बुढेसकालमा उद्यम
बुटवल: कपालका काला रौं गन्न सकिने भइसके । ६७ वर्षीया फूलमती गौतमको जोश र जाँगर अझै कम भएको छैन । ५० नाघेपछि बुढेस लाग्यो भन्छन् । फूलमतीको जीवनमा ठीक उल्टो छ । जति उमेर घट्दै गयो त्यति जोश बढ्दै गयो । रूपन्देहीको आनन्दवनमा रहेको आमा अचार उद्योगकी सञ्चालक फूलमती भन्छिन्, 'आफैं अचार बनाएर सबैलाई खुवाउन सकेकी छु ।' यस क्षेत्रमा आमा अचार खुबै चर्चित छ । घरमा अचार बनाउँदै आएकी फूलमतीलाई आचार बेच्न सकिन्छ भन्ने विश्वास १६ वर्षअघि मात्रै भयो । डिब्बामा राखेको अचार किन्न छिमेकी आउन थालेपछि उनले पैसा कमाउन थालिन् । घरमै बसेर पैसा कमाउन थालेपछि फूलमतीले उद्योग नै दर्ता गरिन् । 'सबैले आमाको अचार मिठो छ भन्ने । उद्योगको नाम पनि त्यही राखियो', उनले भनिन् । उद्योगमा अहिले अचार उत्पादन बढेको छ । मासिक ३० हजारजति आम्दानी हुन्छ । परिवारका सदस्यले सहयोग गरेकाले उद्योगमा तलब दिएर कामदार राख्नु नपरेको उनले बताइन् । यस क्षेत्रका ठूलो होटेलमा मात्रै होइन, आमा अचार काठमाडौंको बजारमा समेत छ । लुम्बिनी अञ्चलका सबै जिल्लामा अचार खपत हुने गरेको उनले बताइन् । चितवन, दाङ र पोखरामा पनि उनको अचार खपत हुने गरेको छ । अचारको माग बढ्दै गएपछि पुर्याउनै कठिन भएको छ । दैनिक १० घन्टा अचार बनाउनमा व्यस्त हुने फूलमती भन्छिन्, 'जाँगर गर्ने हो भने त पैसा कमाउन विदेश जान नपर्ने रहेछ ।' आँप, लसुन, कागती गरी १० किसिमका अचार बनाउने फूलमती अचारमा मानवस्वाथ्यलाई असर गर्ने केमिकल नराख्ने दाबी गर्छिन् । केही महँगोमा बेच्ने तर खान नहुने केमिकल अचारमा नराख्ने उनको अठोट छ । 'जे पाएँ अचारबाट पाएँ । पैसा, प्रतिष्ठा र प्रशंसा यसैबाट मिलेको छ', फूलमतीले खुसी प्रकट गरिन् । मासिक ८० क्विन्टल अचार बनाउने अर्की उद्यमी हुन् वसन्ती खत्री । ६६ वर्षीया खत्रीले अचार बनाउन थालेको दुई दशक पुग्दैछ । पातमा पोको पारेर अचार बेच्दाबेच्दै उनी उद्यमी नै बनिन् । वसन्ती अचार उद्योग नै खोलेर खत्रीले व्यावसायिक रूपमा अचार बनाउन थालिन् । 'अहिले त विदेशमा समेत अचार जान्छ', खत्रीले भनिन्, 'अचारको माग पूरा गर्नै सकिएको छैन ।' यस क्षेत्रमा हुने दर्जनौं मेला र महोत्सवमा उत्कृष्ट उद्यमीको पुरस्कार पाएकी वसन्तीमा उमेरले बुढ्यौली देखाए पनि जोश कम भएको छैन । बुटवल ९ शिवनगरमा रहेको वसन्ती अचार उद्योगमा २४ जना कर्मचारी छन् । अचारको बढी माग हुँदा अल्पकालीन कर्मचारी थप गर्ने गरेको उनी बताउँछिन् । बुटवल र भैरहवा क्षेत्रमा वसन्ती अचार बढी खपत हुन्छ । अचारको बजार भने पूर्वदेखि पश्चिम नेपालसम्म नै छ । ज्यानले थकाइ नमान्दासम्म अचार बनाउन नछाड्ने उनको अठोट छ । उनी अचार बनाउने मात्रै होइन, सिक्न चाहनेलाई तालिम पनि दिन्छिन् । अहिलेसम्म एक हजारजनालाई तालिम दिएको उनले बताइन् । जोश र जाँगर हुनेले अचार बनाएर राम्रो कमाइ गर्न सक्ने उनी बताउँछिन् । प्रशिक्षणमा आउनेहरूलाई पनि उनी त्यस्तै सुझाव दिन्छिन् । अचार बनाउनका लागि कच्चा पदार्थ पाउन भने केही कठिनाइ भएको उनको अनुभव छ । -source


0 comments
प्रतिकृया दिनुहोस