नेपालको शान्ति प्रक्रियालाई केही देश महत्व दिएनन्– प्रधानमन्त्री

काठमाडौं, ५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति र संविधान निर्माण प्रक्रिया विश्व समुदायकै लागि मौलिक र शिक्षाप्रद रहेको बताएका छन् ।

बुधबार दिउँसो न्यूयोर्क युनिभर्सिटीको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाले युद्धरत देशहरुले राजनीतिक सम्वाद र सहकार्यका माध्यमबाट कुनै पनि समस्याको समाधान खोज्न सकिन्छ भन्ने सन्देश दिएको दाबी गरे ।

‘विश्वमा युद्ध र शान्तिका थुप्रै उदाहरणहरु छन् । थोरै देशमा मात्रै शान्ति प्रक्रिया सफलतामा पुगेका छन् । तर, नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया आफैंमा मौलिक छ, विश्व समुदायका लागि शिक्षाप्रद छ । हाम्रो शान्ति प्रक्रियाले युद्धरत देशहरुले राजनीतिक सम्वाद र सहकार्यका माध्यमबाट कुनै पनि समस्याको समाधान खोज्न सकिन्छ भन्ने सन्देश दिएको छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

नेपालको जस्तो शान्ति प्रक्रिया विकसित मुलुकमा भएको भए त्यसले थप महत्व पाउने उल्लेख गर्दै उनले नेपालको शान्ति प्रक्रियालाई कतिपय देश र समुदायले यसलाई महत्व नदिएको गुनासो गरे ।

‘नेपालको जस्तो शान्ति र संविधान निर्माणको प्रक्रिया मौलिक ढंगले युरोप वा अमेरिकी देशमा सम्पन्न भएको भए त्यसले विश्व स्तरमै छुट्टै महत्व पाउँथ्यो । त्यसलाई विश्वमा शान्ति स्थापनाको युगान्तकारी र मौलिक कदम ठानिन्थ्यो’, उनले भने ।

माओवादीको नेतृत्वमा भएको युद्ध आतङ्ककारी गतिविधि नभएर जनयुद्ध रहेको दाबी गरेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले राज्यसत्ताको मूल प्रवाहबाट विमुख रहेका वर्ग, जाति, लिङ्ग, समुदायको अधिकार, राष्ट्रको स्वाभिमान र प्रगतिका लागि गरिएको राजनीतिक लडाईंका रुपमा माओवादी युद्धको ब्याख्या गरे ।

0 comments

प्रतिकृया दिनुहोस