देश टुक्र्याउने भारतमा गुरिल्ला तालिम भइरहेको भीम रावलको ‘ब्रिफिङ’ पछि प्रचण्डले के भने ?

यतिबेला नेपाली राजनीति एमाले उपाध्यक्ष भीम रावलले केही समयअघि प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा गरेको ‘ब्रिफिङ’ ले तताएको छ । नेपाली सार्वभौमसत्ता र अखण्डताविरुद्ध भारतमा भइरहेको ‘गोप्य गतिविधि’ बारे सुरक्षा स्रोतको हवाला दिँदै रावलले गरेको ‘ब्रिफिङ’ पछि कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूबीच चर्चा परिचर्चा हुन थालेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन साताअघि बोलाएको पाँच दलको शीर्ष बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, राप्रपा अध्यक्ष कमल थापा र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए । बैठकको सुुरुमै एमाले उपाध्यक्ष रावलले तराईलाई टुक्र्याउन भारतमा गुरिल्ला तालिम भइरहेको र त्यो तालिममा पूर्वप्रहरी, मधेसी दलका युवाहरू र केही भारतीयहरू पनि सहभागी रहेको दाबी गरेका थिए । ‘गृह र रक्षा मन्त्रालयसमेत सम्हाल्ने अनुभव प्राप्त गरेका कारण मैले यो सूचना पाएको हुँ,’ उनले भने । रावलले करिब एक सय ५० जति आत्मघाती आक्रमण गर्न सक्ने गुरिल्ला तयार गरिएको, आक्रमणपछि नेपाली भूभागमा गाड्न लाखौं थान भारतीय झण्डासमेत तयार गरिएको र यो अभियानमा विहार राज्यका एकजना मन्त्री, भारतीय धेरै नेताहरू, सिताराम याचुरीलगायत १२ बुँदे सम्झौतामा सक्रीय भारतीय नेताहरूको समेत संलग्नता रहेको सूचना आफूले पाएको ‘ब्रिफिङ’ गरेका थिए । स्रोतका अनुसार रावलको सो ‘ब्रिफिङ’ पछि नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका थिए । ‘संविधान कार्यान्वयनको जटिलतालाई कसरी फुकाउने भन्ने कुरा अहिलेका लागि महत्वपूर्ण हो, यस्ता बकम्फुसे कुरामा मुलुकको ध्यान मोडेर छलफल गर्न थाल्ने हो भने चुनावै हुँदैन, चुनाव नभए संविधान कार्यान्वयन नै हुँदैन, संविधान कार्यान्वयन भएन भने सबै थोक सकिन्छ, आफैं सकिन्छ, कसैले गुरिल्ला ट्रेनिङ गर्नै पर्दैन,’ देउवाले बैठकमा राखेको भनाइ उद्धृत गर्दै बुढानिलकण्ठ स्रोतले भन्यो । एमाले उपाध्यक्ष रावलले प्राप्त गरेको भनिएको यो सूचनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने निकै चासो दिएको बुझिएको छ । उनले त्यसको केही दिनअघि रावललाई भेटेरै के के भइरहेको छ ? लिखित रूपमा दिनोस् भनेका थिए । त्यसपछि रावलले तीन पेज लिखित प्रतिवेदन दिएको प्रचण्डले मोर्चाको बैठकमा नेताहरूलाई जानकारी गराएका थिए । आफूले सुरक्षा स्रोतको हवाला दिँदै भनेको कुरा बाहिरिएपछि रावल अहिले तनावमा परेको बुझिएको छ । सो बैठकपछि रावलले अभिव्यक्ति दिन बन्द गरेको एमाले नेताहरूको भनाइ छ । रावलले बनाएको उक्त प्रतिवेदनलाई नेपाली कांग्रेसले हावाधारी र मुलुकको ध्यान अन्यत्रै मोड्न गरिएको षड्यन्त्रका रूपमा लिएको छ भने माओवादीले गम्भीर रूपमा लिएको छ । यस विषयमा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेको समाचार पनि एमाले वृत्तबाट प्रवाह भएको छ । नेपालका सुरक्षा अंगले भने यस विषयमा आफूहरूलाई कुनै जानकारी नभएको रिपोर्टिङ प्रधानमन्त्रीलाई गरिएको स्रोतले बतायो । -source

0 comments

प्रतिकृया दिनुहोस