किर्गिजस्तानमा विमान दुर्घटना, ३७ को मृत्यु - (एजेन्सी), किर्गिजस्तान

माघ ३, २०७३- किर्गिजस्तानको प्रमुख विमानस्थल मनासनजिकै सोमबार बिहान एक मालबाहक बोइङ ७४७ दुर्घटनामा हुँदा ३७ व्यक्तिको मृत्यु भएको छ । रोयटर्सले मर्नेहरूमा अधिकांश दुर्घटनास्थलका बासिन्दा भएको बताएको छ । एफएफपीले मर्नेमा चार विमान चालक र अन्य स्थानीय बासिन्दा परेको अधिकारीहरूलाई उल्लेख गरेको छ । उक्त विमान बाक्लो कुहिरोबीच अवतरण गर्न खोज्दा जनघनत्व भएको क्षेत्रमा दुर्घटनामा परेको थियो । स्थानीय समयअनुसार बिहान साढे ७ बजे डाचासु गाउँमा दुर्घटनामा परेको किर्गिजस्तानका आपतकालीन सेवा मन्त्रालयका एक प्रवक्ताले बताउँदै मर्नेमा प्राय: सोही गाउँका बासिन्दा भएको जनाएका छन् । टर्किस एयरलाइन्सको उक्त विमान हङकङबाट किर्गिजस्तानको राजधानी बिस्केक हुँदै इस्तानबुलतर्फ उडेको थियो । दुर्घटनामा १५ घर क्षतिग्रस्त भएको आपतकालीन सेवा मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयले दुर्घटनाका कारण आगो लागेको र हाल त्यसलाई नियन्त्रणमा लिइएको बताएको छ । काठमाडौंस्थित टर्किस एयरलाइन्सले दुर्घटनाग्रस्त विमान टर्किस एयरलाइन्सको नभएर टीसी–एसिएल दर्ता नम्बरको विमान एसीटी एयरलाइन्सको भएको दाबी गरेको छ । ‘न विमान न त चालक दलका सदस्य नै टर्किस एयरलाइन्सका हुन्,’ क्षत्रीय बजार प्रतिनिधि अर्चना श्रेष्ठले सोमबार विज्ञप्तिमार्फत भनेकी छन् । -source

0 comments

प्रतिकृया दिनुहोस