अनुमतिबिनै उड्ने ‘ड्रोन’ सरकारले किन रोक्न सकेन ?

पछिल्ला वर्षमा चीनको सीमानातर्फ ड्रोनको प्रयोग धेरै बढेको छ : प्रहरी
माघ १२, २०७३- पोहोर मंसिर १५ गते जर्मन जोडी लोमान्थाङबाट पक्राउ परे । प्रहरीलाई कसैले आकाशमा ड्रोन (Drone) उडाएको खबर गरेपछि जर्मन नागरिक टोफेर माइकल (Toepfer Michael) र उनको गर्लफ्रेण्ड अन्जा (Anja) पक्राउ परेका थिए । पक्राउ पर्दा उनीहरुको साथबाट ड्रोनको रिमोट कन्ट्रोल बक्स फेला पर्‍यो । प्रहरीको अनुसन्धानमा माइकलले ड्रोनबाट खिचेका भिडियो र तस्बिर युरोपमा बिक्री गर्ने गरेको रहस्य खुल्यो । खासगरी, जटिल स्थानका प्राकृतिक सामग्रीलाई उनले ड्रोन मार्फत कैद गरेर वृत्तचित्र बनाएर बिक्री गर्दे आएका थिए ।

मुस्ताङ लगायतका उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोग पछिल्ला वर्षमा निकै बढेको छ । चीनको सीमानासँग जोडिएका नेपाल तर्फको भुभागलाई उपयोग गर्दे विदेशीले जासुसीको रुपमा ड्रोन उपयोग गरेको तथ्य प्रहरीको अनुसन्धानमा देखाएको छ । पर्यटकको आवरणमा क्यामरा र ड्रोनसँगै ल्याउने भएकोले प्राकृतिक वस्तुदेखि सीमानाका गोप्य गतिविधिलाई जासुसीले नियाल्ने गरेका छन् । चीनविरोधी मुलुकका नागरिकले नेपालको भूभागबाट कैद गरिएका सामग्री आफ्नो अनुकूल प्रयोग गर्ने तथ्य धेरै पटक सार्वजनिक भइसकेको छ ।

यहाँका स्थानीयले आकाशमा उडेका ड्रोन धेरै देखे । एक वर्षअघिसम्म प्रशासनले यसलाई नियन्त्रण गर्न सकेको थिएन । ‘हामीले पहिले पहिले ड्रोन धेरै देख्यौं,’ लोमान्थाङका व्यापारी छेवाङ गुरुङ भन्छन्, 'यो वर्ष त्यति देखिएको छैन ।’ सरकारले निषेधित क्षेत्रमा मुभी क्यामेरादेखि ड्रोन लैजान प्रतिबन्ध गरेको छ । कागवेनीदेखि माथिल्लो मुस्ताङमा क्यामरा वा ड्रोन लैजान सञ्चार र गृहमन्त्रालयको अनुमति लिनुपर्छ । तर, लुकिछिपी ड्रोन लैजाने क्रमलाई सरकारले नियन्त्रण गर्न सकेको छैन ।

०६८ सालमा एक अमेरिकी पत्रकारले उपल्लो मुस्ताङको दामोदरकुण्ड पुगेर ड्रोन उडाए । उनले कैद गरेका भिडियोलाई भारतमा लगेर प्रदर्शन गरेपछि यो विषयले निकै चर्चा पाएको थियो । प्रहरीको अनुसन्धान अनुसार, पछिल्ला वर्षमा चीनको सीमानातर्फ ड्रोनको प्रयोग धेरै बढेको देखिएको छ । ड्रोनको अवैधानिक प्रयोगलाई नियन्त्रण गर्न प्रहरीले निर्देशिका नै जारी गर्नु पर्‍यो । ‘गृहमन्त्रालयको निर्देशिकालाई कडाईका साथ पालना गर्न ७५ जिल्लामै प्रहरीले सर्कुलेसन गरेको छ,’ केन्द्रीय अनुसन्धान व्यूरो प्रमुख डीआईजी नवराज सिलवाल भन्छन्, 'खासगरी, यसलाई विदेशीले गलत रुपमा प्रयोग गर्ने गरेको तथ्य फेला पारेका छौं ।’ वृत्तचित्र बनाउने नाममा जासुसीको रुपमा ड्रोन उपयोग हुने गरेको आशंका प्रहरीले गरेको उनले बताए ।

मुस्ताङमा चलचित्र छायांकन गर्ने चलन पछिल्ला वर्षमा निकै बढेको छ । चलचित्र र वृत्तचित्र बनाउनकै लागि क्यामरा र ड्रोन प्रयोग गर्न अनुमति लिएर आउने संख्या बढेको प्रहरीले जनायो । ‘अनुमति लिएर आउनेलाई हामी रोक्दैनौं, मुस्ताङका प्रहरी प्रमुख हरिहरनाथ योगीले भने,’ अनुमति नलिनेलाई नियन्त्रणमा लिन प्रहरीले जिल्लाभरी प्रहरीलाई खटाएको छ ।’ अनुमति लिएर आउनेलाई पनि गलत रुपमा ड्रोन र क्यामेराको प्रयोग नगर्न सचेत गराइएको उनले बताए । गत वर्षको मंसिरमा एक जोडी जर्मन नागरिक ड्रोनसहित समातिएपछि यसको नियन्त्रणमा प्रहरी चनाखो बनेको उनको भनाइ छ ।

के हो ड्रोन ?
क्यामेरा जडित आकाशमा उड्ने एक प्रकारको रोवोट हो यो । सुरुमा यसलाई मानवरहित विमान भनियो । अहिले यो फिल्म निर्माण र वृत्तचित्र बनाउने काममा बढी प्रयोग हुन थालेको छ । यसलाई अहिले Flying Camera को नामले चिनिन्छ । यो विश्वभरि छ्याप्छ्याप्ती प्रयोग भएकोले यसको पहुँच सर्वसाधारणसम्म पुगेको छ । यसको रिमोट कन्ट्रोलबाट दिशा र गति नियन्त्रण हुन्छ । ड्रोनमा जडान गरिएको क्यामेराले धेरै टाढासम्मका दृश्य कैद गर्न सक्छ ।

चीनले कोरला नाकादेखि लोमान्थाङ क्षेत्रको गतिविधि नियाल्न धेरै पटक ड्रोनको उपयोग गरेको स्थानीय सुनाउँछन् । अनुमति नलिइकन उडाइएका यस्ता ड्रोन सीमानामा प्रयोग भएका देखिन्छन् । द्वन्द्वग्रस्त मुलुकमा ड्रोनको उपयोगमार्फत खतरनाक स्थानका गतिविधि खिचेर ल्याउने चलन बढेको छ । यसलाई विश्वका शक्तिशाली सेनाले उपयोग गर्दे आए । तर, अहिले आएर ड्रोन विश्वका आतंकवादी संगठनले पनि निकै उपयोग गरेका छन्

0 comments

प्रतिकृया दिनुहोस