टाकुराको रिसोर्ट

फाल्गुन १३, २०७३- यस पटक म भक्तपुरको कमल विनायकबाट भत्केको पाटी, जीतपुर हुँदै कलमसी पुगें । नयाँ नगरपालिकामा गाभिनुअघि यो सुडाल गाविस थियो । कमल विनायकबाट ११ किलोमिटर एक लेनको मोटर बाटो बाइक चढेर जाँदा झमक्कै रात पर्‍यो ।

दुई नम्बर गियरमा उकालो उक्लिँदै गर्दा गाउँलेहरू बेलुकीको खाना खाइवरि निदाउने तरखर गर्दै थिए । सडक छेउका पसलमा मापसे गर्न पुगेका केही किसान मोबाइलको टर्च बालेर उक्लिँदै/ओर्लिंदै गरेको दृश्य घुम्तीपिच्छे देखिए । रत्नपार्कबाट ३० किलोमिटर दूरीमा रहेको बोजिनी नगरकोट रिसोर्टमा पुग्दा साँझपख पुगेका केही नेपाली अतिथि बारबिक्युको तयारीमा जुट्दै थिए ।
काठमाडौं उपत्यकातर्फ फर्किएको यो डाँडाको रिसोर्ट काठमाडौं खाल्डोभन्दा साढे ५ सय मिटर माथि रहेछ । रिसोर्ट रहेको स्थानको उचाइ मेरो मोबाइलको कम्पास एपले १८ सय ४३ मिटर देखायो । अचेल सल्लाघारीबाट नगरकोट जानेहरू फर्किंदा यो बाटो हँुदै काठमाडौं ओर्लिन्छन् । सडक त्यति राम्रो छैन । भत्केको । एक लेन । खाल्डाखुल्डी त्यस्तै । छल्दै रोकिँदै ओर्लिनुपर्छ । तर, सल्लाघारीबाट नगरकोट पुग्न यो बाटो करिब १० किलोमिटर छोटो छ ।
राजधानी नजिकैको यो काँठ भेगमा ९ करोड २५ लाख लगानी गरेर स्थानीय दामोदर दंगाल र उनका आफन्त माधवप्रसाद फुयाल (बद्री) ले रिसोर्ट सञ्चालनमा ल्याएका रहेछन् । काठमाडौंको कोलाहल, वर्कलोड, प्रदूषणबाट केही घण्टा/दिनका लागि मुक्त हुन चाहनेहरू यो डाँडोमा उक्लिँदा रहेछन् । मावली घर बालाजुमा हुर्के/बढेका दामोदर यस भेगमा पनि भान्जाका नामले पपुलर रहेछन् । १८ वर्षदेखि कमल विनायकमा ग्रोसरी स्टोर चलाइरहेका उनको अबको उद्देश्य स्थानीय निकायमार्फत राजनीतिक गर्ने हो । राजनीतिमा पूर्ण समर्पित हुनुअघि सुरु गरिएको दंगालको यो प्रोजेक्ट नेपालमा बढ्दै गइरहेको आन्तरिक टुरिजममा लगानी गर्नेहरूतर्फ पनि संकेत गर्छ ।
खैर, शुक्रबारको त्यो रात तुवाँलो, धूलो, कुहिरोका कारण धुमिल बनेको काठमाडौं राम्ररी देख्न पाइएन । देखियो, अन्तर्राष्ट्रिय विमानस्थल मात्रै । त्यो पनि पूरै आकारमा होइन । जहाज उडेको, गुडेको मात्रै । त्यो रात आकाशमा तारा हेर्दै मन र मस्तिष्कलाई आनन्दले रित्तो बनाइयो ।
शनिबार बिहानै झिसमिसेमै केही काँडे भ्याकुर र आगन्तुक चराहरूको चिरबिरसँगै गाउँलाई सहरसँग जोड्ने यात्रुबस दूध, तरकारी बोकेर सहरका लागि छुटे । बसमा यात्रा गर्नेमा धेरै त बिहानै कलेज जाने विद्यार्थी हुँदारहेछन् । रातिको तुलनामा बिहान छ्याङ्ग उपत्यका खुलेको देखियो । रिसोर्टको बार्दलीबाट बनेपादेखि, आशापुरी, फूलचोकी, गोदावरी, चन्द्रागिरि, नागार्जुन, शिवपुरी, चाँगुनारायण र त्रिशुल डाँडा देखिए । अझ काठमाडौं, ललितपुर र भक्तपुर बर्डआई–भ्यु झैं देखिँदोरहेछ । रिसोर्टको माथि बतासे डाँडा । उत्तरतर्फका सबै हिमाल र सनराइज हेर्न खुबै रमाइलो रहेछ । चरा र जंगली जनावर प्रेमीहरूका लागि यो काइदाकै रहेछ ।
‘स्कुले छोराछोरीलाई गाउँले जीवन देखाउन यो काठमाडौं नजिकैको गन्तव्य हो,’ सञ्चालक दंगालले भने, ‘त्यसैगरी कर्पोरेट हाउसमा काम गर्ने युवायुवतीलाई तनावबाट मुक्ति दिने थलो पनि यही हो ।’ सूर्य उदाएको होइन, अस्ताएको हेर्नका लागि बोजिनी वनको फेदीमै रहेको यो रिसोर्ट एउटा गन्तव्य हो । यसका १८ वटा कोठाबाट चन्द्रागिरि पर्वत नाघेर अस्ताउँदै गरेको सूर्य हेर्नु बिछट्टै आनन्द हुँदोरहेछ । सूर्य डुबेपछि उदाउने चन्द्रमा हेर्दै मुख रसाउने परिकार वा किसानकै गोठबाट ल्याइएको दूधबाट बनाइएको कफी/चिया पिउनुमा पनि गजब मज्जा ।
बिहान काठमाडौंबाट हिमाल देखाउन उड्ने माउन्टेन फ्लाइटले यो गाउँको शून्यता चिर्दोरहेछ । हेलिकप्टरहरू रिसोर्टभन्दा पनि तलतल उडेका देखिने । यहाँको रमाइलो भिन्नै रहेछ । प्रतिव्यक्ति एक रातको बसाइ (साँझको खाना, बसाइ र बिहानको खाजा) करसहित २७ सय रुपैयाँ लिने बोजिनी रिसोर्टबारे थप जानकारी यसको फेसबुक र वेभ पेजबाट हेर्न सकिनेछ ।



0 comments

प्रतिकृया दिनुहोस