भारतको बिजुली सिधै काठमाडौं

माघ ५, २०७३- विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन हुँदै भारतबाट आयातित १ सय २० मेगावाट बिजुलीमध्ये २० मेगावाट मंगलबार बिहानदेखि सिधै काठमाडौं ल्याउन थालेको छ ।

२०५९/६० मा सुरु भएको खिम्ती–ढल्केबर २२० केभीको प्रसारण लाइनको निर्माण कार्य विभिन्न अवरोध पार गर्दै १४ वर्षपछि सम्पन्न भएकाले भारतबाट ढल्केबर ल्याइएको बिजुली मंगलबारदेखि सिधै काठमाडौं ल्याउन सम्भव भएको हो । ढल्केबर–खिम्ती हुँदै ल्याइएको बिजुली १३२ केभीको खिम्ती–लामोसाँघु–काठमाडौं प्रसारण लाइनबाट राजधानी ल्याइएको हो ।
‘ढल्केबर–खिम्ती प्रसारण लाइनको बाँकी एउटा मात्र टावरको निर्माण कार्य हालै सम्पन्न भएर सोमबार साँझ साढे ५ बजे सफल टेस्ट (परीक्षण) गर्‍यौं । त्यही प्रसारण लाइन हुँदै भारतबाट आयातित बिजुलीमध्ये मंगलबार बिहान ६:०२ बजेदेखि २० मेगावाट राजधानीमा ल्याउन थालिएको छ,’ विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले कान्तिपुरसित भने । उनका अनुसार खिम्ती–ढल्केबर डबल सर्किटको प्रसारण लाइन हो । हाल उक्त प्रसारण लाइन सिंगल सर्किटमा मात्र सञ्चालन गरिएको छ । छिट्टै डबल सर्किटमा सञ्चालन गरिनेछ ।

0 comments

प्रतिकृया दिनुहोस