एफपिओको प्रक्रियामा जुटे पाँच कम्पनी
पछिल्लो समय फर्दर पब्लिक अफरिङ (एफपिओ)मा सर्वसाधारणको उल्लेख्य आकर्षण बढेको पाइन्छ।
यसअघि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको एफपिओ निश्कासन गर्दा ५१ अर्ब ८८ करोड रुपैयाँ संकलन हुनुले यसैको पुष्टि गर्दछ।
एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सृजेश घिमिरे आईपिओमा भन्दा धेरै रकम लगानी हुने र बजारमाभन्दा सस्तो मूल्यमा पाइने भएकाले पनि एफपिओमा आकर्षण बढेको बताउँछन्।
‘एफपिओ हात लागेको भोलिपल्ट बजार मूल्यमा बेच्न पाइन्छ’ घिमिरेले सेतोपाटीसित भने ‘अर्को कुरा संचालन भएर नाफामा गएका कम्पनीले मात्रै जारी गर्ने भएकाले विश्वास पनि बढेको हो।’ एफपिओका लागि धितोपत्र बोर्डका केही कँसिला मापदण्डले पनि यसप्रति सर्वसाधारणको विश्वास बढ्दै गएको सरोकारवालाहरु बताउँछन्।
पछिल्ला तीन वर्ष लगातार नाफामा चलेको हुने, प्रिमियम रकम जगेडा कोषमा गएपछि बोनस सेयर पाइनेजस्ता कारणले पनि एफपिओमा आकर्षण बढेको हो। एफपिओको घोषणा गरेपछि बजारमा समेत कम्पनीको मूल्य सामान्यतः बढ्ने गरेको पाइन्छ।
हाल बैंक र बिमासहित पाँच कम्पनीले एफपिओ निश्कासनको प्रक्रिया अघि बढाएका छन्। दुई वाणिज्य बैंकहरु स्टाण्डर्ड चार्टड र एनएमबि बैंक तथा तीन बिमा कम्पनीहरु प्रिमियर, सगरमाथा र शिखर इन्स्योरेन्सले एफपिओ निश्कासन गर्ने छन्। तिमध्ये सबैभन्दा पहिला स्टाण्डर्ड चार्टडको आउनेछ।
कहिले आउला स्टाण्डर्डको एफपिओ ?
यतिबेला लगानीकर्ताको सबैभन्दा प्रतिक्षित विषय बनेको छ स्टाण्डर्ड चार्टड बैंकको एफपिओ। नेपाल लाइफ इन्स्योरेन्समा हालेको रकम फुकुवा भएपछि मात्रै एफपिओ आएमा रकमको जोहो गर्न सजिलो हुने कतिपयको सोच छ।
कतिपय भने फुकुवा नहुँदै आएमा आवेदन केही कम पर्न सक्ने र त्यसको लाभ आफूले लिन सक्ने अड्कलबाजीमा छन्। कम्पनीले अहिलेसम्म धितोपत्र बोर्डमा आवेदन दिएको छैन। स्टाण्डर्ड चार्टडको यसै साताभित्र नेपाल धितोपत्र बोर्डमा आवेदन दिने तयारीमा रहेको बिक्री प्रवद्र्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत घिमिरेले जानकारी दिए।
‘यसै साताभित्र हामीले एफपिओ स्वीकृतिका लागि आवेदन दिने तयारीमा छौँ, प्रक्रिया चाँडो भएमा सम्भवतः फागुनको अन्त्यसम्ममा स्टाण्डर्ड चार्टडको एफपिओ जारी गर्नेछौँ’ उनले भने।
दोस्रो कुरा कम्पनीले भनेको मूल्यमै एफपिओ आउने हो कि केही घट्छ भन्नेमा पनि लगानीकर्ताको ध्यान खिचिएको छ। कम्पनीले प्रतिकित्ता १२ सय ९० रुपैयाँ तोकेको छ। बजारमा मूल्य प्रतिकित्ता २२ सय रुपैयाँको हाराहारीमा छ। २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपिओ जारी हुनेछ।
२५ करोड ५८ लाख रुपैयाँ प्रत्येक्ष र जगेडा कोषमा जाने रकमबाट समेत बोनस दिएर कम्पनीले ३ अर्ब ३० करोड पुँजी थप्ने छ।
एनएमबिले सर्वसाधारणमा हिस्सा बढाउने
एनएमबि बैंकले पनि एफपिओ जारी गरेर सर्वसाधारणको लगानी हिस्सा बढाउने भएको छ। यसअघि पुस २४ गते बसेको साधारणसभाले एफपिओको निर्णयलाई पारित गरेको छ। एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत घिमिरेका अनुसार एफपिओपछि हाल रहेको संस्थापक र सर्वसाधारणको ६४ तथा ३६ को अनुपात ५१ तथा ४९ कायम हुनेछ।
यसअघि अन्तर्राष्ट्रिय साझेदार नेदरल्याण्डको एफएमओले ९४ लाख कित्ता एफपिओ प्रतिकित्ता २५० का दरले किनेर संस्थापक हिस्सा बढाएको छ। बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ सय रुपैयाँको हाराहारीमा छ। ८८ करोड रुपैयाँ एफपिओबाट जुटाउने एनएमबिको तयारी छ।
प्रिमियर इन्स्योरेन्सको ६ लाख ५९ हजार कित्ता
प्रिमियर इन्स्योरेन्सले ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपिओ निश्कासन गर्ने भएको छ। कम्पनीको पुस १४ गते बसेको साधारणसभा बैठकले एफपिओ निश्कासनको निर्णय पारित गरेको हो। कम्पनीका डेपुटी जनरल म्यानेजर सहदेव तिवारीका अनुसार यसका लागि कम्पनीले एनएमबि क्यापिटल मार्केटलाई बिक्री प्रवन्धकको रुपमा नियूक्ति गरिसकेको छ।
‘अब क्रेडिट रेटिङको काम अघि बढिसकेको छ, यसै आर्थिक वर्षभित्र एफपिओ निश्कासन गर्ने तयारी छ’ सेतोपाटीसितको कुराकानीमा उनले भने। बजारमा हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४ सय रुपैयाँको हाराहारीमा रहेको छ।
शिखरको फेरि निश्कासन
गत पुस ८ गते बसेको शिखर इन्स्योरेन्सको बाह्रौ वार्षिक साधारणसभाले चुक्ता पुँजीको १० प्रतिशत एफपिओ निश्कासन गर्ने निर्णय गरेको हो। यसअनुसार १३ लाख ६९ हजारभन्दा बढी कित्ता हुन आउने कम्पनीका सहायक म्यानेजर सुजित श्रेष्ठले जानकारी दिए।
‘साधारणसभाले बाटो खोलिसकेको छ, रेटिङ गर्ने, इस्यु म्यानेजर नियूक्ति गर्ने लगायतका प्रक्रियागत काम भने बाँकी छ’ उनले सेतोपाटीलाई भने।
संस्थापकको हिस्सा घटाएर साधारण सेयरको ४० प्रतिशत बढी कायम गर्ने उद्देश्यले कम्पनीले एफपिओ जारी गर्ने भएको हो। कम्पनीको बजारमा सेयर मूल्य प्रतिकित्ता २१ सय रुपैयाँको हाराहारीमा छ। गत आर्थिक वर्षमा पनि कम्पनीले ६ लाख बढी कित्ता एफपिओ जारी गरेको थियो।
सगरमाथाको कित्ता टुङ्गो लाग्न बाँकी
त्यस्तै सगरमाथा इन्स्योरेन्सले पनि साधारण सेयरको हिस्सा ४० प्रतिशत कायम गर्न प्रिमियममा एफपिओ निश्कासन गर्ने भएको छ। कम्पनीको पुस २७ गते बसेको २० औं साधारणसभा बैठकले एफपिओ निश्कासन गर्नका लागि संचालक समितिलाई अख्तियारी दिएको छ।
FP
सेयर शाखाका अधिकारी सुवोधलाल श्रेष्ठका अनुसार कति कित्ता एफपिओ निश्कासन गर्ने भन्ने बारेमा भने निर्णय हुन बाँकी छ। सेतोपाटीसित कुराकानी गर्दै उनले भने ‘अख्तियारी दिइसकेपछि प्रक्रिया सुरु भयो, प्रिमियम रकम तथा कित्ताको सम्वन्धमा निर्णय हुन बाँकी छ।’
केही महिनामै ठोस निर्णय हुने उनले जानकारी दिए। कम्पनीको बजारमा सेयर मूल्य प्रतिकित्ता साढे ११ सय रुपैयाँको हाराहारीमा छ।
तर झुक्यायो एभरेष्टले
एभरेष्ट बैंकले यसअघि सार्वजनिक गरेको चुक्ता पुँजी वृद्धि योजनामा ४५ करोड रुपैयाँ एफपिओबाट जुटाउने भनिए पनि अन्ततः हालै बसेको २२ औं साधारणसभाले भने एफपिओ जारी नगर्ने गरी प्रक्रिया अगाडि बढाएको छ। वेबसाइटमा भने अहिलेसम्म पनि एफपिओ जारी गरेर पुँजी पुर्याउने योजना राखेर उसले सर्वसाधारणलाई झुक्याइरहेको छ।
बोनस र हकप्रदबाटै पुँजी पुर्याउनेगरी साधारणसभामा कुराकानी भएकाले एफपिओ जारी नहुने कम्पनी स्रोतले जनाएको छ।
‘राष्ट्र बैंकलाई पछिल्लो पटक बुझाएको योजनामा हकप्रद र बोनसबाटै पुँजी पुर्याउने उल्लेख छ, एफपिओ जारी नहुने निश्चित भयो’ स्रोतले भन्यो। बजारमा एभरेष्ट बैंकको सेयर मूल्य प्रतिकित्ता १९ सय रुपैयाँको हाराहारीमा छ।


0 comments
प्रतिकृया दिनुहोस