नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भावी आईजीपीको खोजी, को को छन् दौडमा ?

काठमाडौं, ३ माघ । दुवै प्रहरी संगठनमा एक महिनापछि नेतृत्व परिवर्तन हुँदैछ । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राईले फागुन २ गते अनिवार्य अवकाश पाउन लागेका छन् । अनिवार्य अवकाश पाउनु एक महिनाअघि नै बिदामा बस्ने सामान्य प्रचलन छ । तर, दुवै प्रहरी संगठनका आईजीपी बिदामा बसेका छैनन् । २०४४ सालमा प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गरेका र हाल डिआईजी रहेकाहरूबाटै नेपाल प्रहरीको २५औ महानिरीक्षकको चयन हुने छ । हाल प्रहरीमा भावी आईजीपीका लागी चारजना डीआईजी प्रतिस्पर्धामा छन् ।

यसपटक सिधै डीआईजीबाट आईजीपी बन्ने भाग्यमानी ०४४ सालमा प्रहरी सेवामा प्रवेश गरेका निरीक्षकहरू (जो हाल डीआईजी छन्) बन्नेछन् । यसअघि एआईजीमा केही समय काम गरेपछि मात्रै आईजीपी बनाउने प्रचलन थियो । यसपटक डीआईजीहरू नवराज सिलवाल, जयबहादुर चन्द, प्रकाश अर्याल र बमबहादुर भण्डारीमध्ये एक भावी आईजीपी बन्नेछन् । तर, चारैजना आईजीपी बन्ने दौडमा छन् । चारैजना डीआईजी एकैसाथ एआईजी बन्दैछन् । जो १ नम्बरमा छन्, उही आईजीपी हुनेछन् । केन्द्री अनुसन्धान व्युरो (सीआईवी) मा कार्यरत सिलवाल वरीयतामा १ नम्बरका डिआईजी हुन । ट्राफिक महाशाखाको प्रमुख रहेका डिआईजी प्रकाश अर्याल दुई नम्बरमा, लागूऔषध ब्युरोमा कार्यरत डिआईजी जयबहादुर चन्द तीन नम्बर र प्रहरीको विशेष ब्युरोमा कार्यरत डिआईजी बमबहादुर भण्डारी चार नम्बरमा छन् । प्रहरीमा उनीहरू चारैजना एकै दिन २९ चैत २०४४ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । त्यतीमात्र होइन, एसएसपीबाट डीआईजी उनीहरू एकै दिन २०६९ पुस ०४ मा बढुवा भएका थिए । उता, सशस्त्र प्रहरीमा पनि भावी आईजीपीका लागि दौड सुरु भएको छ । आईजीपीका लागि तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बीच तीव्र प्रतिस्पर्धा चलेको छ । एआईजीहरू सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही र प्रकाश ओझा आईजीपीका प्रतिस्पर्धी हुन् ।अर्का एआईजी कृष्णकुमार तामाङ र जितबहादुर पुन आईजीपी राईसँगै अनिवार्य अवकाश पाउनेछन् । ५ भदौ २०७१ मा एकैसाथ बढुवा भएका श्रेष्ठ, शाही र ओझामध्ये एकले अबको सशस्त्र प्रहरी बलको कमान्ड सम्हाल्नेछन् । तीनैजनाको कार्यकाल २८ फागुन २०७४ मा सकिनेछ । सशस्त्र प्रहरी बल स्रोतका अनुसार उनीहरू तीनैजना अहिले आईजीपी हुने कसरतमा लागेका छन् । राजनीतिक लबिङ पनि उनीहरूले चर्कै रूपमा गरेको स्रोतको दाबी छ । उनीहरू यतिबेला विभिन्न सम्पर्क सूत्रमार्फत राजनीतिक दलका नेताहरूको सम्पर्कमा पुगेका छन् । धेरैजसो उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र उनकै पार्टी कांग्रेस सभापति शेरबहादुर देउवालाई सोर्स लगाउन उनीहरूको दौडधुप चलेको स्रोतले जनाएको छ । प्रतिस्पर्धी तीनैजना २९ चैत २०४४ मा नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए । २०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना भएपछि उनीहरू सेवा परिवर्तन गरी सशस्त्र प्रहरीमा आबद्ध भएका थिए । प्रतिस्पर्धी तीनैजनाले राजनीतिक शक्तिकेन्द्रलाई पनि प्रयोग गरिरहेको स्रोतले जनाएको छ । आईजीपीको बढुवासँगै खाली हुने तीन एआईजीका लागि पुष्पराम केसी, उत्तम खड्का, नारायणबाबु थापा, दिवाकर केसी, रामशरण पौडेललगायत छन् । डीआईजी पुष्पराम र उत्तम यसअघि नै बढुवाका प्रमुख दाबेदार रहेका थिए । स्रोतका अनुसार नेपाल प्रहरीको भावी आईजीपीमा नवराज सिलवाल र सशस्त्र प्रहरीको आईजीपीमा सिंहबहादुर श्रेष्ठ गृहमन्त्रीको पहिलो रोजाईमा छन् । -source

0 comments

प्रतिकृया दिनुहोस