निर्वाचनसम्बन्धि विधेयक छलफलमै

काठमाडौ–व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले निर्वाचनसम्बन्धि विधेयक छलफलको क्रममा रहेको जनाएको छ ।

संसदले राज्य व्यवस्था समितिमा पठाएको थ्रेस होल्ड, दल दर्ता, निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार, निर्वाचन कानुन, निर्वाचन कसुर तथा सजाय सम्बन्धि विधेयकबारे निरन्तर छलफल भइरहेको जानकारी दिइएको हो ।

प्राप्त विधेयकमाथि राजनीतिक सहमति समेत जुटाउनुपर्ने भएकाले छलफल लम्बिएको समितिका सचिव भरतराज गौतमले जानकारी दिए । उनले उपसमितिमा छलफलको क्रममा रहेको विधेयक राजनीतिक दल सम्बन्धी विधेयकमा राजनीतिक सहमतिका लागि सरकार र प्रमुख दलका नेताहरुसँग छलफल भईरहेको पनि बताए ।

सचिव गौतमले राजनीतिक दल सम्बन्धी विधेयकमा धेरै संसोधन परेको र राजनीतिक सहमतिसमेत आवश्यक परेकाले छलफल लम्बिएको पनि उल्लेख गरे । दलहरुबीच थ्रेस होल्ड, दल दर्तालगायतका विषयमा पनि सहमति जुटन सकेको छैन । समितिले दलहरुबीच सहमति जुटाएर विधेयकलाई अन्तिम रुप लिन गृहकार्य गरिरहेको पनि जनाएको छ ।

निर्वाचनको मिति घोषणा नगरेको भन्दै नेकपा एमालेसहितका प्रतिपक्षी दलहरुले सरकारको आलोचना गर्दै आएका छन् । २०७४ साल माघ ७ भित्र तीनै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

0 comments

प्रतिकृया दिनुहोस