काठमाडौंमा दिनदाहाडै लुटपाट, भूपू आर्मीसहितको लुटेराको पन्जामा यसरी परे काकाभतिज

काठमाडौं– मंगलबार दिउँसो (२०७३ साल फागुन १० गते) नारायण खराल र बिधान खराल चेक साट्न न्युरोडको ग्लोबल आईएमई बैंकमा पुगे । चार लाख २७ हजार बराबरको चेक साटेर बाहिर निस्कनासाथ केही युवाले उनीहरुलाई घेरा हालेर भने, ‘हामी अनुसन्धान विभागबाट खटिएका प्रहरी हौं, तिमीहरु हुण्डी कारोवारी भन्ने सुचना आएको छ हामीसँग हिँड् ।’
बावु–बाजेले शुरु गरेको तन्नाको होलसेल ब्यापार चलाउँदै आएका खराल दाजुभाईको सातो गयो । पुलिसले जस्तै कपाल
काटेको ६ जना युवाहरु झट्ट हेर्दा पुलिस जस्तै देखिन्थे । नारायण र विधान लुरुक्के परेर उनीहरुले भनेतिरै हिँडे ।
नारायण र बिधान काका–भतिज हुन् । आफूलाई पुलिस बताउने युवाहरुले उनीहरुलाई न्युरोडबाट पैदल हिँडाएरै डल्लुस्थित शोभा भगवतीसम्म लगे, त्यसपछि ट्याक्सीमा चढाए ।
दुईओटा ट्याक्सी चढाएर सामाखुसीस्थित रेडन कलेज नजिकै लगेर काका–भतिजसँग भएको पैसा, मोवाईल र पर्स लुटेर ६ युवा फरार भए । ट्याक्सी बाट काका भतिजलाई ओराल्ने बेला उनीहरुले भनेका थिए, ‘हामी अनुसन्धान गर्छौ, पछि तिमीहरुलाई खबर आउँछ ।’
‘सपना कि बिपना ?’ तन्ना ब्यापारी छक्क परे । हुण्डीको परिभाषा समेत थाहा नपाएकाहरु हुण्डी कारोवारीको आरोपमा छिनभरमै लुटिएका थिए ।
‘अनुसन्धानको प्रहरी हौं’ भन्नेले किन आफ्नो कार्यालयमा नलगेर बाटोमै छाडिदिए ? सामाखुसीबाट निराश हुँदै कोठामा पुगेर उनीहरुले प्रहरीको हटलाई नम्बर १०० मा डायल गरेर घटना वृतान्त सुनाए ।
प्रहरी कन्ट्रोलमा आएको सुचनालाई महानगरीय अपराध महाशाखाले गम्भीर रुपमा लियो, अनुसन्धानको गति त्यहि रफ्तारमा अगाडि बढ्यो ।
‘घट्ना घटेको करिब २८ घण्टाको बीचमा हामीले लुटपाटमा संलग्न आधा दर्जन युवालाई नियन्त्रणमा लिन सफल भयौं’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले भने, ‘लुटेरा समूहलमा दुई जना भूपु आर्मी समेत रहेको खुल्न आएको छ ।’
प्रहरीले लुटपाटमा संलग्न रुकुमका विश्वास घर्तीमगर, गोरखाका नारायण बानिया, सुदिप थापा मगर, अशोक बाँनिया, शिव बहादुर बाँनिया, र रुकुमका धन कुमार परियारलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।
प्रहरीले लुटेरा समुहबाट काका–भतिजबाट लुटेको पैसा र केही चेकहरु तथा अन्य ब्यक्तिहरुबाट लुटेको महंगा मोवाईहरु बरामद गरेको छ ।
लुटेरा समुहको साथबाट एकथान खुकुरी समेत बराद गरिएको जानकारी दिँदै एसएसपी अमात्यले भने, ‘यो समुह कहिलेदेखि लुटपाटमा संलग्न थियो भन्नेबारे अनुसन्धान गरिरहेका छौं ।’
लुटेरा समुहमा भूपू आर्मिदेखि प्रहरीकै सुराकीसम्म
विश्वास घर्तीमगर मनमैजु बसेपनि महानगरीय प्रहरी वृत्त जनसेवाका सुराकी हुन् । उनले दिएको सुचनाका आधारमा जनसेवा प्रहरीले दुई पटक हुण्डी कारोबारी समातिसकेको छ । यसरी प्रहरीलाई सूचना दिएर नजिक बनेका मगरसँग एक महिनाअघि मात्रै नारायण बाँनियासँग चिनजान भयो । छोटो चिनजानमै उनीहरुले लुटपाटको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
केही समय कोरियामा बसेर फर्केका नारायण बाँनिया काठमाडौंका हुण्डीको कारोबार समेत गर्थे । लुटपाटको योजना बनाएपछि बाँनियाले नै न्युरोडमा पैसा झिक्न आउनेहरुको रेकी गर्ने जिम्मा लिएका थिए ।
विश्वास र नारायणले सहयोगी खोज्ने क्रममा धन कुमार परियार, सुदिप थापा मगर, अशोक बाँनिया र शिव बहादुर बाँनियालाई टिममा भित्र्याएका थिए ।
प्रतिवादीहरु मध्ये शिव बहादुर बाँनिया र अशोक बाँनियाले नेपाली सेनाबाट उपदान लिएर जागिर छाडेपछि लुटपाटलाई पेशाको रुपमा अंगालेको महाशाखाले जनाएको छ ।

0 comments

प्रतिकृया दिनुहोस