आफ्ना दर्जनौं र्याप गीतमार्फत युवापुस्तालाई जीवनोपयोगी सन्देश दिइरहेका गायक यम बुद्ध (अनिल अधिकारी) ले अन्तत: ३० वर्षको कलिलो उमेरमै यो धर्ती छाडे । लाखौं टिनएजर नेपालीको मनमा बस्न सफल यी मल्टिट्यालेन्टेड गायकले यति छिटो संसारबाट बिदा लिन्छन् भन्ने कसैले कल्पना गरेका थिएनन् । युवापुस्तालाई हौसला प्रदान गर्ने खालका गीत सिर्जना गर्ने यी स्रष्टाले आफूलाई समाप्त पार्न ‘आत्महत्या’ जस्तो कायरतापूर्ण मार्ग रोज्नेछन् भन्ने कुरा त अझ टाढाका कुरा । यद्यपि यमबुद्धले आफ्नो जीवन समाप्त पार्न त्यही अप्रिय मार्ग रोजे । उनले धर्ती छाडेको समाचार सामाजिक सञ्जालमा भाइरल भयो । लाखौं प्रशंसकले माघे संक्रान्तिको बिहानै यो अशुभ समाचार सुने र खुइय काटे ।
कसरी गरे आत्महत्या ?
बेलायतस्थित साप्ताहिक प्रतिनिधि नवीन पोखरेलका अनुसार यमबुद्धलाई शनिबार बिहान बेलायतस्थित उनको ससुराली घरको बाथरुममा घाँटीमा बेल्टले पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारिएको थियो । लन्डन साउथ ह्यारोनजिक फिल्ड इन्ड रोड, रइसलिपमा घरमा बस्दै आएका यमबुद्ध शुक्रबार दिनभरि रोयल मेल (हुलाक सेवा कम्पनी) मा काम गरेर घर फर्किएका थिए । घर आएर खाना खाई करिब १२ बजे श्रीमती अस्मिता सेढाईंसँगै सुतेका यमबुद्ध बिहान साढे तीन बजेतिर बाथरुम छिरेका थिए । बिहान ६ बजेतिर त्यही घरमा बस्ने एक जना बाथरुम जान खोज्दा ढोका लक भएको पाएपछि भान्सामा भएको अर्को चाबीले ढोका खोल्दा उनी झुन्डिरहेको अवस्थामा भेटिए । टावल झुन्ड्याउने डन्डी बलियो र अलिक हाइटमा भएकाले बेल्टले घाँटीमा पासो लगाउन सजिलो भएको परिवारको बुझाइ छ । त्यतिबेला उनको आईफोन सेभेन मोबाइल खल्तीमै थियो ।
‘काम सकी घर आएर खाना खाएपछि सामान्य तरिकाले सुतेको मान्छेलाई एक्कासि त्यस्तो अवस्थामा पाउँदा हामी आश्चर्यचकित भयौं’, यमबुद्धका एक आफन्तले भनेका छन्— ‘यमबुद्धको लोकप्रियता सन् २०१२ तिर खुबै चुलिएको थियो । बेलायत आएपछि विगतजस्तो प्रगति नभएको र बढ्दो तनावले पनि उनमा एकखालको वितृष्णा उत्पन्न भएको हुन सक्छ ।’
सन् २००९ मा विद्यार्थी भिसामा लन्डन आएर सन् २०११ मा नेपाल फर्किएका यमबुद्ध ब्रिटिस पासपोर्ट होल्डर श्रीमती अस्मितासँग विवाह गरेपछि २०१४ मा स्पाउज भिसामा बेलायत पुगेका थिए । आत्महत्या गर्नुभन्दा दुई दिन अघिसम्म उनी पाँचवटा गीतको संग्रह निकाल्न रेकर्डिङमा व्यस्त थिए । बुधबारसम्म उनको शव ह्यारोस्थित नर्थविक पार्क हस्पिटलमा राखिएको थियो । शवको पोस्टमोर्टम बुधबार भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
को हुन् यमबुद्ध ?
हिपहप र र्याप संगीतका युवा संगीतकर्मी यमबुद्ध घट्टेकुलो, काठमाडौंका स्थायी बासिन्दा थिए । यमबुद्ध कतिसम्म लोकप्रिय थिए भने उनको फेसबुक फ्यानपेजमा झन्डै १२ लाख लाइक छ । गत हप्ताको साप्ताहिकमा उनलाई वर्ष २०१६ का सबैभन्दा बढी फेसबुक प्रशंसक भएका पहिलो पुरुष सेलिब्रेटीका रूपमा चित्रण गरिएको थियो । कमलपोखरीस्थित द एक्सेल्सियर स्कुलबाट एसएलसी, सीतापाइलाको एडमार्क एकेमेडीबाट विज्ञान संकायमा प्लस टु गरे पनि एसएलसी दिएपछि उनी र्याप तथा हिपहप संगीततर्फ आकर्षित भए ।
अनिलबाट बुद्ध अनि यमबुद्ध
प्लस टुपछि उनले उच्च शिक्षाका लागि अस्ट्ेरलिया जाने योजना बनाए । उक्त योजना असफल भएपछिको दुई वर्षको अवधिमा उनले दिनरात र्याप र हिपहप संगीतको अध्ययन गरे, अभ्यास गरे, इन्टरनेटमार्फत र्याप ब्याटलमा भाग लिए । शान्तिको देशका रूपमा प्रख्यात नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने क्रममा उनले आफ्नो उपनाम ‘बुद्ध’ राखे । बुद्धको तस्बिरसहित उनी ती ब्याटलहरूमा यही नाममा प्रतिस्पर्धा गर्न थाले । सांगीतिक क्षेत्रमा पाइला अघि बढ्न लागिरहेकै बेला उनले उच्च शिक्षाका लागि बेलायत जानैपर्ने भयो ।
फलस्वरूप सन् २००९ को सेप्टेम्बरमा उनी ‘आईटी’ पढ्न बेलायत (यूके) उडे तर अध्ययनलाई बीचमै छाडेर काठमाडौंमा परिवारका सदस्यहरूलाई जानकारी नै नदिई नयाँ वर्ष २०११ को दोस्रो दिन स्वदेश फर्किए । ‘म बुद्धजस्तो शान्त त छैन नि,’ साप्ताहिकसँग तीन वर्षअघि कुराकानी गर्दै उनले भनेका थिए— ‘म बुद्ध त हुनै सक्दिनँ, किनभने ममा अशान्त स्वभाव पनि छ, मनमा नमोबुद्ध, यमबुद्धजस्ता नामहरू आइरहेका थिए । ममा बुद्धको जस्तो शान्त स्वभाव मात्र होइन, यमराजको जस्तो स्वभाव पनि छ भन्ने लाग्यो, त्यसैले आफ्नो उपनामको अघि ‘यम’ थपिदिएँ । त्यही दिनदेखि मेरो उपनाम ‘यमबुद्ध’ रहन गयो । ‘यमबुद्ध मेरो स्टेजको नाम हो । बुद्धले पनि कहिलेकाहीं यमराजको रूप लिनुपर्दो रहेछ भन्ने सोचेर पनि यमबुद्ध नाम राखेको हुँ ।’
यमबुद्धलाई यसरी सम्झन्छन् संगीतकर्मी
यमबुद्ध अत्यन्त मिलनसार, उदार तथा मृदुभाषाी स्वभावका र्यापर थिए । नेपाली र्याप क्षेत्रको चिन्ता लिने यमबुद्धले राम्रा गीत बनाउनका लागि अरू र्यापरलाई पनि हौसला दिने गर्थे । ऊ धेरै सपना बोक्ने मान्छे हो । उसको जोश सबैका लागि प्रेरणा थियो ।
लाउरे, र्यापर
नेपाली र्याप इतिहासमा नै एउटा नाम राख्न सफल र्यापर थिए यमबुद्ध । ब्याटललाई नेपालमा स्थापित बनाउन यमबुद्धको ठूलो हात छ ।
सबिन राई, गायक
यमबुद्धको खबरले मलाई मर्माहत बनाएको छ । उनले र्याप क्षेत्रको विकासका लागि फरक–फरक आइडियाहरु ल्याउँथे । म उनलाई योजनासहितको मान्छे भन्न मन पराउँछु ।
किरण श्रेष्ठ, र्यापर
सर्वप्रथम यमबुद्धको निधनको खबर मलाई स्तब्ध बनायो । नेपाली र्याप संगीतलाई लोकप्रिय बनाउन उनले दिएको योगदान शब्दमा वर्णन गर्न सकिन्न ।
रामकृष्ण ढकाल, गायक
धेरै दु:ख लागेको छ । धेरै कार्यक्रममा संगै हिँडियो, संगै सुतियो पनि । सहयोगी स्वभावका यमबुद्ध आँखामा राख्दा समेत नबिझाउने स्वभावका थिए । विराटनगरको त्यो एक दिन याद छ, मलाई म्युजिक ट्रयाक पनि गरेर मेरो ट्रयाक रेडी गरिदिएका थिए ।
हिमाल सागर, गायक
यमबुद्धको निधनले सिंगो सांगीतिक क्षेत्रले एउटा प्रतिभावान कलाकार गुमाएको अनुभव गर्दैछु । म अझै पनि पीडा महसुस गर्दैछु ।
नविन के भट्टराई, गायक
चनमते
आत्महत्या कायरले होइन, बहादुरले गर्छन् । सानो मुटु हुनेहरु सम्पूर्ण जीवन त्याग्ने आँट गर्न सक्दै सक्दैनन् ।
लेलिन बञ्जाडे
किन होला के सधैं धेरै राम्रा र असल मान्छे नै विविध कारणले छिट्टै मृत्युको मुखमा पुग्नु पर्ने ।
प्रतिभा गौतम
‘जित्नुभन्दा ठूलो कुरो हिम्मत नहानु हो’ भनेर लाखौं युवाको हिम्मतको साहारा बनेका उनले किन हिम्मत हारे थाहा भएन ।
ईङ्लिस बाको नाति
आत्महत्या कायरले गरे पनि बहादुरले गरे पनि आखिर जीवनको क्षती त भयो नि, हैन र ?
हराएकी परी
मानसिक स्वास्थ्य नामको चीज पनि केही हुन्छ भनेर मान्छेले कहिले बुझ्छन् होला ? आत्महत्या मानसिक स्वास्थ्यकै प्रदुषित रुप हो ।
रक्षा
जित्नुभन्दा ठूलो कुरा हिम्मत नहार्नु हो भनी लाखौं युवालाई उर्जा दिने तिमी आखिर सबैलाई लड्न सिकायौ तर आफू ? हार्दिक श्रद्धाञ्जली अनिल दाजु ।
रियाज म्याडजोन
कति पीडा होला, कति दु:ख होला अन्तिम बाटो मरण मान्छेहरुको जिन्दगीमा तर नि एकबारको जुनी यति सजिलै जान दिन चाहिं हुन्न जस्लो लाग्छ ।
विष्णु घिमिरे
र यमबुद्धको कुनै पनि रचना नसुन्ने मनुष्य मै रैछु तर श्रद्धाञ्जली भन्न चाहान्छु ।
सविन पौडेल
के लानु छ जिन्दगी दुई दिनको नासो, तँ चाँडै गैस तर एक दिन म पनि आउँछु....
शशी रिमाल


0 comments
प्रतिकृया दिनुहोस