दुई सय ८० सिटको विमान आउने पक्का

काठमाडौंः नेपालको हवाई इतिहासमा पहिलो पटक दुई सय ८० सिट क्षमताको वाइडबडी विमान आउने पक्का भएको छ । नेपाल वायुसेवा निगमले आगामी असोजभित्र वाइडबडी विमान ल्याउन लागेको हो । विमान खरिदका लागि अमेरिकन कम्पनी एएआरलाई छनोट गरेपछि वाइडबडी भित्रिने निश्चित भएको हो । निगमले दुईवटा वाइडबडी विमान ल्याउन लागेको छ । पहिलो विमान असोज र दोस्रो विमान चैतभित्र ल्याइसक्ने निगमको कार्ययोजना छ । अहिलेसम्म कुनै पनि नेपाली वायुसेवा कम्पनीसँग दुई सय ८० सिट क्षमताको विमान थिएन । एएआरले पेस गरेको निवेदनकै आधारमा वाइडबडी विमान उपलब्ध गराउन निगमको मूल्यांकन कमिटिले सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा निगम सञ्चालन बोर्डले एएआरलाई अनुमति दिएको निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले अन्नपूर्णसँग बताए । एएआर कर्पोरेसनले तोकिएको समय अगाडि नै जहाज उपलब्ध गराउन सक्ने आश्वासन दिएको छ । निगमले एक हजार घण्टासम्म उडेका दुईवटा वाइडबडी एयरबस ३३०-२०० सिरिजको विमान खरिद गर्न ग्लोबल टेन्डर आह्वान गरेको थियो । तर, एएआरले सबैभन्दा कम रकममै ब्रान्ड न्यु विमान उपलब्ध गराउने प्रस्ताव पेस गरेको थियो । एएआरले आजको डलरको भाउअनुसार २२ अर्ब ६२ करोडमा दुईवटा विमान उपलब्ध गराउने प्रस्ताव गरेको कंशाकारले जानकारी दिए । ग्लोबल टेन्डरमा एएआरसहित १० वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए । छनोटमा परेको अमेरिकन एएआरसँग निगमले दुई महिनाभित्रै खरिद सम्झौता गर्ने उनले बताए । यसरी व्यवस्थापन हुनेछ अहिले निगमले २६ वटा विदेशी विमान कम्पनीसँग प्रतिस्पर्धा गरिरहेको छ । नयाँ विमान थपिएसँगै निगमको प्रतिस्पर्धात्मक क्षमता अझ बढ्ने कंशाकारको विश्वास छ । उनकाअनुसार निगमले अहिले गरिरहेको अन्तर्राष्ट्रिय उडानमा जहाजका सिट सधै फूल हुन्छ । अहिले निगमले दुईवटा न्यारोबडी एयरबस ३२०-२०० सिरिजको विमान र एउटा बोइङबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । नयाँ विमान भित्रिनेबित्तीकै मार्केटिङ भोल्युम केही बढाउन आवश्यक रहेको उनको भनाइ छ । यसका लागि निगमले अनलाइन टिकेटिङको व्यवस्था गर्नेछ । यो व्यवस्थाले विश्वभरबाट निगमको टिकट क्रेडिट कार्डमार्फत सजिलै खरिद गर्न सकिनेछ । ‘अहिले तीनवटा विमान हुँदा पनि अरु विमान कम्पनीलेभन्दा बढी यात्रु बोक्न सफल भएका छौं’, कंशाकारले भने, ‘नयाँ विमान आएपछि बजारमा निगमको हिस्सा ह्वात्तै बढ्नेछ ।’ निगकले नयाँ विमान सञ्चालनका लागि आवश्यक जनशक्ति तयार पारिसकेको छ । विमान सञ्चालन गर्न आवश्यक एक सय ४८ जना कर्मचारी नियुक्त गरिसकेको छ । साथै, २० जना क्याप्टेनमध्ये १० जना विदेशबाट नै खरिद गर्ने र अन्य क्याप्टेनको हकमा भने यहीबाट व्यवस्थापन गर्ने योजना बनाइएको छ । निगमले व्यावसायिक योजनासमेत बनाइसकेको छ । -source

0 comments

प्रतिकृया दिनुहोस