यी हुन् सुन तस्करी हुनुका कारण
काठमाडौं, माघ ४ – मोटरसाइकलको एयर बक्समा लुकाएर सुन तस्करी गर्दै गरेको बेला बौद्ध प्रहरीले मंसिर १८ गते १० किलो सुन बरामद गरेको थियो । मंसिरमै ५ किलो सुनसहित रसुवा प्रहरीले विरेन लामालाई समात्यो ।
त्यस्तै गएको पुस १४ गते हाइलक्स गाडीमा लुकाएर ल्याएको ७ किलो सुन महानगरीय अपराध महाशाखा काठमाडौंले कलंकीबाट बरामद गरेको थियो ।
त्यसको केही दिनमै काठमाडौंको पेप्सीकोलाबाट ३ किलो अवैध सुन बरामद भयो । पुस २९ गते राति बालाजुबाट प्रहरीले १५ किलो सुन बरामद गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट प्रहरीले साढे ३३ किलो सुनसहित तीन जनलाई पक्राउ गरेको थियो ।
सुन तस्करी ठूलो कारोबार हुने र अरबौं रुपैयाँ लाग्ने भएकाले यसमा ठूलै मान्छेको संलग्नता हुने गरेको र तीनहरु समक्ष चाँडै पुगिने केन्द्रिय अनुसन्धान ब्युरोका एक प्रहरी अधिकृतले भने । अहिलेसम्म भरियामात्रै समातेको प्रहरीले सुन तस्करका नाइकेको खोजी गरेको भने पनि अहिलेसम्म पत्ता लगाउन सकेको छैन र सुन तस्करी पनि रोकिएको छैन ।
किन हुन्छ त सुन तस्करी ?
नेपाल राष्ट्र बैंकले व्यवसायीहरुलाई दैनिक १५ किलो सुन उपलब्ध गराउँदै आएको छ । यो माग भन्दा निक्कै थोरै हो । मागभन्दा आपूर्ति कम भएकाले सुन तस्कर हुने गरेको कतिपयको बुझाई छ । तर यसरी ठूलो मात्रामा तस्करी भएका सुन नेपालमा भन्दा पनि भारतमा बढी खपत हुने गरेको प्रहरीको बुझाई छ ।
प्रहरीको यो बुझाईलाई ३३ किलो सुन बरामद भएकै दिन भारतबाट अवैध मुद्रा बरामद भएको घटनाले पुष्टि गर्छ । भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई लैजान लागिएको एक करोड भारतीय रुपैयाँ बराबरको साउदी मुद्रा रियाल र युएई मुद्रा दिराम बरामद भएको थियो ।
भारतीय संचारमाध्यमले नेपालमा बरामद भएको अवैध सुनको आयात र भारतबाट जान लागेको अवैध मुद्राको गन्तव्य एकै ठाउँ रहेको उल्लेख गरेकाले पनि नेपाल प्रहरीको बुझाई सहि भएको बताउँछ । यसरी प्रहरी अवैध सुनको ट्रान्जिटको रुपमा नेपाल रहेको प्रहरीले जनाउने गरेको छ ।
राष्ट्र बैंक भने व्यवसायीले सुन लुकाएर कृतिम अभाव खडा गरी सुन तस्करलाई मलजल गरेको ठहर छ । सुन तस्करी हुनुका कारण बारे नेपाल राष्ट्र बैंकका विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुङ्गाना प्रमुख तीन कारण देख्नुहुन्छ ।
‘सुनको मूल्य घटेसँगै दुई क्षेत्रबाट माग धेरै बढ्छ । सर्वसाधारणले सुन बनाउन खोज्छन् भने व्यापारी सुन लुकाउन खोज्छन् । मूल्य घटेको बेला सुन बेच्नु हुँदैन भन्दै व्यापारीले सुन लुकाएपछि सुनको पूर्ति तस्करले गर्छन् ।’ उहाँ पहिलो कारण बताउनुहुन्छ ।
भन्सार प्रशासन र सीमा प्रशासन कमजोर हुनुले नै सुन तस्करलाई बढवा दिएको उहाँको अर्को तर्क छ । कमजोर प्रशासनको फाइदा उठाउँदै करोडौं कमाउने दाउमा सुन तस्कर हुने गरेको उहाँ बताउनुहुन्छ ।
‘सुन मिडियम अफ पेमेन्ट अर्थात नगद हो । भारतमा भारतीय हजार र पाँच सयको नाटेको प्रतिबन्धका कारण पेमेन्टका रुपमा सुन तस्कर भएको हो’ सुन तस्करीको कारण खोतल्दै उहाँ भन्नुहुन्छ ।
सुन तस्कर हुनको मुख्य कारण नै माग अनुसारको पूर्ति नुहनु भन्ने नै देखिन्छ नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यका अनुसार । राष्ट्र बैंकले उपलब्ध गराउने दैनिक १५ किलो सुनले टिका लगाउन पनि नपुग्ने उहाँको तर्क छ ।
‘नेपालमा २३ हजार सुनचाँदी पसल छन् । २३ हजार पसलले दिनको एक तोलाको मात्रै कारोबार गरे भने २ सय ६८ किलो हुन्छ । अब २ सय ६८ किलो सुन चाहिने ठाउँमा १५ किलो सुनले टिका लगाउन पनि पुग्दैन’ निवर्तमान अध्यक्ष शाक्यले भन्नुभयो ।
सुनको माग बढी हुने तर बैंकले सुन कम उपलब्ध गराउने भएपछि व्यापारीकै मिलेमतोमा भएको हो त तस्करी ? यसबारे शाक्य भन्नुहुन्छ, ‘सुन बिहान ल्याएर बेलुका सिध्याउने तरकारी जस्तो होइन । पाँच लिटर तेल बाइकमा हालेर दुई दिनमा सिद्याउने जस्तो पनि होइन सुन । नेपाल यस्तो मुलुक हो कि पेटीमा माग्न बसेको मान्छेले कानमा टप भए पनि लगाएकै हुन्छ, १ तोला सुन भए पनि लुकाएर राखेकै हुन्छ औषधिका लागि । त्यही सुनको रुप परिवर्तन गरेर हामीले काम गरेका छौं ।’
केही व्यपारीले तस्करी गरेको सुन किनेरै व्यापार चलाएको पनि उहाँ स्वीकार्नुहुन्छ । ‘राष्ट्र बैंकले दिने सुन र तस्करले बेच्ने सुनमा केही फरक हुँदैन । सस्तो पाएपछि व्यपारीले किनेर काम चलाउन पनि सक्छन्’ उहाँले भन्नुभयो ।
राष्ट्र बैंकले कम सुन उपलब्ध गराएकाले तस्करी भएको भन्ने स्वीकार्न राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेल तयार हुनुहुन्न । ‘दुई सय किलो होइन चार सय किलो सुन दैनिक दिने हो भने पनि तस्करी भइरहन्छ । राष्ट्र बैंकलाई दोष दिन मिल्दैन’ प्रवक्ता पौडेलले भन्नुभयो ।
पौडेलको कुरालाई राष्ट्र बैंकको तथ्याङ्कले पुष्टि गर्छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार २०७१ सालमा बैंकले ६ हजार किलो सुन आयात गरेको थियो । तर व्यापारीले १७ किलो मात्र सुन खरिद गरेका थिए ।
सुन अनुत्पादक तथा बिलासिताको चिज भएकोले धेरै वितरण नगरेको राष्ट्र बैंकले बताउने गरेको छ । विगतको बजारलाई हेरेर माग अनुसार नै सुन उपलब्ध गराउने गरेको राष्ट्र बैंकको दाबी छ । २०६६ साल भन्दा अघि ठूलो मात्रामा सुन नेपाल भित्रने गरेको थियो । २०६६ सालपछि राष्ट्र बैंकले दैनिक १५ किलो सुन उपलब्ध गराउँदै आएको छ । यसरी राष्ट्र बैंकले वार्षिक ५ हजारदेखि ६ हजार माग अनुसार सुन उपलब्ध गराउँदै आएको छ ।
तर यो वा त्यो बहानामा सुन तस्करी हुने गरेको भने नौलो घटना होइन । सुन तस्करको मिलेमतो प्रहरीका उच्चपदस्थ कर्मचारीदेखि नेता, कर्मचारीसम्म भएकाले सहज रुपमा सुन तस्करी हुने गरेको छ । ठूलो मात्रामा सुन तस्करी भएर सुन बोक्ने भरियामात्र पक्राउ पर्नुले पनि तस्करको सम्बन्ध ठूलै मान्छेसँग रहेको पुष्टि गर्छ ।
जब सुन तस्करसँग कुरा मिल्दैन वा कुनै लेनदेनको कुरा नमिलेपछि सुराकी वापत पाउने कमिसनको लोभमा सुन तस्कर पक्राउ गर्ने गरेको एक प्रहरी अधिकारी बताउँछन् । यसरी सुराक दिनेलाई सबै कुरा थाहा हुनसक्ने हुँदाहुँदै पनि भरियामात्र पक्राउ पर्नुले सुन तस्करीको सम्बन्ध ठूलै मान्छेसँग हुने गरेको पुष्टि गर्छ ।


0 comments
प्रतिकृया दिनुहोस