राष्ट्रपति ट्रम्पबारे ९रोचक तथ्य

काठमाडौँ। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकाको ४५औँ राष्ट्रपतिको सपथ लिएका छन् । गत नोभेम्बर ८ मा सम्पन्न राष्ट्रपति निर्वाचनमा विजयी ट्रम्पले शुक्रबार एक विशेष समारोहबीच ह्वाइटहाउसमा सपथ लिएका छन् । टम्पले डेमोक्र्याटिककी हिलारी क्लिन्टनलाई पराजित गरी ह्वाइटहाउसको ढोका तय गरेका थिए । राष्ट्रपति निर्वाचन अभियानमा निकै विवादास्पद अभिव्यक्तिका कारण गत वर्षभरि नै ट्रम्प सञ्चार माध्यममा चर्चामा आएका थिए । प्रस्तुत छ राष्ट्रपति ट्रम्पबारे नौ तथ्य :

१. शिक्षकका गालामा थप्पड ट्रम्पको प्रारम्भिक शिक्षा उनको घरनजिकैको एउटा किन्डरगार्डेन स्कुल क्यू फरेस्टमा भएको थियो । विद्यालयमा ट्रम्प निकै छुच्चा र चकचके थिए । ट्रम्प कसैलाई टेर्दैनथे । ट्रम्पका सहपाठी पर्ल अनिसका अनुसार चार कक्षामा पुग्दा ट्रम्पले एकजना शिक्षकलाई नराम्रो पढाएको भन्दै कक्षाकोठाभित्रै गालामा थप्पड हानिदिएका थिए, तथापि ती शिक्षक उत्कृष्ट पढाउँथे, । ट्रम्पको आचरणबारे शिक्षकले तत्कालै हेडमास्टरसँग गुनासो गरेका थिए । हेडमास्टरले ट्रम्पलाई बोलाए, तर कुनै सजाय दिएनन् , किनकि ट्रम्पका बाबु पनि सो विद्यालयका बोर्ड सदस्य थिए । आफूलाई हेडमास्टरले पनि केही नगरेपछि ट्रम्प कक्षाबाहिर आएर आफूले थप्पड हानेका शिक्षकअगाडि मज्जाले नाचेका थिए । ट्रम्पको सो क्रियाकलापको केही सातासम्म चर्चा चलेको थियो ।

२. ट्रम्प लाइनमा कुर्दैनन् ट्रम्पलाई लाइनमा उभिन र बस्न मन पर्दैनथ्यो । उनकी बहिनी एलिजाबेथ ट्रम्पका अनुसार लाइनमा बस्नु नपरोस् र आफूलाई सर्वसाधारणले भिआइपीका रूपमा हेरून् भनेर ट्रम्पले ३० वर्षपहिले सुनको लिमोजिन कार किनेका थिए । सो कार किन्ने निर्णय एउटा महत्वपूर्ण घटनासँग जोडिएको छ । सन् १९८७ मा ट्रम्प र बहिनी एलिजाबेथ एउटा बैठक सकेर होटेलबाहिर निस्कँदै थिए । होटेलका चालक पार्किङमा राखिएका गाडी होटेलको लबीसम्म पुर्‍याउन व्यस्त थिए । तर, ट्रम्पले पाँच मिनेट पालो कुर्नुपर्ने भयो किनकि चालक भिआइपीका गाडी बाहिर निकाल्दै थिए । ‘प्लिज सर केही बेर पर्खनुहोस्,’ होटेलका चालकले ट्रम्पलाई अनुरोध गरे । आफ्नोभन्दा अगाडि भिआइपीको पालो आउने सुनेपछि ट्रम्पको रिसको पारो थामिनसक्नु भयो । उनी तत्कालै प्रसिद्ध कार कम्पनी कैडेलिकको अफिसमा पुगे र सुनको कार बनाउन निर्देशन दिए । सन् १९८८ मा कैडेलिक कम्पनीले ट्रम्पको मागबमोजिम २४ क्यारेट सुनले बनेको लिमोजिन कार बनाइदिएको थियो । आफू भिआइपीभन्दा के कम भन्दै उनले सुनको गाडी किनेका थिए । ३० वर्ष पहिला बनेको सो कारमा टिभी, फ्रिज, फ्याक्स, फोन तथा इन्टरनेटको सुविधा थियो ।

३. विद्यालयमै बम लैजान्थे ट्रम्प पढाइमा तेज थिए । तर कक्षामा निकै उपद्रो व्यवहार देखाउँथे । ट्रम्पका सहपाठी सैरान एन मजरेलाका अनुसार ट्रम्प स्कुलमा त्रास फैलाउन बारम्बार बम र चक्कु लिएर जाने गर्थे । एकदिन उनले फोहोरो राखेको सिसा कक्षाकोठाभित्रै फुटाएर दुर्गन्धित बनाएका थिए । सिसाबाट निस्केको धुवाँले सबैजना कक्षा छाडेर भाग्नुपरेको थियो । धेरैपटक उनले कक्षामा सिसा पड्काएर सहपाठीलाई आतंकित पारेका थिए । ट्रम्प र उनका एकजना साथी बम बनाउन प्रयोग हुने सामग्री किन्थे । धेरै बदमासी गरेकाले उनलाई विद्यालयले एकदिन निलम्बन गरिदिएको थियो ।

४. शिरानीमा चक्कु राख्थे एकदिन उनका बाबुले ट्रम्पको शिरानीमा चक्कु भेटेका थिए । छोरो बदमास हुने भयो भनेर पर्सिपल्टै ट्रम्पका बाबुले ट्रम्पलाई घरबाट सय किलोमिटरको दूरीमा रहेको मिलिट्री एकेडेमीमा भर्ना गरिदिएका थिए । मिलिट्री एकेडेमीका सहपाठी मार्क गोल्डिङका अनुसार ट्रम्पलाई बेड मिलाउन, कपडा धुन र जुत्ता पालिस गर्न आउँदैनथ्यो । ‘उनका घरमा यी सबै काम नोकरले गर्थे । स्कुलको होस्टलमा ती काम सिक्न ट्रम्पलाई महिनौँ लागेको थियो । ‘मैले उनलाई लुगा लगाउन धेरैपटक सहयोग गरिदिएको थिएँ,’ सो विद्यालयका ट्रम्पका सहपाठी मार्क गोल्डिङ भन्छन् ।

५. छात्राको कुटाइ खाएका थिए ट्रम्प छात्रासित कक्षाभित्रै साह्रै नराम्रो व्यवहार देखाउँथे । उनी नोट बेरेर लामो पारी केटीहरूको टाउकोमा पछाडिबाट हिर्काउँथे । त्यस्तै, आफ्नाअगाडि भएका केटीको पछाडिबाट चुल्ठो तानिदिन्थे । एकदिन उनले आफ्नै सहपाठी एक महिला साथी सैरान एन मजरेलालाई दुव्र्यवहार गरेका थिए । बारम्बारको दुव्र्यवहारपछि ट्रम्पलाई मजरेलाले नराम्रोसँग कुटेकी थिइन् । ‘एकदिन त मलाई साह्रै रिस उठ्यो त्यसैले आफूले बोकेको स्टिलको टिफिन बक्सले उसको गालामा हिर्काइदिएँ । ट्रम्पको गालाबाट हल्का रगत आएको थियो । मैले उसलाई लखेटेर स्कुलको कम्पाउन्डबाहिसम्म पुर्‍याएकी थिएँ,’ मजरेला स्मरण गर्छिन् । स्कुलको मैदानमा ट्रम्प प्लेबोइको व्यवहार देखाउँथे । वरिपरि केटी जम्मा गरेर आफूलाई तान्न लगाउँथे ।

६. छोरीलाई असाध्यै माया गर्छन् ट्रम्प आफ्नो परिवारका सबै सदस्यको हेरविचार गर्छन् । तर, सबैभन्दा बढी माया भने छोरी इभान्का ट्रम्पलाई गर्छन् । एकदिन इभान्का दुर्घटनामा परेकी थिइन् । त्यतिवेला डोनाल्ड ट्रम्प छोरीलाई कुरेर दुई दिनसम्म अस्पतालमा नै बसे । ‘अस्पतालबाट इभान्कालाई डिस्चार्ज नगरेसम्म ड्याडीले केही खानुभएन । यसअघि ड्याडीले कहिल्यै पनि दुई दिनसम्म नखाई बसेको मैले देखेको थिइनँ,’ ट्रम्पका पुत्र एरिक ट्रम्प भन्छन् । ट्रम्प जहाँ जुनसुकै महत्वपूर्ण बैठकमा भए पनि बैठक सकेपछि एरिक, इभान्का, जुनियर डोनाल्डलगायत परिवारका सबै सदस्यसँग कुरा गर्नुहुन्छ । ‘यो उहाँको साह्रै राम्रो बानी हो,’ एरिक भन्छन् । उनी जस्तोसुकै महŒवपूर्ण बैठकमा भए पनि इभान्का र जुनियर डोनाल्डको फोन उठाइछाड्छन् । मिटिङ नै होल्ड गरेर भए पनि इभान्काको फोन उठाउँछन् ।

७. प्रतिस्पर्धी देख्न चाहँदैनन् ट्रम्प कहिल्यै पनि आफ्ना प्रतिस्पर्धीलाई अगाडि देख्न सक्दैनथे । आफ्नो प्रतिस्पर्धी कोही नभइदिएहुन्थ्यो भन्छन् । एकपटक ट्रम्प र सो विद्यालयका क्याप्टेनबीच को ठूलो भन्ने प्रतिस्पर्धा चलेको थियो । दुवैले आफूलाई ठूलो भएको रवाफ छाडे । त्यसपछि जसले धेरै सुन्तलाको बोक्रा नछोडाई खान्छ त्यही ठूलो हुने ट्रम्पले बताए । बिहानको समय थियो । परेड खेलेपछि उनीहरूलाई सुन्तला दिइयो । ‘ट्रम्पले बोक्रै नफाली ५० वटा सुन्तला खाएका थिए । उनको रेकर्ड मिलिट्री एकेडेमीमा अझै पनि चर्चित छ । जितपछि क्याप्टेनले पूर्वसर्तबमोजिम मलाई र ट्रम्पलाई तीन दिन छुट्टी दिएका थिए,’ ट्रम्पका सहपाठी गोल्डिङ भन्छन् ।

८. विश्वप्रसिद्ध हुनेछु क्यू फरेस्ट विद्यालयमा एकदिन खेल प्रतियोगिता भएको थियो । ट्रम्प पनि खेलमा सहभागी हुन चाहन्थे । ट्रायलमा उनले मञ्चमा राम्रो प्रस्तुति देखाए । उनको प्रस्तुतिबाट स्वयं आयोजक प्रभावित भएका थिए । तर, उनको घमन्डी र खराब स्वभावका कारण उनी मनोनयनमा परेनन् । ट्रम्प निकै रिसाए । रिसको झोकमा ट्रम्पले आफू कुनै दिन अमेरिकी राष्ट्रपति बनेर देखाइदिने बताएका थिए । ‘एकदिन म यति प्रसिद्ध हुनेछु कि भविष्यमा एक शक्तिशाली र उस्तै परे अमेरिकाको राष्ट्रपति हुनेछु,’ ट्रम्पले भनेका थिए । कसैका अगाडि झुुक्न र सानो हुन नजान्ने ट्रम्प राष्ट्रपति बनेका छन् ।

९. कपाल कोर्दा परीक्षा नै बिर्से ट्रपलाई आफ्नो कपालप्रति अति लगाव थियो । स्कुलमा पढ्दा उनी हरेक आधा घन्टामा सिसाअगाडि गएर कपाल कोर्थे । कपाल र लगाउने जुत्ता निकै आर्कषक हुनुपर्छ भन्ने ट्रम्पको मान्यता थियो । ‘कपाल र जुत्ताले युवतीलाई आर्कर्षित गर्न सकिन्छ,’ ट्रम्प बारम्बार भन्ने गर्थे । एकदिन उनले एक युवतीलाई भेट्ने कार्यक्रम थियो । भेट्नुअघि उनले २० मिनेटभन्दा बढी कपाल कोरे । उनी युवती भेट्न यति उत्सुक थिए कि निर्धारित समयभन्दा एक घन्टाअघि नै पुगेका थिए । चिटिक्क परेर युवतीलाई भेटेको एक घन्टापछि मात्र उनले आफ्नो परीक्षा छुटेको पत्तो पाएका थिए । वास्तवमा त्यो दिन ट्रम्पको परीक्षा थियो । परीक्षा दिएर युवतीलाई भेट्ने उनको तयारी थियो । तर, कपाल कोर्दाकोर्दै जाँच दिनै बिर्से । परीक्षा छुटेकाले उनी दोस्रो सेमेस्टरमा फेल भएका थिए । ट्रम्पलाई अहिले पनि कपाल निकै मन पर्छ ।

0 comments

प्रतिकृया दिनुहोस