बजारमा ११ लाखसम्मका घडी

घडी भन्नाले समय देखाउने यन्त्रलाई बुझिन्छ। कुनै जमानामा उदाउन र अस्ताउन लागेको सूर्य, डाँडामाथिका जून, कुखुराको डाँको तथा घामको छायाँबाट मानिसहरुले समय पत्ता लगाउने गर्दथे।

तर प्रविधिको विकाससँगै उत्पादन भएको घडीका कारण अहिले समय पत्ता लगाउन न सूर्य हेर्नु पर्छ न कुखुराको डाँक पर्खिनु पर्छ। विशाल बजारमा घडी पसल संचालन गरेका व्यापारी विनोद मगर भन्छन् ‘समयकै लागि हरेक मानिसको हात हातमा घडी हुन्छ या त विभिन्न ब्राण्डका मोबाइल पनि हुन्छन्।’

अहिले मोबाइले नै घडीको काम गर्ने गरेको छ। नाडीमै घडी लगाई राख्नु पर्ने बाध्यात्मक अवस्था नरहे पनि फेसन र सानका लागि विभिन्न ब्राण्डका महँगा घडी नाडीमा लगाउने क्रम बढेको मगरले बताए। उनले भने ‘घडी अहिले महत्वपूर्ण उपहारका रुपमा पनि दिने-दिने गरिएको छ।’

कतिपयलाई आफन्तले विदेशबाट उपहारस्वरुप महँगा घडीहरु पनि ल्याइदिने गरेका छन्। नेपाली बजारमै समेत विभिन्न ब्राण्डका महँगा घडी पसलहरु रहेका छन्।
नेपाली बजारमा पाइने महँगा घडीहरु यी हुन्

राडो

राडो नेपाली बजारमा पाइने महँगो ब्राण्डको घडी हो। राडोका नेपालमा बिभिन्न मोडलका घडी उपलब्ध छन्। सामान्य ७० हजार देखि चार लाख रुपैयाँसम्मका घडी पाइने दरबारमार्गस्थित राडो घडी सोरुमले जनाएको छ।

रोलेक्स

रोलेक्स ब्राण्डको विभिन्न मोडलका घडीहरु नेपली बजारमा उपलब्ध छन्। दरवारमार्गस्थित रोलेक्स घडी सोरुमका अनुसार सामान्य ६ लाख देखि ११ लाख सम्मका घडी सजिलै पाइन्छन् तर कसैले मगायो भने अझै महँगा घडी उपलब्ध गराइदिने संचालकले बताए।

सिको

नेपालमा सबै भन्दा बढी चल्तीमा रहेको सिको ब्राण्डमा विभिन्न मोडलका घडी उपलब्ध छन्। सिको घडी सोरुम दरवारमार्गमा १३ हजार देखि १ लाख १० हजार सम्मको पाइने गर्दछ।

ओमेगा

ओमेगा ब्राण्डको घडीको सोरुम पनि दरवारमार्गमै छ। सामान्य २ लाख देखि ६ लाख सम्मको घडी आफूले बेच्ने गरेको सोरुमका संचालकले जानकारी दिए।

टाइटन

नेपाली बजारमा बिभिन्न मोडलका टाइटन ब्राण्डका घडी उपलब्ध छन्। नेपालमा आफूले टाइटन ब्राण्डका ३० देखि ४० हजारका घडी बेच्ने गरेको दरबारमार्गस्थित सोरुमका संचालकले बताए।

0 comments

प्रतिकृया दिनुहोस