ट्रम्पविरुद्ध स्टेवार्ट

माघ ९, २०७३- अमेरिकी राष्ट्रपतिका लागि शपथ लिएको एक दिन नबित्दै डोनाल्ड ट्रम्पविरुद्ध हलिउड नायिका क्रिस्टन स्टेवार्टले केहीअघिको घटनाबारे मुख खोलेकी छन् ।

चार वर्षअघि क्रिस्टनको प्रेमी रोबर्ट प्याटिन्सनलाई धोका दिएर निर्देशकसँग लहसिएको फोटोसहितको समाचार बाहिरिएपछि ठूलै काण्ड मच्चिएको थियो । उक्त घटनापछि नै क्रिस्टन र रोबर्टबीच दूरी बढेको थियो । उक्त समय कैयौं सेलिब्रिटी दुईको पक्ष र विपक्षमा उत्रिइरहेका बेला हालका राष्ट्रपति ट्रम्पले पनि एउटा टीट गरे, ‘रोबर्ट प्याटिन्सनले क्रिस्टन स्टुवार्टलाई फेरि अपनाउनुहुन्न । उनले रोबर्टलाई कुकुरलाई जस्तै व्यवहार गरेकी छन् र फेरि पनि गर्न सक्छिन् । हेर्दै जाऊँ ।’

हालैको एक अन्तरवार्ता क्रममा नायिकाले ट्रम्पको उक्त टीटबारेमा मुख खोलेकी हुन् । ‘उनी त्यो बेला मप्रति एकदमै पागल थिए । साँच्चै अति नै पागल भएका थिए,’ क्रिस्टनले ट्रम्पबारेमा थपिन्, ‘म आफैंलाई थाहा थिएन र जान्न पनि चाहन्नथें । त्यो निदर्यी खालको टिप्पणी थियो ।’ यस वर्ष ‘लिज्जी’ मार्फत पुन: दर्शकमाझ आउन लागेकी ‘टाइलाइट’ फेम नायिकाले उक्त बेला ट्रम्प एक रियालिटी स्टारजस्तै लागेको उल्लेख गर्दै भनिन्, ‘यहाँ धेरै युवतीहरूले तपार्इंलाई हेरिरहेका छन् र तिनीहरू यतिबेला हाम्रो नयाँ राष्ट्रपतिदेखि डराउन थालेका छन् ।’

0 comments

प्रतिकृया दिनुहोस