स्नातक पढेका विद्यार्थी भन्छन्–म्यादी प्रहरी बन्छु, विदेशमा सेक्युरेटी गर्छु

नारायण अधिकारी/उज्यालो । काठमाडौं, चैत १७ – म्यादी प्रहरीको फर्म भर्नेहरुको भिडले अहिले देशैभरका जिल्ला प्रहरी कार्यालयहरु भरिभराउ छन् । म्यादी प्रहरीको फर्म भर्न एक दिन बाँकी छँदासम्म फर्म भनेहरुको निकै भिड लागेको प्रहरी कार्यालयले जनाएको छ । यस्तै महानगरीय प्रहरी परिसर काठमाडौं पनि म्यादी प्रहरीको फर्म भर्नेहरुको भिडले भरिएको छ । दैनिक सयौं जनाले म्यादीको फर्म भरेको परिसर कार्यालयले जनाएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी छविलाल जोशीले दिएको जानकारी अनुसार अहिलेसम्म २१ सय फर्म वितरण भइसकेको छभने १४ सय जनाले फर्म भरेर बुझाई सकेका छन् । यो संख्या आफूहरुले सोचे भन्दा पनि बढी भएको एसएसपी जोशीले बताउनुभयो । परिसरले सोचेभन्दा बढी आवेदन आएको परिसरले जनाएको छ । अहिलेसम्म १४ सय म्यादी प्रहरीको फर्म बुझिसकेको परिसरले झण्डै आधाजसो फर्म १२ कक्षा पास भएकाहरुले भरेका छन् । ‘यहिले नै हामीले फर्म छुट्याइसकेका त छैनौं, तर सर्सती हेर्दा आधाजसो फर्म १२ कक्षा पास भएकाहरुले भरेको देखिन्छ’ एसएसपी जोशीले भन्नुभयो ‘प्रहरी जवान र त्योसरह तलब, भत्ता र राशनको व्यवस्था हुने भएकाले म्यादीमा आर्कषण बढेको देखिन्छ ।’ एसएसपी छविलाल जोशीले जवान त्यो सरह तलब भत्ता र राशनको व्यवस्था भएकाले म्यादी प्रहरीमा आकर्षण भएको बताए पनि म्यादी प्रहरीमा फर्म भर्नेहरुका भने आफ्नै व्यथा छन् । बुधबार दिउँसो १ बजेतिर सिमसिम पानीमा म्यादी प्रहरीको फर्म भर्न लाइनमा विकास विश्वकर्मा पनि हुनुहुन्थ्यो । दैलेखका विश्वकर्मा अहिले २१ वर्षको हुनुभयो । उहाँ स्नातक पहिलो वर्षमा अध्ययन गर्दै हुनुहुन्छ । पढाईमा उहाँ आफूलाई अब्बल ठान्नुहुन्न, मध्यम ठान्नुहुन्छ । अब त्यही मध्यम पढाइले पनि विश्राम लिने दिन आउनै लागेको उहाँ बताउनुहुन्छ । स्नातक पढ्दै हुनुहुन्छ, तपाईलाई के ले आर्कषण गर्यो म्यादी प्रहरीमा ? भन्ने हाम्रो प्रश्नमा उहाँले भन्नुभयो ‘नेतागिरी गर्न जानिएन । जागिर खान पावर छैन, नेता चिनेको छैन, यसमा भए पावर÷सावर नि लाग्दैन, दुई महिना मात्र म्यादी बन्न पाए राम्रै आम्दानी हुन्छ । त्यसपछि विदेश ।’ आर्थिक अभावका कारण पढाई अगाडि बनाउन नसक्ने अवस्था आएको र पावर नभएका कारण जागिर खान नसेको आक्रोश पोख्दै उहाँले म्यादी भएपछि विदेश जाने योजना भएको बताउनुभयो । ‘म्यादी प्रहरी भएर दुई महिना काम गरेपछि सरकारले प्रमाणपत्र दिन्छ । त्यही प्रमाणपत्रका आधारमा विदेशमा सेक्युरेटी काम पाइन्छ’ विश्वकर्माले भन्नुभयो । स्नातकसम्म पुगेको पढाइलाई आफ्नो आर्थिक अवस्था र राज्य व्यवस्थाका कारण बिचमै छाडेर विदेश जानुपर्ने बाध्यता विश्वकर्माले बताउनुभयो । उहाँसँगै म्यादीको फर्म भर्न लाइनमा बस्नुभएका डडेल्धुराका मनोज जैसीले प्रहरी जवानको पनि फर्म भर्नुभएको छ । तर उहाँको म्यादी भर्नाको कथा भने फरक छ । प्रहरी जवानमा भरेको फर्मलाई म्यादी प्रहरीले केही सहयोग मिल्छ कि भन्ने आशाले फर्म भरेको उहाँको भनाई छ । ‘सानैदखि प्रहरी बन्ने मेरो सोच हो । जवानमा पनि फर्म भरेको छु । म्यादी प्रहरी भइयो भने धेरै कुरा थाहा होला पछि जवानलाई सजिलो हुन्छ ।’ विद्यार्थी हैन पढ्न छाडेकाहरु तथा भूपू आर्मी, प्रहरी पनि म्यादी प्रहरीतर्फ आकर्षित भएका छन् । दुई महिना त्यसै घरमा बसेर बिताउनु भन्दा म्यादी प्रहरी भएर सेवा गरे पैसा पनि कमिने आशामा उनीहरु फर्म भर्न आएको बताएका छन् । म्यादी प्रहरीकै फर्म एकै लाइमा उभिएका थिए, खोटाङका एक बाबु छोरी । खोटाङका ४४ वर्षे रामबहादुर महराको दाह्री जुँगा सेतै फुलेका छन् । उमेर ४४ वर्ष भन्दा पनि पाको जस्तो देखिएपनि उहाँले आफू ४४ वर्षको भएको बताउनुभयो । नेपाल प्रहरीबाट अवकाश पाइसकेका महरा फेरि म्यादी प्रहरी भएर सेवा गर्ने सोचमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘म २०४८ सालको चुनाव र संकटकालमा नेपाल प्रहरीमा रहेर सेवा गरेको थिएँ, फेरि सेवा गर्ने मौका आएको छ । दुई चार पैसा पनि हुन्छ ।’ रामबहादुर महराकी छोरी शर्मिला पनि बुबासँगै म्यादीको फर्म भर्न लाइनमा हुनुहुन्छ । म्यादी प्रहरी भएमा उहाँका कपि कलम समाउने हातले अबको दुई महिना बाँसको भाटा समात्दै चुनाव गराउनमा बित्नेछ । पढाइ नै छोडेर किन म्यादी प्रहरीमा फर्न भर्ने आउनुभयो भन्ने हाम्रो प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘कमाउने बाटो नभएपछि म्यादीनै भएपनि खानै पर्‍यो ।’ यसरी म्यादी प्रहरीमा जागिर खान आउने युवाहरुका विभिन्न सोच छन् । जेजस्ता सोच लिएर म्यादी प्रहरी बन्न आएका भएपनि उहाँहरुलाई सम्मानित व्यवहार गरी म्यादीमा भर्ना गरिने परिसर प्रमुख एसएसपी जोशीले बताउनुभयो ।

0 comments

प्रतिकृया दिनुहोस