाएको छ ।

उक्त आयोजना ९ वर्षअघि नै निर्माणको तयारी गरिएको थियो । साना जलविद्युत् गुरुयोजनाअन्तर्गत सन् १९९३ मा पहिचान भएको न्यादीको क्षमता सुरुमा २ दशमलव ८ मेगावाट थियो । पछि बढाएर २० मेगावाट पुर्‍याइएको थियो । सम्भाव्यता अध्ययन लमजुङ विद्युत् विकास कम्पनी (लेडो) ले गरेको उक्त आयोजनाको २००० मै वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भइसकेको आयोजना स्रोतले बताएको छ । बीपीसीले लेडोबाट उक्त आयोजना सन् २००६ मा लिएको थियो ।

0 comments

प्रतिकृया दिनुहोस