श्रीमानसँगै विदेश जाने भिसा त्यागेकी मधुकला यसरी बनिन् व्यावसायी

सुमित्रा कोईराला/उज्यालो । उदयपुर, माघ ४– श्रीमान धनकुमार कुवेत गएको तीन वर्षपछि खोटाङको खार्मी ९ की मधुकला राई बालबच्चा लिएर उदयपुर झर्नुभयो । खार्मीमा उहाँको घर थियो । तर २०६१ सालमा उदयपुरको बेल्टार बसाहा आएपछि डेरा लिनुपर्‍यो । खार्मीमा निजि विद्यालय थिएनन् । सरकारी विद्यालयपनि टाढा थिए । अस्पताल झनै टाढा । गाउँको स्वास्थ्य चौकीको भर थिएन । साह्रो गाह्रो पर्दा जिल्ला अस्पताल दिक्तेल नै पुग्नु पर्छ । त्यहाँ उपचार भए त ठिकै छ । त्यहाँ पनि उपचार नभए हेलिकोप्टर चार्टर गरेर राजधानी पुग्नु पर्ने बाध्यता । आर्थिक अवस्था कमजोर हुनेका लागि बाँच्नै गाह्रो छ । बालबच्चाको भविश्य, शिक्षा, स्वास्य जस्ता अन्य सुविधालाई मध्यनजर गर्दै उहाँ बेल्टार आउनु भएको हो । उदयपुर सरेपछि बालबच्चालाई निजि विद्यालय अथवा बोर्डिङमै पढाउने चाहना भयो । गाउँमा अलि हुने खानेका छोराछोरी बोर्डिङमै पढाउने गरिन्छ । मधुकलालाई पनि आफ्ना बालबच्चाको पढाई राम्रै बनाउने मन थियो ।

तर २०५८ सालमै कुवेत पुगेका धनकुमारको कमाई जाँदा म्यानपावरलाई बुझाएको ऋण तिर्दै ठिक भयो । परिवारको आर्थिक अवस्था उस्तै भएपनि श्रीमान परदेशमा भएकाले मधुकलालाई कमाउलान भन्ने आस र आँट थियो । त्यहि आँटले बेल्टार बसाह नगरपालिका १ को निजी विद्यालयमा छोरा छोरीलाई भर्ना गर्नुभयो । महिनैपिछे बोर्डिङबाट बील आउन थाल्यो तिर्ने उपाय भएन । कमाउने आश गरेका श्रीमान घर फर्किनुभयो । यता मधुकलाको पनि आम्दानीको बाटो थिएन । आर्थिक अभाव दिनदिनै बढ्न थालेपछि धनकुमार फेरि २०६५ सालमा दुवई जानुभयो । त्यहाँपनि कमाई राम्रो भएन । फर्किएर २०६७ सालमा कतार जानुभयो । त्यहाँ पनि उस्तै । जाँदा म्यानपावरलाई बुझाएको तिर्नु बाहेक अन्य प्रगति हुन सकेन । तीन देश चाहर्दापनि श्रीमानले कमाउन नसकेपछि बालबच्चा आफन्तलाई जिम्मा लगाएर आफैं विदेश जाने तयारी थाल्नुभयो । २०७१ सालमा उहाँले राहदानी बनाएर म्यानपावर कम्पनीमा पेश गर्नुभयो । मलेसिया जाने भिसाको फर्खाईमा हुनुहुन्थ्यो मधुकला। यहि बीचमा स्थानीय संस्थाले महिलालाई लक्षित गरि गाउँमै मखमलको जुत्ता, चप्पल र खेलौना बनााउने तालिम दियो । मधुकलाले पनि यो तालिम लिने अवसर पाउनुभयो ।
तालिम लिएपछि यहिँ केहि गर्न सकिन्छ भन्ने हिम्मत बढ्दै गयो । उता मलेसियाको भिसा लागेको खबर आइसकेको थियो । तर मधुकलाले मलेसियाको भिसा त्यागेर बेल्टारमै कपडाका सामाग्री बनाउन थाल्नुभयो । सुरु सुरुमा समस्या भएपनि बिस्तारै उहाँ यहि व्यवसायमा रमाउन थाल्नुभयो । यहि व्यवसायबाट पाँच जनाको परिवार खर्च धानिएको छ । अहिले मधुकला मखमलको जुत्ता चप्पल, झोला बनाएर सफल उद्यमीको रुपमा स्थापित भैसक्नु भएको छ । श्रीमान रोजगारीका लागि फेरि साउदी जानु भएको छ । तर मधुकलाले उहाँको कमाइको आश गर्नु पर्दैन आफ्नै कमाइले परिवार खर्च चल्न थालेको छ ।
‘श्रीमानले विदेशबाट पैसा पठाएको महिना हाँसिखुसी बित्थ्यो । नपठाएको बेला अर्काको घरमा काम गर्न जानु पथ्र्याे’ विगत सम्झँदै मधुकला भन्नुहुन्छ, ‘अहिले संस्थाको सहयोगमा सिलाई मेसिन किनेको छु । घरमै बसीबसी मासिक १५ हजार भन्दा बढि कमाउन थालेको छु ।’ उहाँले दैनिक ३ देखि ४ जोर कपडाको चप्पल, महिलाको लागि डिजाइन झोला, हाते झोला, थैली जस्ता सामानहरु बनाउनु हुन्छ । मधुकला भन्नुहुन्छ, ‘वैदेशिक रोजगारीमा गएको भए कस्तो कष्ट खेप्न पथ्र्यो, अहिले यहाँ ढुक्क छु । अव फर्किएपछि श्रीमान पनि यहीँ काम गर्नु हुन्छ । विदेश जानु हुन्न ।’ -source

0 comments

प्रतिकृया दिनुहोस