६ वर्षपछि युवराजको एकदिवसीयमा सतक

तीन वर्षपछि भारतीको एकदिवसीय टिममा फर्किएका युवराज सिंहले सतक बनाएका छन्। उनले कटकमा भइरहेको इङ्ल्यान्डविरूद्धको दोस्रो एकदिवसीयमा ९८ बलमा सतक पुरा गरे। युवराजको एकदिवसीयमा यो चौधौं सतक हो। उनले २ हजार १ सय ७१ दिनपछि एकदिवसीयमा सतक पुरा गरेका हुन्। सतक पुरा गरेपछि युवराज मैदानमा निकै भावुक बनेका थिए। भारतीय क्रिकेट टिमका सदस्यले उनको सतकमा उठेर सम्मान दिए। तीन वर्षपछि भारतको एकदिवसीय र टी–२० टिममा फर्किएका युवराज सिंहले इङ्ल्यान्डविरूद्ध दोस्रो एकदिवसीय क्रिकेटअन्तर्गत कटकमा भइरहेको खेलमा बिस्फोटक ब्याटिङ गरिरहेका छन्। उनले केएल राहुल, शिखर धवन र कप्तान विराट कोहलीजस्ता धुरन्धर ब्याट्सम्यान २५ को योगफलमा आउट भइसकेको अवस्थामा ब्याटिङ सम्हालेका हुन्। ९८ बलमा उनले १२ चौका र १ छक्काको सहयोगले १०० रन पुरा गरेका उनले ६ वर्षपछि सतक प्रहार गरेका हुन्। युवराजले पूर्व कप्तान महेन्द्रसिंह धोनीसँग मिलेर चौथो विकेटका लागि ३० ओभरमा अविजित १७७ रनको साझेदारीसमेत गरिसकेका छन्। यी दुई ब्याट्सम्यानको एकदिवसीयमा यो दशौं सतकीय साझेदारी हो। यस वर्ष घरेलु लिगमा दुई वटा बिस्फोटक सतक बनाएपछि युवराजलाई एकदिवसीय टिममा पुनः स्थान दिइएको थियो।

0 comments

प्रतिकृया दिनुहोस