समस्या आउने राष्ट्र बैंकको संकेत

काठमाडौंः नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रले अनुत्पादकतर्फ लगानी बढाउँदै लगेको बताएको छ । राष्ट्र बैंकले यस वर्षको मंसिरसम्मको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनमा वित्तीय संस्थाले निजी क्षेत्रतर्फ प्रवाहित गरेको कर्जामा ३०.४ प्रतिशत बढी पुगेको उल्लेख छ । यसमध्ये अधिकांश कर्जा अनुत्पादक क्षेत्रमा गएकाले यसले वित्तीय क्षेत्र अप्ठ्यारोमा पर्न सक्ने राष्ट्र बैंकले संकेत गरेको छ । राष्ट्र बैंकले ओभरड्राफ्ट, सेयर कर्जा, घरजग्गा, हायर पर्चेज कर्जामा गएको रकम उल्लेख्य वृद्धि भएकाले आगामी दिनमा वित्तीय क्षेत्रमा थप समस्या पर्न सक्छ बताएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार चालू आवको मंसिरसम्म बैंक तथा वित्तीय संस्थाबाट १८ खर्ब ३७ अर्ब कर्जा प्रवाह भएको छ । गत आवको अवधिसम्म बैंक तथा वित्तीय संस्थाले कुल १४ खर्ब दुई अर्ब कर्जा प्रवाह गरेका थिए । बैंक तथा वित्तीय क्षेत्रले यस वर्षको पहिलो पाँच महिनासम्म घरजग्गा, सेयर, ओरभड्राफ्टजस्तो अनुत्पादक क्षेत्रमा सात खर्ब ८८ अर्ब कर्जा प्रवाह गरेका छन् ।गएको वर्षको मंसिरसम्म यस्तो क्षेत्रको कर्जा पाँच खर्ब ७१ अर्ब छ । गतको आवको असार मसान्तसम्म यस्तो कर्जा छ खर्ब ९१ अर्ब थियो । बैंक तथा वित्तीय क्षेत्रले यस वर्षको पहिलो पाँच महिनासम्म घरजग्गा, सेयर, ओरभड्राफ्टजस्तो अनुत्पादक क्षेत्रमा सात खर्ब ८८ अर्ब कर्जा प्रवाह गरेका छन् । यस्तो अवस्थामा उत्पादनमूलक क्षेत्रमा जानुपर्ने कर्जा जोखिमयुक्त क्षेत्रतर्फ उन्मुख हुन सक्दछ', प्रतिवेदनमा उल्लेख छ । तसर्थ, आगामी दिनमा बैंक तथा वित्तीय संस्थालाई विवेकशील एवम सावधानीपूर्ण कर्जा प्रवाह गर्न राष्ट्र बैंकले सुझाएको छ । उत्पादनमूलक क्षेत्रमा जाने कर्जा जोखिमयुक्त क्षेत्रमा जानसक्ने भन्दै राष्ट्र बैंकले सचेत पनि गराएको हो । ‘अहिले बैंकले खराब कर्जा न्यून देखाए पनि अनुत्पादक क्षेत्रमा कर्जा बढेको तथ्यांक छ्', प्रतिवेदनमा भनिएको छ । वित्तीय संस्थाले राष्ट्र बैंकको सीमाभित्रै खराब कर्जा दुई प्रतिशत मात्र रहेको देखाएर ढाटिरहेको अनुमान राष्ट्र बैंकले गरेको छ । वाणिज्य बैंकहरूको खराब कर्जा अनुपात २ प्रतिशतभन्दा कम राख्नुपर्ने अवस्था छ । वास्तविक खराब कर्जा देखिएका दिन वित्तीय क्षेत्रमा ठूलो समस्या आउने चेतावनी राष्ट्र बैंकले दिएको छ । यसरी अनुत्पादक क्षेत्रमा लगानी बढ्दै जाने हो भने वित्तीय क्षेत्रलाई हाल रहेको वित्तीय स्थायित्व भविष्यमा राख्ने कार्य भने चुनौतीपूर्ण हुने देखिएको राष्ट्र बैंकले देखाएको छ । यस वर्षको मौन्द्रिक नीतिमार्फत आन्तरिक कर्जा विस्तार लक्ष्य २५ प्रतिशत र निजि क्षेत्रतर्फ यस्तो विस्तार २० प्रतिशत वृद्धि हुने प्रक्षेपण गरिएकामा पाँच महिनामा नै कर्जा विस्तार उच्च भएको छ । -source

0 comments

प्रतिकृया दिनुहोस