मृत्युसँग जुध्दै कोरियाको अस्पताल शैय्यामा एक नेपाली

- मञ्जु गुरुङ<, दक्षिण कोरिया पुस २९, २०७३- विदेशिनु आजकल नेपाली युवायुवतीको नियती जस्तै बनेको छ । कैयौंले उतै अन्तिम श्वास फेर्छन् । बाक्सामा भित्रिएर कसैले नेपाली माटो चुम्न पाउँछन् त कसैको भाग्यमा त्यो पनि सम्भव हुँदैन । कोही महिनौं अस्पतालको शैय्यामा मृत्युसँग युद्ध गर्न बाध्य हुन्छन् । दक्षिण कोरियामा पनि हाल एक नेपाली युवा एक महिनादेखि मृत्युसँग जुधिरहेका छन् । चितवन जगतपुर-७ निवासी सुकमान लुङ्बा अस्पतालको सघन कक्षाको शैय्यामा मृत्युको मुखबाट आफूलाई बचाउन अथक् प्रयास गरिरहेका छन् । इन्छन शहरस्थित यन्से सेब्रान्स अस्पतालमा कृत्रिम श्वासप्रश्वासको सहारामा प्राण धानी रहेका छन् सुकमान । अस्पतालमा न त उनका कोही साथी, न त आफन्त । गुमनाम एक्लै प्रदेशीभूमिमा मृत्युसँग संघर्ष गरिरहेका छन् ।

करिब एक महिनाअघि मुखबाट रगत बगिरहेको अवस्थामा बाटोमा भेटिएपछि कोरियनहरुले नै अस्पताल पुर्‍याइदिएका थिए । उनको साथमा भएको पासपोर्टको एक पाना फोटोकपीको पहिचानमा उनी नेपाली भनेर चिनिएपछि सोलस्थित राजदूतावासमा कोरियनहरुले नै खबर गरिदिएका थिए । दूतावासको श्रमसहचारी देवराज ढकालले कोरियामा रहेका विभिन्न नेपाली समितिका प्रतिनिधिहरुलाई जानकारी गराएका थिए । गत आइतबार अस्पताल पुगेका तामाङ संघ कोरियाका सदस्य तथा गाउँले मनोज लामाका अनुसार हालसम्म अस्पतालको खर्च १२ करोड वन पुगिसकेको अस्पतालले जनाएको छ । सुकमानलाई क्षयरोग लागेको चिकित्सकले जनाएका छन् । सुकमानको अवस्था अझै पनि अचेत नै रहेको लामाले बताए । नेपालमा परिवारसँग सम्पर्क हुन नसकेको लामाले बताए । पत्निले छाडेर अन्तै गएको अपुष्ट समाचार प्राप्त भएको र अभिभावक पनि पत्ता लगाउन नसकेको लामाको भनाइ रहेको छ । लामाकाअनुसार बिरामी अचेत भई बोल्न नसक्ने भएकाले बिरामीबारे थप जानकारी पाउन पनि कठिनाइ भइरहेको छ । बिरामी धेरै वर्षदेखि गैरकानुनी रुपमा कोरियामा रहँदै आएको सुनिएको पनि उनले थपे । त्यस्तै अस्पतालमा पुगेका एनआरएन कोरियाका उपाध्यक्ष लक्ष्मी गुरुङकाअनुसार बिरामीको शरीरमा क्षयरोगका किटाणु धेरै फैलिएकोले छुट्टै क्षयरोग अस्पतालमा लगेर उपचार गर्नुपर्ने चिकित्सको सुझाव छ। अर्को अस्पतालमा लानलाई जिम्मेवार व्यक्तिको आवश्यक परेकोले कोही पनि आफ्न्त नपाइरहेको गुरुङको भनाइ छ । सुकमानको लागि कोरियामा चितवन सम्पर्क समिति र नेपाल तामाङ संघले छुट्टा छुट्टै आह्वान गरी आर्थिक संकलनको अभियान चलाएका छन् । कोरियामा यसभन्दा पहिला पनि धेरै पटक यस्ता बिरामीहरुको लागि आर्थिक संकलन गरी सहयोग गर्दै आएका छन् । तर, हरेक पटक यस्तै आपतविपत परेको बेला आह्वान गरिरहनुभन्दा सबैको संलग्नतामा कल्याणकारी कोष स्थापना गर्न आवश्यक रहेको गुरुइले बताइन् । दक्षिण कोरियामा सन् २०१४ मा पनि करिब १५ वर्ष कोरियामा गैरकानुनी बस्दै आएका पदम गुरुङको रोगकै कारण अस्पतालमा निधन भएको थियो । उनको पनि नेपालमा पत्निको निधन भइसकेको र छोराहरुले पनि यतै अन्त्यष्टि गर्न भनेकोले तमुधिं कोरियाको पहलमा कोरियामै अन्त्येष्टि गरिएको थियो । -source

0 comments

प्रतिकृया दिनुहोस