भारतले आफ्नो एयर मार्सलका लागि काठमाडौंमा बास माग्यो
काठमाडौं, माघ ७ । भारतबाट आउने जहाज काठमाडौंमा रोकिनु परे त्यहाँ रहने एयर मार्सललाई बासको व्यवस्था गरिदिन भारतले आग्रह गरेको खुलासा भएको छ ।
दुई मुलुकका अधिकारीले गरेको सैद्धान्तिक सम्झौतापत्रमा पनि उत्त, विषयबारे उल्लेख गरिएको छ । ७ पृष्ठ लामो सम्झौतापत्रको ५ नम्बर बुँदामा भारतबाट काठमाडौं आउने जेट एयरवेजको विमानले राति काठमाडौंमै बास बस्नुपर्ने अवस्था आइपर्दा जहाजमा खटिएका एयर मार्सल विमानस्थलबाट बाहिरिन नसक्ने अवस्था रहेको जनाइएको छ ।
यस विषयलाई लिएर बिहीबार संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले सहसचिव सुरेश आचार्यलाई सोधेका थिए । बैठकमा सहसचिव आचार्यले आफ्नो नेतृत्वमा भारत गएको ८ सदस्यीय नेपाली अधिकारीको टोलीले वार्ताको एजेन्डामै नरहेको विषयलाई ‘काउन्टर एजेन्डा’ का रुपमा भारतीय अधिकारीले राखेपछि चकित परेको अनुभव सुनाए ।
‘एयर मार्सल पूर्व निर्धारित सूचीमै थिएन, भारतीय अधिकारीले काउन्टर एजेन्डाका रुपमा एयर मार्सलको विषय राखेपछि अप्ठ्यारो अवस्था आइपर्यो,’ परराष्ट्र र कानुन मन्त्रालयका सरकारी अधिकारीसहित भारत पुगेका सहसचिव आचार्यले भने, ‘हामीले वार्ता विफल हुने र केही पनि उपलब्धि नहुने देखेपछि यो विषय उच्च राजनीतिक तहको भएको बताउँदै नेपालले हालै हवाई सुरक्षा नियमावली ल्याइसकेको र त्यस नियमावली अनुसार प्रक्रिया थालेमा भारतीय चासो समाधान हुने बतायौं ।’
सहसचिव आचार्यले वार्तामा हवाई मार्सल नभनी भारतीय पक्षले ‘इन–फलाइट सेकुरीटी अफिसर’ भनेको बताए । तर यी दुवै भनेको एउटै हो ।
जहाजमा सादा पोशाकमा तैनाथ रहने सुरक्षाकर्मीसँग हतियार पनि हुन्छ। जहाजभित्र अवान्छित तथा आतंक फैलिने गतिविधि हुन नदिन यी सजग रहन्छन् । कमर्सियल विमानमा उड्ने यस्ता सुरक्षाकर्मीलाई यात्रुले खुट्याउन सक्दैनन् ।
यिनले हतियार लुकाएको स्थान र बस्ने सिटबारे जहाजको कमान्ड सम्हाल्ने क्याप्टेनलाई मात्रै जानकारी हुने गर्छ । यिनीहरु आफ्नो मुलुकबाट उडेपछि अर्काको मुलुकको भूमीमा अवतरण भने गर्दैनन् ।
नागरिक उड्डयन प्राधिकरणका अधिकारीले हवाई मार्सलबारे पहिलोपटक नेपाली अधिकारीले लिखित सम्झौता गरेकोमा आश्चार्य व्यक्त गरेको छ । ‘नेपाली अधिकारीलाई हवाई मार्ग लगायतका विषयमा छलफल गर्ने मात्रै म्यान्डेट थियो, सूचीमै नभएको विषयमा लिखित सहमति देखेर चकित परेका छौं,’ प्राधिकरणका एक उपमहानिर्देशकले भने । यो सम्झौताले भारतीय विमानमा एयर मार्सल आउने गरेको पुष्टि गरेको ती अधिकारीले बताए ।
गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले ०७३ असोजयता कुनै पनि एयरलाइन्सले बास माग्ने वा अन्य सुविधाका लागि आवेदन नदिएको बताए । –कान्तिपुर दैनिकबाट


0 comments
प्रतिकृया दिनुहोस