खुल्ला स्पेनी लिग

माघ ३, २०७३- स्पेनी ला लिगालाई विश्वकै सबैभन्दा राम्रो घरेलु लिग मानिन्छ । स्तरको आधारमा इङ्लिस प्रिमियर लिग भन्दा पनि अब्बल । तर यसको एउटा अर्को खराव पक्ष पनि छ, यसमा खाली दुई अथवा तीन टिमबीच मात्र उपाधि होड चल्ने गर्छ । ला लिगाका दुई परम्परागत क्लब रहे, रियल म्याड्रिड र बार्सिलोना । लिग उपाधिको होड भने खालि यिनै दुई टिमबीच मात्र चल्ने गर्छ । कुनै बेला यिनीहरू केही कमजोर भए, तेस्रो क्लबले मौका पाउने गर्छ । पछिल्ला केही सिजन यस्तो क्लब रहेको थियो, एटलेटिको म्याड्रिड । त्यसैले ला लिगालाई इङ्लिस प्रिमियर लिगको तुलनामा कम रोमाञ्चक भन्ने पनि उत्तिकै छन् । सायद यसपल्ट लिगले जुन बाटो तय गरेको छ, प्रतिस्पर्धामा खालि तिनै एक दुई टिम मात्र हुने छैनन् । आइतबार रियल सेभियाको हातबाट पराजित रह्यो, २–१ ले । रियलले हार बेहोरेको नै यो ४० खेलयता पहिलो हो । रियल एक गोलको अग्रता लिएर पनि सेभियाको मैदानमा हार आत्मसात् गरेको हो । सन् २०१७ सुरु हुँदासम्म रियल शीर्ष स्थानमा छ अंकको अग्रता लिएर आरामले बसिरहेको थियो । विश्वास नहुन सक्छ, अब यो अग्रता खालि एक अंकमा झरेको छ । रियलको अब १७ खेलबाट ४० अंक भएको छ । उसले भन्दा एक खेल बढी खेलेको सेभिया ३९ अंकमा दोस्रोमा छ । सेभियाले यो सिजन निकै राम्रो खेलिरहेको छ, धेरैलाई विश्वास छ, यसपल्ट केही फरक गर्न सक्ने टिम यही हो । तेस्रो स्थानमा रहेको छ, बार्सिलोना । उसको ३८ अंक छ । बार्सिलोनाका लागि पनि घरेलु लिगमा यो सिजन राम्रो गइरहेको छैन, भलै क्याटलान क्लब लिगको डिफेन्डिङ च्याम्पियन हो । यसपल्ट शीर्ष चारमा रहेको अर्को क्लब एटलेटिको नै हो, ३४ अंकसहित । यस्तोमा अहिले देखिएको सम्भावना हो, उपाधिका लागि त्रिकोणात्मक भिडन्त हुन सक्छ, रियल, सेभिया र बार्सिलोनाबीच । सेभियाको पछिल्लो जितले स्पेनी ला लिगा धेरै समयपछि खुल्ला जस्तै भएको छ । यो लिग स्वंयको लागि राम्रो पनि हो । सेभियाले अन्तिम पटक लिग उपाधि जितेको पनि धेरै भइसकेको छ । उसले लिग जितेको ७१ वर्ष अगाडि हो । के यसपल्ट सेभिया भाग्यमानी सावित हुन सक्ने छ त ? सेभियाका अहिलेका प्रशिक्षक हुन, जोर्गे साम्पोली । उनी अर्जेन्टिनी हुन् र उनकै नेतृत्वमा चिलीले सन् २०१५ को कोपा अमेरिका जितेको थियो । गत सिजन मात्र उनी सेभियामा आएका हुन् । उनलाई जादुयी प्रशिक्षक मान्ने पनि छन् । यता रियल र बार्सिलोना भने उनीहरूबीच कोही नआओस भन्ने पक्षमा रहने छ । -source

0 comments

प्रतिकृया दिनुहोस