'अस्थायी श्रम इजाजतले नेपाली कामदारलाई लाभ'
मलेसिया सरकारले अवैध रुपमा काम गरिरहेका विदेशी कामदारहरुलाई अस्थायी श्रम इजाजत दिने निर्णय गरेपछि सयौं नेपाली कामदारहरुलाई पनि त्यसबाट फाइदा पुग्ने त्यहाँ रहेका नेपाली तथा वैदेशिक रोजगार व्यवसायीहरुले बताएका छन्।
विशेषगरी एउटा कम्पनी छोडेर अर्कोतिर गएका, कागजपत्र गुमाएका तथा विभिन्न समस्याका कारण गैरकानूनी बनेका ४ हजारको हाराहारीमा रहेको भनिएका नेपालीहरुले लाभ लिन सक्ने ठानिएको छ।
अवैधानिक
गतवर्ष मलेसिया सरकारले गैरकानूनी रुपमा काम गरिरहेका कामदारहरुलाई देश फर्किए कारबाही नगर्ने नियम ल्याएपछि झण्डै १० हजारभन्दा बढी नेपालीहरु स्वदेश फर्किएको सरकारले जनाएको थियो।
नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव रोहन गुरुङ भन्छन्, "त्यहाँपनि गलत कम्पनीहरु छन्। समयमा भिसा नवीकरण नगरिदिने जस्ता कम्पनीकै कारणले गर्दा कतिपय नेपाली अवैधानिक बन्नुपर्ने भएको छ।
"कम्पनीले तलब नदिंदाको अवस्थामा अर्को कम्पनीमा जानुपर्दा कति अवैधानिक बनेका हुन्छन्। अहिलेको नियमले त्यस्तालाई अवश्य पनि राहत पुर्याएको छ।"
विकर्षण
विदेशी कामदारहरुको हकमा बारम्बार नियम परिवर्तन गर्ने गरेको मलेसियामा पछिल्लो वर्षहरुमा कामदारको आकर्षण घटेपछि सरकारले विभिन्न योजनाहरु ल्याउन थालेको बताइन्छ।
कम्पनीले तलब नदिंदाको अवस्थामा अर्को कम्पनीमा जानुपर्दा कति अवैधानिक बनेका हुन्छन्। अहिलेको नियमले त्यस्तालाई अवश्य पनि राहत पुर्याएको छ
रोहन गुरुङ, महासचिव, नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघ
कामदारको अभाव हुन थालेपछि त्यहाँका कम्पनीहरुले पनि सरकारसँग कामदारको माग गर्न थालेकोले सरकारले हाल यो नियम ल्याएको हुनसक्ने मलेसियामा रहेका बीबीसीका सहयोगी रामचन्द्र गिरीले बताएका छन्।
उनले भने," मलेसियाली मुद्रामा आएको गिरावटले गर्दा आप्रवासी कामदारहरुको आम्दानी घट्न पुगेको छ। त्यसैमा विदेशबाट आउने कामदारहरु पनि कम भइरहेको अवस्थामा काममा प्रभाव नपरोस् भनेर पनि पछिल्लो नीति ल्याइएको हुनसक्छ।"
एक समय नेपाली कामदारहरुको रोजगारीको मुख्य गन्तव्यमध्येको एक मानिने मलेसियामा जाने कामदारको संख्या पछिल्ला केही वर्ष ह्वात्तै घटेको देखिन्छ।


0 comments
प्रतिकृया दिनुहोस