अखिलेशले पाए साइकल, बाबु मुलायमलाई धक्का
भारतको उत्तर प्रदेश राज्यमा बाबु मुलायम सिंह यादव र छोरा अखिलेश यादवबीच चलेको राजनीतिक मुद्दामा त्यहाँको निर्वाचन आयोगले छोरा अखिलेशको पक्षमा फैसला गरेको छ। उक्त फैसला अनुसार ‘समाजवादी पार्टी’को नाम र उक्त पार्टीको चुनाव चिन्ह उत्तर प्रदेशका मुख्य मन्त्रीसमेत रहेका अखिलेश यादवको समूहले पाएको छ। उक्त फैसलाले छोरा अखिलेशको जीत भएको छ भने बाबु मुलायमलाई ठूलो राजनीतिक धक्का लागेको छ। बाबु-छोराबीच चलेको राजनीतिक द्वन्द्वका कारण उत्तर प्रदेशमा प्रभाव जमाएको समाजवादी पार्टी टुक्रिएको थियो। आगामी फेब्रवरी ११ मा सात चरणमा गरेर उत्तर प्रदेशमा चुनाव हुँदैछ। निर्वाचन आयोगको फैसला पछि अब पार्टीको विरासत छोरा अखिलेशले नेतृत्व गरेको समूहमा गएको छ। तर ७७ वर्षीय मुलायम सिंहले निर्वाचन आयोगको फैसला विरुद्ध अदालतमा जान सक्ने सम्भावना छ। हिजो बिहान उनले निर्वाचन आयोगले आफूविरुद्ध फैसला गरेमा अदालतको ढोका घच्घच्याउने बताएका थिए। उक्त फैसला पछि अखिलेशले बाबु मुलायमलाई भेटे। उनीहरु वीच के कुरा भयो प्रष्ट छैन। तर, अखिलेशले टुइट गरे - ‘साइकल गुडिरहनेछ।’ बाबु-छोरा बिचको राजनीतिक द्वन्द्वमा उत्तर प्रदेश विधानसभामा रहेका पार्टीका २२८ सांसद मध्ये २०५ जनाले अखिलेशलाई समर्थन गरेका थिए। मुलायमले पार्टीमा द्वन्द्व हुनुको कारण भतिजा रामगोपाल यादवले अखिलेशलाई उचालेको दोष लगाएका छन्। समाजवादी पार्टीमा यादव परिवारको पकड छ। पार्टी टुक्रिनुको कारण पनि यादव परिवार भित्रको द्वन्द्व मानिएको छ। -source


0 comments
प्रतिकृया दिनुहोस