रोनी म्यानचेस्टरको सर्वाधिक गोलकर्ता

इङ्लिस स्ट्राइकर वायने रोनी म्यानचेस्टर युनाइटेडबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्न पुगेका छन्। शनिवार अतिरिक्त खेलाडीको रुपमा मैदानमा प्रवेश गरेका रोनीले स्टोक सिटीविरूद्ध १–१ गोलको बराबरीमा टुँगिएको खेलमा ९४ मिनेटका अतिरिक्त समयमा गोल गरेका थिए।
उनले यसअघि क्लबका लागि सर्वाधिक गोल गर्ने सर बबी चाल्र्टनको कीर्तिमानलाई उछिन्दै २ सय ५० गोल पुरा गरेका हुन्। उनी २००४ मा १८ वर्षको उमेरमा इभर्टनबाट म्यानचेस्टर युनाइटेडमा आवद्ध भएका थिए। ३१ वर्षको उमेरमा ५ सय ४६ खेल खेल्ने क्रममा रोनी क्लबका सर्वाधिक गोलकर्ता बनेका हुन्।
उनले २०१५ मा चाल्र्टनको इङ्ल्यान्डबाट अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमानलाई पनि भंग गरेका थिए। रोनीले १ सय ८० गोल प्रिमियर लिगमा गरेका छन्। ३९ गोल भने युरोपेली प्रतियोगितामा हो। उनले १ सय ३६ गोल घरेलु मैदानमा र १ सय ६ गोल अरुको मैदान र ८ गोल न्युट्रल मैदानमा गरेका छन्।
उनले १ सय ९३ गोल दाहिने खुट्टा, २७ गोल देब्रे खुट्टा र ३० गोल टाउकोले गरेका छन्।

0 comments

प्रतिकृया दिनुहोस