प्रचण्ड सरकार धर्मराउन थालेको मधेसी मोर्चाको शंका, यस्तो रहेछ कारण

काठमाडौं, १३ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार धर्मराउन थालेको शंका व्यक्त गर्न थालेका छन् ।

मोर्चाको माग सम्बोधनका लागि भन्दै पुस २४ गते व्यवस्थापिका संसद्मा संविधान संशोधन विधेयक टेबुल गराएको सरकार सोही विधेयकका कारण धर्मराउन थालेको मोर्चाको बुझाइ छ ।

प्रचण्ड नेतृत्वको सरकारले पनि आफ्ना माग पूरा गर्ने सम्भावना टर्दै गएको निष्कर्षमा मोर्चा नेताहरू पुग्न थालेका हुन् ।

संशोधन विधेयमा प्रमुख प्रतिपक्षी एमालेलगायतका दलले गरिरहेको विरोध र सत्ता गठबन्धनका दलहरूभित्रैको असन्तुुष्टि सरकार धर्मराउनुको कारण भएको मोर्चाका एक नेताले बताए ।

केही समयअघि मात्रै सत्ताघटक राष्ट्रिय प्रजातन्त्र पार्टीले राजनीतिक नियुक्ति, मन्त्रिपरिषद् विस्तार, राजनीतिक संवादलगायत विषयमा कांग्रेस र माओवादी केन्द्रले एकलौटी गरेको आरोपसहित जुनसुकै बेला सरकारबाट बाहिरिन सक्ने भन्दै आफ्ना मन्त्रीलाई तयार रहन निर्देशन दिएको थियो ।

दुई राप्रपा एक भएसँगै राप्रपाले सरकारमाथि दबाब बढाउँदै लगेको छ । गत शनिबार प्रधानमन्त्रीले बोलाएको चारदलीय बैठक राप्रपाले बहिष्कार गरेको थियो । केही दिनदेखि राप्रपा अध्यक्ष कमल थापाले उपप्रधानमन्त्रीसहित दुई मन्त्री नपाए कांग्रेस–माओवादी केन्द्रका शीर्ष नेतालाई आफूहरू सरकारबाट बाहिरिन सक्ने चेतावनी दिँदै आएका छन् ।

राप्रपाको चेतावनी, एमाले अध्यक्ष केपी ओली र कमल थापाले सुरु गरेको सरकार परिवर्तनको चलखेलका कारणले पनि मोर्चाका नेताहरू सरकार कमजोर बनेको निष्कर्षमा पुग्न थालको स्रोतको दाबी छ । कांग्रेसले निर्वाचनका विषयमा दोहोरो चाल चालेर सरकारलाई अस्थिर बनाउन खोजेको गुनासो गरेका छन् ।

बालुवाटारमा मंगलबार बसेको माओवादी केन्द्र, कांग्रेस र मधेसी मोर्चासँगको बैठकमा प्रधानमन्त्री प्रचण्डले नहुने चुनाव भन्दा सत्ता त्याग्छु भनेपछि मोर्चा थप सशंकित बनेको बताइएको छ । बैठकमा सहमतिबिना निर्वाचन घोषणा नहुने र निर्वाचन घोषणा गर्नैपर्ने बाध्यता आए नहुने निर्वाचनको मिति घोषणा गर्नुभन्दा मेरो लागि सत्ता त्याग्नु उत्तम हुने बताएका थिए ।

सरकार संकटमा रहेको निष्कर्ष निकालेका मोर्चा र संघीय गठबन्धनका नेताहरू नयाँ शक्तिलगायतका दलहरूसँग मिलेर ‘महागठबन्धन’ निर्माण गर्ने पक्षमा देखिएका छन् । मोर्चासँगको छलफलअघि गत शनिबार तीन दलले निर्वाचनको विषयमा भएको विषयमा सैद्धान्तिक सहमति भएपछि गठबन्धनका नेताहरूको मनमा चिसो पसेको थियो ।

सरकारले गठबन्धनसँग एकथरी अनि प्रमुख प्रतिपक्षीसँग अको थरी कुरो गरिरहेको उनीहरूको बुझाइ छ ।

यद्यपि मंलबारको बैठकमा तीन दलले निर्वाचनका विषयमा गरेको सैद्धान्तिक सहमतिलाई आशंका नगर्न र मोर्चाको सहमतिमै निर्वाचनको मिति घोषणा गर्ने सत्तारुढ दलले आवश्वासन दिएपछि मोर्चाका नेताहरू केही आश्वस्त भएको बुझिएको छ ।

यद्यपि सरकारले धोका दिए आन्दोलनका लागि महागठबन्धन बनाउने तयारी भने भइरहेको छ । थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम चौधरीले सरकारले संशोधनविनै निर्वाचनको मिति घोषणा गरे आन्दोलनको तयारीस्वरूप महागठबन्धन बनाउने तयारी भइरहेको सुनाए ।

सरकार धर्मराउन लागेको राजनीतिक संकेत देखिन थालेकाले आदिवासी जनजाति महासंघलगायत संगठन र राजनीतिक दलहरूसँगको सहकार्यमा महागठबन्धन बन्न सक्ने उनले जानकारी दिए ।

0 comments

प्रतिकृया दिनुहोस