सदरमुकाम सधैं हिलाम्मे

माघ ४, २०७३- सदरमुकाम चैनपुरमा ढल निकास व्यवस्था नहुँदा सधैंजसो हिलाम्मे हुने गरेको छ । सिँचाइ कुलो र घरहरूबाट निस्कने फोहोर पानी सडकमा पस्दा हिँडडुल गर्नै सास्ती भएको स्थानीले बताए । ‘सदरमुकाम हो भन्दा पनि लाज लाग्ने अवस्था भइसक्यो,’ दौलीचौर गाविसका प्रेमबहादुर बोहराले भने, ‘कुनै कुनै दिन जतिपल्ट बजार गयो त्यतिपल्ट लुगा फेर्नुपर्ने हुन्छ । जताततै हिलैहिलो छ ।’ सदरमुकामस्थित लोकतान्त्रिक चोक, प्रशासन चोक, सुर्मादेवी मन्दिर, चौगाउँ टोललगायतमा ढल र सिँचाइको उपयुक्त निकास नहुँदा यस्तो समस्या आएको हो । बजारमा बस्नेले सदरमुकाम चैनपुर भएर बग्ने नालीमा जथाभावी प्लास्टिक, सिसालगायत फोहोर फाल्ने र नालीमा सोही अडिएर सडक हिलो बनेको छ । खानेपानी पाइपलाइन पनि ढल बग्ने ठाउँमा खुला छोडिएकाले पानीमा प्रदूषण मिसिन सक्ने खतरा बढेको छ । यही कारण पनि सदरमुकाम बजार दिन प्रतिदिन दुर्गन्धित बन्दै गएको स्थानीय बताउँछन् । सडकमा ढल बग्दाबग्दा बीच बजारमा पनि हिँड्नै नसक्ने भएको छ । बीच सडक भएर बग्ने नालीको पानीले कपडा पनि भिज्छन् । ‘जुत्ता लगाएका मान्छेलाई त झन् हैरान हुन्छ । स–साना बालबालिका, वृद्धवृद्धालाई हिँडडुल गर्नै समस्या छ,’ कैलाशका आशिष सिंहले भने, ‘नगरपालिका भइसक्दा पनि यहाँ आनन्दले हिँड्न सक्ने अवस्था छैन ।’ सडकबाट ढल बग्दा छेउछाउका होटल र पसलहरूलाई पनि समस्या हुने गरेको छ । भूमिराज फलफूल तथा तरकारी पसलका हरिसिंह भाटले भने, ‘सडकनजिकै पसल छ । गाडी गुड्दा पानी उछिट्टिएर तरकारी र फलफूलमा पर्छ ।’ होटलमा राखिएका खानेकुरामा पनि फोहोर पर्ने गरेको बताउँदै एक सञ्चालकले सडक ढल बगेको दिन खानेकुरा बचाउन हम्मे हुने बताए । उनका अनुसार फोहोर देखेपछि ग्राहक खान आउने कुरै भएन । नगर क्षेत्रको निकासी नालाहरू अड्किएपछि पसलभरि पानी आउने र सामान बचाउनै मुस्किल हुने गरेको अर्का व्यापारी वीरेन्द्र सिंहले बताए । स्थानीय र व्यापारीले नालामा अडेका फोहोर दैनिक सफा गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । व्यापार छोडेर नाला खोल्न जानुपर्छ, एकै छिन ढिला भए पसलभरि पानी जम्मा हुन्छ । सिँचाइ र ढल निकासका लागि नाला बनाउँदा ठेकेदारले तोकिएको मापदण्ड पूरा नगर्दा फोहोर अड्किने गरेको स्थानीय बताउँछन् । अडकिएको फोहोर निकाल्न नसकेपछि धेरै ठाउँमा ढल बग्ने नाली छोप्न प्रयोग गरिएको ढक्कन फुटाइएका छन् । खुला रूपमा ढल बग्दा दुर्गन्ध फैलिन थालेको छ । केही ठाउँमा दुई वर्षअघि मात्र निर्माण भएको निकास कामै नलाग्ने भएको छ । जयपृथ्वी नगरपालिका कार्यकारी अधिकृत प्रज्ज्वल घिमिरेले नगरपालिकाको सानोतिनो लगानीले ढल निकास व्यवस्था गर्न नसकिने भएकाले कुनै ठूलो परियोजनाका लागि सहरी विकास मन्त्रालयसँग पहल भइरहेको बताए । ‘फोहोर व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि आवश्यक छ,’ उनले भने, ‘ढल पनि उचित निकास गर्ने र फोहोर व्यवस्थापन अभियान नै सञ्चालन गर्ने तयारीमा नगरपालिका रहेको छ ।’ -source

0 comments

प्रतिकृया दिनुहोस